८ वैशाख २०८१ शनिबार
शिक्षा

अब एसइई कम उमेरकाले पनि दिन पाइने

यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।

साना उमेरका विद्यार्थीमा पनि क्षमता छ भने उसले कक्षा १० मा एसइई दिन पाउने व्यवस्था मन्त्रालयले गरेको प्रवक्ता दिपक शर्माले जनाए। उमेरकै कारण कुनै विद्यार्थीको एसइई परीक्षा रोकिने छैन।

यसअघि कक्षा १० मा एसएलसी हुने व्यवस्था थियो। ५ वर्षको विद्यार्थी कक्षा १ मा भर्ना हुने सरकारी व्यवस्थाका कारण १४ वर्ष उमेर पुगेकाले मात्र एसएलसी दिन पाउने व्यवस्था विगतमा शिक्षा ऐनमा  थियो तर हाल कक्षा १२ मा एसएलसी अर्थात् स्कुल लिभिङको व्यवस्था भयो। तर शिक्षा ऐनमा २०२८ कै व्यवस्था कायम रहेकाले धेरै विद्यार्थी समस्यामा परेका थिए।

यो व्यवस्थाले धेरै विद्यार्थीलाई समस्या पारेको भन्दै मन्त्रालयले ऐनमा एसइईको उमेर हदको व्यवस्था हटाएको प्रवक्ता शर्मा  बताउँछन्। उनका अनुसार मन्त्रालयले  शिक्षा ऐनको दफा २ को खण्ड (घ) र (छ), शिक्षा नियमावली २०४९ को नियम ७८ को उपनियम ८२ मा संंशोधन गरी उमेरको थ्रेसहोल्ड हटाएको हो।

‘विगतमा कक्षा १० मा एसएलसी हुन्थ्यो र कक्षा १० मा १४ वर्ष पुगेकाले मात्र एसएलसी दिन पाउने शिक्षा ऐनमै व्यवस्था थियो,’ प्रवक्ता शर्माले नागरिकसँग भने, ‘तर अबको एसएलसी कक्षा १२ मा हुने भयो। त्यही भएर मन्त्रालयले ऐन संशोधन गरी उमेरको थ्रेसहोल्ड हटाएको हो।’ उनले थपे, ‘अब नयाँ मापदण्ड बनाएर सोही अनुसारको प्रक्रिया कक्षा १२ मा  अघि बढ्ने हो तर आगामी एसइईमा उमेरको हदबन्दी लाग्दैन।’

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईमा १४ वर्षको उमेर हदका कारण धेरै विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुनुपर्ने, परीक्षा दिए पनि नतीजा विथहोल्डमा राखिने र पछि उमेर बढाएर ल्याउनुपर्ने अवस्थाले चुनौती थपिदिएको कारण आगामी एसइईमा उमेरको थ्रेस होल्ड हटाइएको जनाए।

‘शिक्षा ऐनमै उमेरको हदबन्दी हटाएपछि अब अब्बल विद्यार्थी सानै उमेरमा कक्षा फड्को मारेर माथिलो कक्षामा जान सक्ने भए,’ अध्यक्ष शर्माले भने, ‘अचेल साना उमेरै विद्यार्थीहरू विद्यालय जान थालेका छन्। १२ , १३ वर्षको उमेरमै पनि कक्षा १० पुग्छन्। यति मात्र होइन अब्बल विद्यार्थी अब जुनसुकै उमेरमा माथिल्लो कक्षा चढ्न सक्ने सकारात्मक वातावरण बनेको छ।’ उनले थपे,‘अन्तर्राष्ट्रिय स्तरमा पनि विद्यालय तहमा शिक्षामा कुनै पनि तहमा उमेरले छेक्ने व्यवस्था नभएकाले नेपालमा पनि हटाइएको हो।’

अध्यक्ष शर्माका अनुसार विगतमा उमेर नपुगेकै कारण परीक्षार्थीको नतिजा विथहोल्डमा राख्दा अभिभावकहरू गलत प्रक्रियाबाट भए पनि उमेर बढाएको प्रमाणपत्र ल्याउनुपर्ने बाध्यता हटेको छ।

‘विद्यार्थीले  आफ्नो उमेरले नभएर क्षमताले प्राप्त गरेको ज्ञान र सीपको प्रमाणपत्र सहज रूपमा पाउन सक्ने भए,’ अध्यक्ष शर्माले अनुभव सुनाए, ‘सरकारले कक्षा १ मा भर्ना हुने ५ वर्ष उमेर तोकेर कक्षा १० मा पुग्ने उमेर उबेला १४ वर्ष तोकेको थियो तर हाल यो अवस्था छैन। सानै उमेरमा अभिभावकले नानी स्कुलमा राख्ने चलन बढेकाले शिक्षा ऐन संशोधन गर्नुपरेको हो।’

अध्यक्ष शर्माका अनुसार वैशाख ९ गतेदेखि सुरु हुने एसइईमा कुल चार लाख ९४ हजार ६ सय ८१ ले परीक्षा दिंदै छन्। जसका लागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि प्रश्नपत्र छाप्ने कार्य सुरु भइसकेको उनले जनाए। ‘यसपटक परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सातै प्रदेश परीक्षा व्यवस्थापन समितिले गर्ने छ,’ अध्यक्ष शर्माले भने,‘नतीजा प्रकाशन गर्ने काम मात्र बोर्डले गर्ने छ।’

प्रकाशित: १४ चैत्र २०७८ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App