विद्यालयमा सामान्यतया शिक्षकहरू पढाउँछन् र विद्यार्थी पढ्छन्। वर्षमा एकचोटी परीक्षा हुन्छ, विद्यार्थीको कक्षा फेरिन्छ। कहिलेकाहीं खेलकुद र हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिन्छन्। प्रायः देशभरका सामुदायिक विद्यालयमा हुने साझा क्रियाकलाप हुन् यी।
तर, सूर्याेदय नगरपालिकास्थित ऐतिहासिक महत्वको करफोक विद्या मन्दिरलाई चाहिँ यी गतिविधिमा मात्र सीमित नराखी देशकै नमुना शैक्षिक केन्द्र बनाउने प्रयास थालिएको छ। भौतिक र शैक्षिक पूर्वाधारमा अब्बल बनाउँदै करफोकलाई देशभरमै शैक्षिक गतिविधिको उत्कृष्ट नमुना बनाउन पहिलो चरणको काम सुरु गरिएको हो।
सूर्याेदय नगरपालिकाले पाँचवर्षे कार्ययोजनासहित पहिलो वर्ष भौतिक संरचना निर्माण थालेको छ। करफोकलाई विद्यालयमा मात्र सीमित नराखी शैक्षिकथलो बनाउन हरेक वर्ष कम्तीमा ३ देखि ५ करोड रुपैयाँ खर्चे गरिने नगरले जनाएको छ। यो वर्ष भौतिक संरचना निर्माणका लागि ५ करोड रुपैयाँ खर्च हुँदैछ।
नगरका अनुसार करफोकलाई पढाइ–लेखाइ त छँदैछ, शैक्षिक प्रशिक्षण, तालिम, गोष्ठी, सेमिनार, पुस्तकालय, आवासगृह, छात्राबासलगायत सबैखाले सुविधा र सेवायुक्त बनाउन लागिएको हो। संघीय सरकारसमेतको अनुदानमा नगरपालिकाले अहिले भौतिक संरचनाको काम अघि बढाएको छ।
विद्यालयलाई विज्ञान र प्रविधियुक्त शैक्षिक केन्द्र बनाउने उद्देश्य रहेको सूर्याेदय नगरका मेयर रणबहादुर राईले बताए। ‘विद्यालय पढाउने, लेखाउने ठाउँमात्र होइन, सम्पूर्ण सिकाइको थलो हो भन्ने नमुना करफोकमा देखाउने प्रयासमा छौं,’ उनले भने, ‘सीमित लगानीले नपुगे कतैबाट जुटाएर भएपनि करफोकलाई देशको नमुना सिकाइ केन्द्र बनाउने योजना छ।’
भौतिक पूर्वाधारअन्तर्गत शिक्षक, विद्यार्थी, पाहुनालगायतका लागि आवास भवन निर्माण हुनेछन्। विभिन्न कार्यक्रम सञ्चालनका लागि सुविधा र प्रविधियुक्त कोठा बन्नेछन्। कक्षाकोठाहरू आधुनिक सिकाइका सम्पूर्ण प्रविधिले युक्त र सबै विद्यार्थीको सहज पहुँचमा हुनेगरी निर्माण गरिने छन्। अन्य आवश्यक शैक्षिक सामग्री, विज्ञान प्रयोगशाखा, पुस्तकालय, खेल मैदानसहित खेल पूर्वाधार, स्वास्थ्य सेवाजस्ता सबैखाले सुविधा यहाँ तयार गर्ने नगरको योजना छ। आउटडोर र इन्डोर खेलसहितको सुविधासमेत विद्यालयमै हुनेछ।
‘राष्ट्रियस्तरमा हुने शैक्षिक सेमिनार, गोष्ठी, छलफल, बैठक, साहित्यसँग सम्बन्धित हरेक कार्यक्रमसमेत यतै केन्द्रित हुनेछन् भन्ने आशा लिएका छौं,’ मेयर राईले भने, ‘तराईबाट नजिक, मेची राजमार्गसँगै जोडिएको र झापा तथा इलामका विमानस्थलसमेत छोटो दूरीमा पर्ने भएकाले राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम यहाँ सञ्चालन गर्न सम्भव छ।’ हावापानीका हिसाबले पनि प्रायः ठन्डा भइरहने करफोक वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले पनि सजाइएको जस्तो देखिन्छ।
