४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

एसइईको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ।

परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार उक्त प्रस्ताव शिक्षा मन्त्रालयमा लिएका हुन्। उनले प्रस्तावमाथि मन्त्रालयमा छलफल भइरहेको जनाए।

संविधानलेनै विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा राख्ने व्यवस्था गरेकाले अब कक्षा १० को अन्तिम परीक्षा प्रदेश सरकारले गर्नुपर्ने चौतर्फी दबाब बढ्दै आएको छ। अर्को तर्फ शिक्षा ऐनमा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार बोर्डलाईनै दिइएको हुँदा संशोधन नहुँदासम्म बाधा आएको बताइएको छ। अध्यक्ष शर्माका अनुसार उक्त बाधा फुकाउन बिहीबार बोर्डले प्रदेश सचिवको अध्यक्षतामा परीक्षा सञ्चलान तथा व्यवस्थापनको जिम्मेवारीसहित समिति बनाएर अघि बढ्ने प्रस्ताव मन्त्रालयमा लगेको हो।  

साथै मन्त्रालयमा कक्षा १२ को परीक्षा जेठमा सञ्चालन तथा व्यवस्थापनबारे समेत छलफल भएको उनले बताए। कक्षा १२ को परीक्षाको सवालमा स्थानीय चुनावको अवस्थाअनुसार व्यवस्थापन गर्ने मन्त्रालयमा छलफल भएको उनले जनाए। ‘संविधानले विद्यालय शिक्षा स्थानीय तहलाई दियो। सोहीअनुसार विद्यालय संरचना तयार भएको छ।

जसअनुसार १२ कक्षासम्म विद्यालय शिक्षा संरचना बन्यो,’ बोर्डका अध्यक्ष डा. शर्माले भने, ‘कक्षा ८ को स्थानीय सरकारले, कक्षा १० को प्रदेश सरकारले र कक्षा १२ को अन्तिम परीक्षा बोर्डले गर्नुपर्ने दस्तावेजमा उल्लेख छ।’ तर शिक्षा ऐनमा भने कक्षा १० को अन्तिम परीक्षा (एसइई) बोर्डले नै गर्ने व्यवस्था कायम भएकाले समस्या आएको उनको भनाइ छ।

सो समस्या फुकाउन बोर्डले सातै प्रदेशका सचिवको अध्यक्षतामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिनै बनाएर अघि बढ्न शिक्षा मन्त्री समक्ष पेश गरेको प्रस्तावमाथि छलफल भएको छ।

अध्यक्ष शर्माका अनुसार अगामी साता बोर्डले वैशाखमा एसइई सञ्चालन गर्न परीक्षाको तालिका सार्वजनिक गर्दै छ। ‘परीक्षा तालिका सार्वजनिक हुनुअघि मन्त्रीज्यूले प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भन्नुभएको छ,’ अध्यक्ष डा. शर्माले भने, ‘अब विस्तारै एसइई प्रदेशमै दिने बोर्डको तयारी छ।’ कोरोना महामारीका कारण २ वर्षदेखि एसइईको सञ्चालन तथा व्यवस्थापन स्वयं विद्यालयलेनै गर्दै आएकोमा यस पटकको परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरेर राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको उनको भनाइ छ।

बोर्डका अध्यक्ष डा. शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकाराको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाए। संसद्को स्वास्थ्य तथा शिक्षा समितिलेसमेत दुई पटक एसइई खारेजीको निर्देशन दिइसकेको छ।

‘स्वास्थ्य तथा शिक्षा समितिले दिएको निर्देशन र संविधानको व्यवस्थासमेत कार्यान्वयन गर्न यस पटक बोर्डले परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिने भएको हो,’ अध्यक्ष डा. शर्माले भने ‘बोर्डको प्रदेश कार्यालय मार्फत प्रदेश सरकारसँग सहकार्य गरेर परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले गर्छ।’ सबै प्रदेशमा परीक्षाको स्तर कायम गर्न प्रश्नपत्र बनाउने र छपाईको काम बोर्डले नै गर्ने बताइएको छ। यसका लागि सबै प्रदेशका विज्ञसँग छलफल भइरहेको अध्यक्ष डा. शर्माले बताए।

प्रकाशित: २१ माघ २०७८ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App