२६ पुस २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

जग्गादाताको नामबाट विद्यालयको नामाकरण

संशोधित नामको विद्यालय उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष खड्का र उपाध्यक्ष ठकुरी। तस्बिर: महेश्वर/नागरिक

उदयपुरको रौतामाई गाउँपालिकस्थित एक सामुदायिक विद्यालयको नाम संशोधन गरी जग्गादाताको नाममा राखिएको छ। रौतामाई ८ कोप्चेस्थित ‘आधारभूत विद्यालय कोप्चे’को नाम संशोधन गरी जग्गादाता स्वर्गीय धर्मध्वज थापाको नामबाट राखिएको हो।

थापा परिवारले २५ लाख रुपैयाँ मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा निशूल्क दिएर विद्यालयको नाम संशोधन गरिएको प्रधानाध्यापक (प्रअ) बेदबहादुर खत्रीले बताए। संशोधित नाम अनुसार अव आधारभूत विद्यालयको नाम ‘स्व.धर्मध्जव थापा आधारभूत विद्यालय कोप्चे’ हुन पुगेको प्रअ खत्रीले बताए।  

शिक्षा ऐनमा व्यवस्था भए अनुसार आधारभूत विद्यालयलाई २० लाखभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार निशूल्क जग्गा दान गर्ने थापाको नाममा विद्यालयको नाम संशोधन गरिएको व्यवस्थापन समितिले जनाएको छ।  

ऐनको व्यवस्था अनुसार विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गाउँपालिकाले गरेको हो। विद्यालयको निर्णय, तोकिएको प्राविधिक मापदण्ड र स्थलगत अवस्थाको सुक्ष्म अनुगमन गर्दै संशोधन गर्न उपयुक्त देखिएको ठहर भएपछि गाउँकार्यपालिका बैठकले गरेको सिफारिस अनुसार नाम परिवर्तन गरिएको हो। विद्यालयको नाम परिवर्तन गर्न आवश्यक सबै प्रक्रिया पुरा गरेको पाएपछि कार्यपालिकाको २०७८ फागुन १० गते बसेको बैठकले विद्यालयको नाम संशोधन गरी जग्गादाताको नाममा राख्ने निर्णय गरेको हो।  

जग्गादाताका छोरा शंकर थापाले सो विद्यालय स्थपनाका लागि २०४५ सालमा थापा परिवारले १ रोपनी जग्गा उपलब्ध गराएको बताए। त्यसपछि पनि विद्यालयलाई पटकपटक थापा परिवारले आर्थिक र भौतिक सहयोग गर्दै आएको उनले बताए। विद्यालयको स्तरोन्नति गर्दै जाँदा संरचना निर्माण गर्न आवश्यक जग्गा अपुग भएपछि विद्यालयको नाम संशोधन गर्ने शर्तमा थप जग्गा निशूल्क दिएको उनले बताए। जस अनुसार स्व. बाबुको नाममा विद्यालयको नाम संशोधन गरेको थापाले बताए।  

‘सुरुमा दिएको एक रोपनीबाहेक विद्यालयले अस्थायीरुपमा उपभोग गर्दै आएको सबै जग्गा हाम्रै परिवारको नाममा थियो’ थापाले भने ‘गाउँमा बस्ने गरिव, विपन्न र अशिक्षित समुदायका बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न सबै जग्गा दान गरिएको हो।’ उनले कोप्चेक्षेत्र गरिव, विपन्न र पिछडिएको आदिबासी जनजाति तथा दलित समुदायको बसोबास भएको ठाउँ हो। त्यस्तो समुदायलाई शैक्षिक अधिकार दिलाएर अगाडि बढाउन सहयोग पुग्ने भएकाले जग्गा दान गरेको उनले बताए।  

गरिवीका कारण त्यसक्षेत्र आसपाका बालबालिका पढ्न चाहे पनि आर्थिक अभावर भौगोलिक बिकटताका काराण् वाहिर गएर पढ्न सक्ने अवस्था छैन। सुगम ठाउँमा छोराछोरीलाई राखेर पढाउन सक्ने हैसियत नभएका अभिभावकहरुका लागि गाउँमै स्कुल हुनुपर्ने ठानेर त्यो वातावरण बनाउन आफ्नो परिवारले सबै जमिन दान गरेको उनको भनाई थियो। स्वर्गीय थापाकै पहलमा २०४१ सालमा उक्त विद्यालय स्थापना भएको पनि उनले बताए।  

