१५ चैत्र २०८० बिहीबार
शिक्षा

सानिमा बैंकले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने

सानिमा बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले फुङलिङ नगरपालिका क्षेत्रभित्रका जेहेन्दार र विपन्न १–१ जना छात्र/छात्रालाई जनही वार्षिक ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ। आवेदन दिएका ६ मध्ये आवेदनको प्रकृयाभित्र परेका ४ जनाको निवेदनउपर छात्रवृत्ति सिफारिस समितिको निर्णय बमोजिम छात्रवृत्ति प्राप्त गर्ने २ जना छनौट गरिएको सानिमा बैंकको फुङ्लिङस्थित शाखा प्रवन्धक बिनोद ओझाले जानकारी दिए।

उनका अनुसार फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवाका बिसु कालिकोटे(३.४० जिपीए) र फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुकी सीता निरौला(३.१५ जिपीए) सानिमा बैंकको छात्रवृत्ति प्राप्तकर्ताको रुपमा छनौट भएका छन्। सानिमा बैंकले काठमाडौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट शाखा रहेको स्थानको स्थायी बासिन्दा, जेहेन्दार, गरिब तथा विपन्न वर्ग, शाखा रहेको सामुदायिक विद्यालयमा निरन्तर ३ वर्षदेखि अध्ययन गरी पहिलो प्रयासमै एसईई उतीर्ण भएको र शाखा रहेको स्थानकै शैक्षिक संस्थामा अध्ययन गर्ने वा गरिरहेका २–२ जना विद्यार्थीलाई विगत ९ वर्षदेखि यस्तो छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।

सोहि अनुसार फुङ्लिङ शाखाबाट पनि यस्तो छात्रवृत्ति प्रदान भएको ओझाले जानकारी दिए। छात्रवृत्ति शैक्षिक संस्थामा भर्ना भएको मितिदेखि लागु हुने छ। गत भदौ ३१ गतेसम्म आवेदन म्याद थियो। आवेदकले १ प्रति पासपोर्ट साइजको फोटो, एसईई उत्तीर्ण भएको मार्कसिट र चारित्रिक प्रमाणपत्र, बाबु र आमाको नागरिकता र विगत ३ वर्षदेखि शाखा रहेको स्थान भित्र रहेका सरकारी/सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको प्रमाणित कागजात पेश गर्नुपर्ने थियो।

सानिमा बैंकका शाखा प्रवन्धक ओझाका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा कम्तिमा ‘सी’ ग्रेडमा उतीर्ण हुनु अनिवार्य छ। सो भन्दा तल्लो ग्रेड ल्याएको वा पढाइलाई निरन्तरता दिन नसकेको वा शाखा रहेको स्थानका शैक्षिक संस्थामा नपढेको अवस्थामा छात्रवृत्ति सम्बन्धी करार रद्ध हुने बैंकले जनाएको छ। छात्रवृत्ति प्राप्तकर्तालाई बैंकले घरायसी खर्च(पकेट मनि)वापत मासिक २ हजारका दरले २४ हजार र शिक्षण संस्थामा लाग्ने पढाइ शुल्क, पाठ्यसामग्री र स्टेशनसरी वापत थप २६ हजार गरी वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

आवेदनका सर्तहरु पूरा भएको अवस्थामा अहिले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा १२ को अध्ययनका लागि समेत बैंकबाट थप ५० हजार रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ। सानिमा बैंकको फुङलिङ शाखाले शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई, फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेल, शाखा रहेको स्थान फुङ्लिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा, पाथीभरा बहुमुखी क्याम्पसका पूर्व सहप्राध्यापक डिल्लीरमण बराल र पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सदस्य रहेको ५ सदस्यीय छात्रवृत्ति सिफारिस समिति गठन गरेको थियो।

आवेदकहरुमध्येबाट एसईईमा प्राप्त नतिजा, आर्थिक तथा पारिवारिक अवस्था र सानिमा बैंकको छात्रवृत्ति सम्बन्धीका अन्य सर्तहरुका आधारमा निर्णयमा पुगेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भट्टराईले जानकारी दिए।

प्रकाशित: ८ माघ २०७८ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App