७ वैशाख २०८१ शुक्रबार
शिक्षा

फुङलिङ नगरपालिकाका विद्यालयमा साताको दुई दिन बिदा लागु नहुने

ताप्लेजुङको फुङलिङ नगरपालिकाले पालिकाभरीका विद्यालयमा आइतबारको बिदा लागु नगर्ने निर्णय गरेको छ। गत जेठ १ गतेदेखि सरकारले सार्वजनिक निकायहरुमा परीक्षणका रुपमा साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरी गत वैशाख २६ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो।

फुङलिङ नगरपालिकाका वडा नं २ का वडाध्यक्ष समेत रहेका नगर कार्यपालिकाका प्रवक्ता मोहन न्यौपानेका अनुसार नगरपालिका भित्रका विद्यालयहरुमा साविक झैं प्रत्येक शनिबार र अन्य सार्वजनिक बिदा बाहेक आइतबारको बिदा लागु हुने छैन।

नगरपालिकाले यहाँका विद्यालय आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन हुने निर्णय भएको समेत न्यौपानेले जानकारी दिए।

कार्यपालिकाको बैठले फुङलिङको १२ औं नगरसभा आउँदो असार १० गते गर्ने निर्णय समेत गरेको छ। जसअनुसार जेठ २५ गतेदेखि असार १ गतेसम्म टोल बस्तीमा गई वडास्तरीय योजनाहरु छनौट गर्नेगरी कार्यसूची तयार भएको समेत प्रवक्ता न्यौपानेले बताए।

टोल बस्तीबाट छनौट भएका योजना असार २ गते भित्र नगर कार्यपालिकामा पेश भइसक्नुपर्ने निर्णय समेत नगरपालिकाले निर्णय गरेको छ। असार २ गतेदेखि ६ गतेसम्म विषयगत समितिको बैठक बस्ने भएको छ भने नीति तथा कार्यक्रमको तयारी असार ४ देखि ६ गतेसम्म गरिने भएको छ।

बने विभिन्न समिति

नगर कार्यपालिकाको बैठकले नगर उपप्रमुख भीमादेवी ओझाको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कार्यपालिका सदस्यद्वय सोजित श्रेष्ठ र भीमकला दर्जी सदस्य रहेको स्थानीय राजश्व परार्मश समिति गठन गरेको छ।

समितिमा निजी क्षेत्र र घरेलु तथा साना उद्योगको मान्यता प्राप्त संस्थाको पालिका अध्यक्ष समेत सदस्य रहनेछन्। यस्तै नगरप्रमुख अमिर मादेनको संयोजकत्वमा नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कार्यपालिका सदस्यहरु सीता नेपाल, दिनेश खवास, मोहन न्यौपाने र मदन गुरुङ सदस्य रहेका समिति बनेको छ।

यस्तै वडा नं ११ का वडाध्यक्ष युवराज भट्टराईको संयोजकत्वमा कार्यपालिका सदस्यद्वय साङगेपाल्देन शेर्पा र कमला खत्री सदस्य रहेको विधायन समिति बनेको छ। वडा नं १ का वडाध्यक्ष रुद्रकुमार मादेनको संयोजकत्वमा कार्यपालिका सदस्य सन्तोष लिम्बू र सीता नेपाल सदस्य रहेको आर्थिक विकास समिति गठन भएको छ।

वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवार संयोजक रहेको सामाजिक विकास समितिमा मोहन न्यौपाने र दुर्गा पालुङ्वा सदस्य रहेका छन्। वडा नं ५ का वडाध्यक्ष सोजित श्रेष्ठको संयोजकत्वमा योगेन्द्र निरौला र भीमकला दर्जी सदस्य रहेको सार्वजनिक सेवा तथा क्षमता विकास समिति र वडा नं ६ का वडाध्यक्ष मदन गुरुङको संयोजकत्वमा टंक पालुङ्वा र सबिना मादेन सदस्य रहेको पूर्वाधार विकास समिति गठन भएको समेत प्रवक्ता न्यौपानेले बताए।

नगर कार्यपालिकाको बैठकले वडा नं ९ का वडाध्यक्ष लक्ष्मण गुरुङ संयोजक रहेको लेखा समितिमा कार्यपालिका सदस्यद्धय योगेन्द्र निरौला र सीता नेपाल सदस्य रहेका छन्। वडा नं २ का वडाध्यक्ष मोहन न्यौपानेको संयोजकत्वमा बनेको वन वातावरण तथा विपद् व्यवस्थापन समितिमा कार्यपालिका सदस्यहरु लक्ष्मण गुरुङ र दिनेश खवास सदस्य रहेको समेत नगरपालिकाले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App