१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

भूमिसुधारको निर्णयविरुद्ध पुनरावेदनको तयारीमा महेन्द्र क्याम्पस

मोहीको मृत्यु भएको २२ वर्षपछि महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा छोराको नाममा मोही हक नामसारी गरिदिने भूमिसुधार कार्यालय सुनसरीको निर्णयविरुद्ध क्याम्पस प्रशासनले पुनरावेदन गर्ने भएको छ।

क्याम्पसले हदम्यादभित्रै उच्च अदालत विराटनगरमा भूमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी भइरहेको जनाएको छ। क्याम्पसले शुक्रबार मोही जग्गा प्रकरणमा सार्वजनिक बहस कार्यक्रम गर्दे वरिष्ठ अधिवक्ता हरिहर दाहालले पुनरावेदनको निवेदनको मस्यौदा तयार गरिसकेको र सरोकारवालाहरुसँग राय, सुझाव लिएर यसैसाता अदालतमा दर्ता गर्ने जानकारी दिएको छ। क्याम्पस प्रमुख दामोदर भण्डारीले भने, ‘पुनरावेदन कहिले गर्छ भन्ने सबै सरोकारवालाहरुको चासो छ, हदम्यादभित्रै दर्ता गर्छौं। मस्यौदा तयार भइसकेको छ, कुनै तथ्यहरु नछुटोस् भनेर आवश्यक परामर्श, सुझाव लिइरहेका छौं, बुधबारभित्रै अदालतमा दर्ता गर्छौं।’

प्रमुख भण्डारीका अनुसार बिहीबार मस्यौदाबारे धरानका राजनीतिक दलका प्रतिनिधिहरु र कानुन व्यवसायीहरुसँग पनि छलफल भएको थियो। शुक्रबार पुनः राय सुझाव लिनको लागि सार्वजनिक बहस कार्यक्रम गरिएको उनले बताए। ‘यो ड्राफ्ट विश्वविद्यालयको कानुनी सल्लाहकारले पनि हेरेर राय सुझाव दिनुहुन्छ, र यो अपिल ढिलोमा आउने बुधबार दर्ता हुन्छ,’ उनले भने, ‘दर्ताको दिन सबैको सक्रिय सहभागिता होस् भन्ने अपेक्षा गरेका छौं।’

क्याम्पस व्यवस्थापन समिति सदस्य गंगा चौलागाईले क्याम्पसको टोली विश्वविद्यालयमा गएर आवश्यक पर्दा छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरिएको जानकारी दिए। उनका अनुसार कार्य समितिका सदस्यहरुको पनि मिलोमतो भएको हो कि भन्ने आशंका जनमानसमा भएकोले सत्यतथ्य बाहिर ल्याउन छानबिन गर्न विश्वविद्यालयलाई आग्रह गरिएको हो। ‘कतै मिलेमतो त छैन भन्ने आरोप पनि लागेको छ, सदस्यबाट गल्ती कमजोरी भएको छ भने सजाय भागिदार हुनुपर्छ भन्ने माग गरेका छौं, त्यसको लागि छानबिन समिति बनोस् भन्यौ, विश्वविद्यालयले पनि समिति बनाउने आवश्वासन पाएका छौं,’ उनले भने।

२०३४ सालमा क्याम्पसको नाममा जग्गा खरिद हुँदा तत्कालिन जग्गाधनी रहेका श्याम गोविन्द श्रेष्ठले त्यस बेला मोहीलाई खुसी पारेर नै खरिदबिक्री भएको जानकारी दिए। क्याम्पस, तत्कालिन समयका समाजसेवीहरु बसेर मोही परिवारलाई खुसी बनाएर जग्गा किनबेच भएको उनले बताए। ‘मोही सबैलाई खुसी पारेर नै क्याम्पसलाई जग्गा किनबेच भएको हो, मोहीहरु पनि आफ्नो घर भत्काएर अन्यत्र गएर बसेका हुन्, अहिले यतिबेला भूमाफियाको कारण झञ्झट भयो,’ उनले भने, ‘सुटुक्क गरिएको थिएन, सामाजिक व्यक्तिहरु राखेर नै भएको थियो। मोहीहरुलाई मर्का परेको भए त्यतिबेलै भन्थ्यो, अहिले एक्कासी विवाद निस्कियो।’

सार्वजनिक बहसमा सहभागी समाजसेवी, राजनीतिक दलका नेताहरु, विद्यार्थी नेताहरु, कानुन व्यवसायी तथा जनप्रतिनिधि सबैले क्याम्पसको जग्गा जोगाउन सामाजिक र कानुनी दुवै पहल गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरुले हदम्यादभित्रै पुनरावेदन गर्नुपर्ने र भूमाफियाहरुको चलखेलविरुद्ध पनि सम्पूर्ण धरानबासीहरुले निरन्तर खबरदारी गर्नआवश्यक रहेकोमा पनि जोडदिएका थिए।

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो। उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे छन्। मोहीलाई चित्त बुझाएर नै जग्गा किनबेच भएपनि स्रेस्ताबाट मोहीको लगतकट्टा नहुँदा अहिले भुमाफियाको चलखेलले समस्या उब्जिएको हो। करोडौंको जग्गा हत्याउन भूमाफियाहरु सक्रिय भएका छन्। क्याम्पसको उक्त जग्गामा मोही पक्षको भोगचलन छैन। त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ।

मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ। घिमिरे दम्पत्तिको निधन भएको लामो समयपछि २०७५ सालमा छोरा यज्ञबहादुरले मोही हक आफ्नो नाममा नामसारी गर्न भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए।

उक्त निवेदनमा अर्धन्यायिक निकाय भुमिसुधार कार्यालय सुनसरीले गत असोज २५ गते हक नामसारी गरिदिने निर्णय गरेपछि सर्वत्र विरोध भइरहेको छ।

प्रकाशित: ९ पुस २०७८ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App