विव्यस अध्यक्ष रामबहादुर लायो मगरका अनुसार स्व. थापालगायतको पहलमा तत्कालीन जिल्ला शिक्षा कार्यालय उदयपुरले २०४५ फागुन २ गते प्राथमिक तहको सुरुवाती कक्षा सञ्चालनको अनुमति दिएको उक्त विद्यालयले २०६४ सालमा निम्न माध्यमिक (आधारभूत) तह सञ्चालन गर्ने अनुमति पाएको हो। हाल कक्षा ८ सम्म पठनपाठन भईरहेको उक्त विद्यालयमा १ सय ७४ जना बालबालिका अध्ययनरत रहेको मगरले बताए। विद्यालयमा स्थायी, राहत र निजी दरबन्दी गरी १० जना शिक्षक कार्यरत छन्।  

नाम परिवर्तित विद्यालयको शुक्रबार दिउँसो एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गजेन्द्र खड्का र उपाध्यक्ष कुमारी रानाज्यु ठकुरीले संयुत्तः रुपमा उद्घाटन गरे। उद्घाटनमा बोल्दै खडकाले विद्यालय स्थापनादेखि विकास र प्रबद्र्धनसम्म थापा परिवारले गरेको योगदानको कदर गर्दै विद्यालयको नाम संशोधन गरिएको बताए। शिक्षाजस्तो पवित्र काममा थापा परिवारले गरेको योगदान प्रशंनीय भएको भन्दै अध्यक्ष खड्काले विद्यालयको स्तरोन्नतिमा थप सहयोग गर्न गाउँपालिका पछि नपर्ने बताए।  

खड्काले दलित, जनजाति, पीछडिएको समुदायको बस्ती रहेको कोप्चेमा शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताए। गुणस्तरीय शिक्षाका लागि आावश्यक दरबन्दी उपलब्ध गराउने, प्राविधिक शिक्षा अन्र्तगत इमेल, इन्टरनेट जडान, तालिम तथा दुरशिक्षा कार्यक्रम लागू गर्न र विद्यालयको भौतिक पूर्वाधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनको थियो। जिर्ण छानोको मर्मत सम्भार गर्ने, विद्यालय परिसरको माटो कटिङ गर्न स्काभेटर पठाउने काम तत्काल गरिने भन्दै खड्काले आगामी स्थानीयतह  निर्वाचनमा आफु वा आफ्नो पार्टीको जनप्रतिनिधि निर्वाचित भए÷नभए पनि सहयोगमा कमि नआउने बताए।  

गाउँपालिका उपाध्यक्ष कुमारी रानाज्यु ठकुरीले गरिव जनताका छोराछोरी पढ्ने थलो भएकाले विद्यालयको दिगोपन र गुणस्तरीय शिक्षामा सहयोग गरिने बताईन्। उनले रोजगारमुखी र जीवनोपयोगी शिक्षा अहिलेको आवश्यक्ता भएको बताउँदै अव पढ्नकालागि शिक्षा मात्र नभई प्रविधिसँग घुलमिल हुनुपर्ने बताईन्। वर्तमान समय भनेको दिमाग विक्री गर्ने युग भएकाले शिक्षाका कार्यक्रम ल्याउन गाउँपालिका प्रतिवद्ध रहेको ठकुरीको भनाई थियो।  

जग्गादाताका अर्का छोरा इन्द्रबहादुर थापाले पढ्नकै लागि ४ घण्टा लामो पैदल यात्रा गरेर मुर्कुची पुग्नुपर्ने बाध्यता टार्न जग्गा दान गरेको बताए। विद्यालयलाई जग्गा दानसँगै त्यसको दिगोपनका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। थापा परिवारले विद्यालय परिसरमा स्वर्गीय थापाको शालिकसमेत निर्माण गरेको छ। कार्यक्रममा विद्यालय विकासमा योगदान दिने थापा परिवारलगायत अन्य शिक्षाप्रेमीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

प्रकाशित: २७ चैत्र २०७८ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App