१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

महेन्द्र बहुमुखी क्याम्पस मोही जग्गा प्रकरणः क्याम्पसको जग्गा जोगाउन मौन जुलुस

महेन्द्र क्याम्पस जग्गा बचाउ समितिले बुधबार आयोजना गरेको मौन जुलुस। नगर प्रमुख तिलक राईलाई ज्ञापन पत्र बुझाउँदै बचाउ समितिका संयोजक। तस्बिर: रोहित राई

महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा भूमाफियालाई हड्प्न नदिन धरानमा मौन जुलुस निकालिएको छ।

नागरिक अगुवाहरुले गठन गरेको क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा बुधबार धरानमा मौन जुलुस निकालिएको हो। जुलुसमा नगर प्रमुख तिलक राईसहित विभिन्न राजनीतिक दलका नेताहरु, विद्यार्थी नेताहरु, क्याम्पसका शिक्षक कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। प्ले कार्ड बोकेर छाताचोकदेखि शुरु भएको मौन जुलुस भानुचोकमा पुगेर टुंगिएको थियो।  

क्याम्पसले तत्कालिन समयमा मोहीको चित्त बुझाएर नै जग्गा खरीद गरेपनि लगतकट्टा गरेर जग्गाधनी पुर्जाबाट नाम नहटाउँदा अहिले मोहीको छोरालाई अघि सारेर भूमाफियाहरुले करोडौं पर्ने जग्गा हत्याउने दाउमा छन्। त्यसविरुद्ध धरानका नागरिक अगुवा, राजनीतिक दलहरु तथा बुद्धिजिविहरुले पूर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीको संयोजकत्वमा बचाउ समिति गठन गरेका छन्।  

समितिले विभिन्न सडक संघर्ष गर्ने तयारी गरेपनि कोरोना संक्रमण बढेसँगै अन्य कार्यक्रमहरुलाई थाती राखेर बुधबार सांकेतिकरुपमा मौन जुलुस निकालेको संयोजक कार्कीले बताए। ‘जानेर वा नजानेर जो जो क्यामपसको जग्गा हडप्न लागेका छन्, तिनीहरुलाई अब त्यस्तो नराम्रो कार्यमा नलाग है भनेर खबरदारी गर्न सांकेतिकरुपमा मौन जुलुस निकालेका हौं,’संयोजक कार्कीले भने,‘अन्य संघर्षका कार्यक्रमहरु सहज परिस्थिति बनेपछि गछौं।’

बचाउ समितिले बुधबार नै नगर प्रमुख तिलक राईलाई ज्ञापन पत्र बुझाउँदै क्याम्पसको जग्गा संरक्षणमा सहयोग पुर्‍याउन आग्रह गरेको छ। संयोजक कार्कीले क्याम्पसको जग्गा मोहीको नाममा हत्याउन खेल भइरहेकोले त्यसबाट जोगाउन उपमहानगरपालिकाले बिशेष भूमिका खेल्न आग्रह गरेका थिए। उनले प्रदेशका मुख्यमन्त्री, प्रदेश सभामुखलगायत अन्य निकायहरुलाई पनि ज्ञापन पत्र बुझाउने जानकारी दिएका छन्।  

ज्ञापन पत्र बुझ्दै मेयर राईले आफू क्याम्पसको जग्गा प्रकरणबारे जानकार भएको उल्लेख गर्दै मोही पक्ष र क्याम्पससँग समन्वय गरी सहजीकरण गर्न पहल गरेको पनि बताए। मोही पक्षलाई विश्वासमा लिएर परिवारका सदस्यलाई जागिर दिलाउनेसम्मको व्यवस्थापन गर्न पहल गरेपनि स्वीकार नगरेपछि सफल नभएको पनि मेयर राईले जानकारी दिए। ‘उपमहानगरले एक जनालाई जागिर दिदा पो हुन्छ कि भनेर पनि समन्वय गरेका थियौ, अझै पनि तयार छौ। कोही परिवारलाई कसैलाई कही राख्ने कुरा क्याम्पस प्रशासनले पनि सोचेको छ,’मेयर राईले भने,‘कुनै निकायमा लेखेर दिनुपर्यो, उपस्थित भएर बोल्न पर्यो भने हामी तयार छौ। अभियानलाई आर्थिक सहयोग गर्न पनि उपमहानगर तयार छ।’

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो। उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए। मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले बताउदै आएका छन्। स्रेस्ताबाट मोहीको लगतकट्टा नहुँदा अहिले भूमाफियाले मोहीको छोरालाई अघि सारेर जग्गा कब्जा गर्न लागेको हो। मोहीले जग्गाको ५० प्रतिशत जग्गा पाउने कानुनी प्रावधान छ। यो हिसाबले क्याम्पसबाट मोहीले पाउने जग्गाको मूल्य कम्तीमा २० करोडको हुन्छ।  

क्याम्पसको उक्त जग्गामा मोही पक्षको भोगचलन छैन। त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ। मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ। घिमिरे दम्पत्तिको निधन भएको लामो समयपछि छोरा यज्ञबहादुरले २०७५ मा नाता प्रमाणित गरेर  मोही हक आफ्नो नाममा नामसारी गर्न भूमिसुधार कार्यालयमा निवेदन दिएपछि उक्त कार्यालयले मोही हक नामसारी गर्ने फैसला गरेको थियो। त्यसविरुद्ध क्याम्पस प्रशासनले पुष १४ गते उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ। मुद्दाको पेशी माघ १९ गतेलाई तोकिएको छ।

प्रकाशित: ५ माघ २०७८ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App