५ वैशाख २०८१ बुधबार
शिक्षा

३४ वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय

सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित छ। अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका–९ मधवा गाउँमा अवस्थित श्री हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ।

नेपाल–भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीछेउमै अवस्थित सो विद्यालय अहिले बाल कक्षादेखि ५ सम्म एउटै शिक्षकले धानिरहेका छन्। आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैं कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई सेवा दिँदै आएको प्रधानाध्यापक एवं एक्लो शिक्षक रामयाद राउतले बताए।

२०१० सालमा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन। भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरन्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं प्रअ राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुःखेसो पोखे।

त्यस विद्यालयको बाल कक्षामा २०, कक्षा १ मा ६१, कक्षा २ मा ७४, कक्षा ३ मा ५३, कक्षा ४ मा ५५ र कक्षा ५ मा ६९ गरी जम्मा ३३३ छात्रछात्रा त्यस विद्यालयमा अध्ययनरत छन्। विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् भने सोही कोठामा प्रअ राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहेका छन्। विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठाबाहिर बनाइएको चिसो बरन्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको प्रअ राउतले बताए।  

करिब पाँच कट्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर रहेको र शौचालय, खानेपानीलगायत सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय वयोवृद्ध बुधवा सदाले बताए।

प्रकाशित: १८ पुस २०७८ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App