१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

मेरिङदेन साक्षर गाउँपालिका घोषित

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ। जिल्ला शिक्षा समिति प्रमुख एवम् जिल्ला समन्वय समिति प्रमुख प्रमुख घनेन्द्र मादेनको उपस्थितिमा पालिका अध्यक्ष गणेशबहादुर लिम्बूले साक्षर गाउँपालिका घोषणा गरेका हुन्।

उनले साक्षर पालिका घोषणासँगै पालिकाको समग्र विकासको सूचकमा परिवर्तन आउने बताए। स्थानीय तहले आफ्नो पालिकाभित्र बसोबास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका घोषणा गर्न सक्ने व्यवस्था रहेको छ। सोही अनुसार पालिकाले ९५.३९ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका घोषणा गरेको गाउँपालिकाका शिक्षा अधिकृत भीमप्रसाद पौडेल जानकारी दिए।

पौडेलका अनुसार गाउँपालिका भरी १५ वर्ष देखि ६० बर्ष उमेर समूहका ८ हजार ७ सय ९६ जनसंख्यामध्ये ८ हजार ३ सय ९१ जना साक्षर भइ अहिले ४ सय ५ जनामात्र निरक्षर रहेका छन्।

उनले निरक्षरताको प्रतिशत ४.६१ मात्र रहेको जानकारी दिए। १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ४ हजार १ सय ९० महिलामध्ये ३ हजार ८ सय ७६ जना अर्थात् ९२.९९ प्रतिशतमात्र साक्षर भएका छन्। यस्तै यो समूहका ४ हजार ६ सय ६ पुरुषमध्ये ४ हजार ५ सय २४ अर्थात् ९८.२२ प्रतिशत साक्षर भएको गाउँपालिकाले जनाएको छ। पुरुषको तुलनामा महिलाको संख्या केही कममात्र साक्षर भएको पाइएको छ।

पालिकाले गत साउन सम्ममा संकलन गरेको तथ्याङ्कमा १५ देखि ६० वर्ष उमेर समूहका ५ सय ८० महिला र २ सय ४४ पुरुष गरी कूल ८ सय २४ जना निरक्षर रहेका थिए। सो बेला निरक्षरताको प्रतिशत ९.३७ प्रतिशत रहेको थियो। सो बेला यो समूहका ९०.६३ प्रतिशत मात्र साक्षर देखिएका थिए। पालिकाले विभिन्न प्रयत्नमार्फत् साउनबाट पुससम्म सञ्चालन गरेको साक्षर अभियानबाट निरक्षरताको प्रतिशत ४.६१ मा झारेको छ।

निरक्षर रहेकाहरुलाई पनि वर्ष दिनभित्रै साक्षर बनाउने गरी गाउँपालिकाले योजना तय गरेको समेत शिक्षा अधिकृत पौडेलले जानकारी दिए। पालिकाअन्र्तगत ३६ वटा सामुदायिक विद्यालय रहेका छन्।

प्रकाशित: २८ पुस २०७८ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App