विद्यालयमा पूर्वविद्यार्थी मञ्च र विद्यालय विद्यार्थी परिषद् गठन गरिने छ। विशिष्ट व्यक्ति वा अनुसन्धानकर्ताका लागि खोज–अनुसन्धानको वातावरणसहितको सुविधायुक्त कोठा र आवाससमेत निर्माण गरिने छ। विद्यालयमै सङ्ग्रहालय स्थापना गरिने छ। र, कार्यक्रमहरूका लागि आधुनिक सुविधायुक्त मञ्चसमेत निर्माण गरिने छ। करफोक ऐतिहासिक शैक्षिक केन्द्र भएकाले राष्ट्रियस्तरमा समेत परिचित छ। धुपी–सल्लाको सौन्दर्यभित्र रहेको करफोक विद्या मन्दिरको सुन्दर खेलमैदानमा हरेक वर्ष राष्ट्रियस्तरकै नेपाल कप फुुटबल प्रतियोगितासमेत आयोजना गरिन्छ।
विद्यालयका नाममा ५ सय रोपनी जमिन छ। तराईमा समेत विद्यालयको २० विघाभन्दा बढी छ। अहिले विद्यार्थीका लागि कक्षाकोठासम्म चाहिँ अभाव छैन। जग्गा र केही पूर्वाधार भएर पनि त्यसको व्यवस्थापन अभाव रहेकाले नगरपालिका करफोकलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न लागिपरेको छ। ‘शैक्षिक केन्द्रका लागि अत्यन्त सम्भावना बोकेको करफोकको सपना पूरा गर्न नगरपालिकाको मात्रै प्रयास चाहिँ सम्भव छैन,’ मेयर राई भन्छन्, ‘स्थानीय, प्रदेश र संघीय सरकारलगायत सबैले हातेमालो गर्नसके देशमै नमुना बन्न समय लाग्ने छैन।’
इतिहास केलाउँदा पनि करफोक देशमै महत्वपूर्ण स्थानका रूपमा गनिन्छ। मेची राजमार्गको आइतबारे बजारनजिकै २००७ सालमा करफोक मिडिल स्कुल खुलेको थियो। त्यतिबेला जिल्लामै विद्यालयहरू नगन्य थिए। सुगौली सन्धिलगत्तै आइतबारेमा जिल्ला सदरमुकाम (खलंगा) बसेको थियो। १८८५ सालमा त्यहाँबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको इतिहास भेटिन्छ।
त्यतिबेलै करफोकमा विद्यालय खुलेपनि पढ्ने–पढाउने कम थिए। नजिकै रहेको भारतका दार्जिलिङ, सिक्किम, आसामबाट शिक्षक ल्याएको बुढापाका सम्झन्छन्। स्कुल थाम्न शिक्षकहरू विद्यार्थी ‘माग्न’ घर–घर जान्थे। स्थानीय अगुवा दीपक अधिकारी भन्छन्, ‘करफोकमा पहिला विद्यालय खुल्दा थमाउनै मुस्किल रहेछ, अहिले आएर विद्यालयले इतिहास रचेको छ।’
स्वामी स्वमेश्वारनन्दको आश्रम रहेको करफोकमा शिक्षाको बीउ रोप्न पनि उनकै योगदान छ। १९७०÷०७२ सालतिर यहाँ बसेर स्वोमेश्वारनन्दले करफोक मात्र नभई फिक्कल, पशुपतिनगर, भारतको दार्जिलिङ र सिक्किमतिर पुगेर समाजसेवा गरेको अधिकारीले बताए। शिक्षाको विकास गर्न चाहिँ उनले करफोक रोजेका थिए। करफोक विद्यालयका रूपमा मात्रै महत्वपूर्ण रहेन। देशका राजा–महाराजादेखि विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसम्मले करफोकमा पाइला टेकेका छन्।
विद्यालयका पूर्वअध्यक्षसमेत रहेका अधिकारीका अनुसार २००७ सालदेखि नै भाषाशास्त्री महानन्द सापकोटा र नरेन्द्रनाथ बाँस्तोलालगायतले करफोकबाटै सुरु गरेको नेपाली भाषा आन्दोलनले देश थर्कायो। उनीहरू नेपाली भाषा प्रचारक संघ गठन गरेर खस् हुँदै गोर्खामा आइपुगेको भाषालाई नेपालीमा रुपान्तरण गर्न सफल पनि भए। अधिकारी भन्छन्, ‘उनीहरूले गठन गरेको संघमा लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटालगायत सहभागी भएर आन्दोलनलाई निष्कर्ष दिएका थिए।’
त्यतिबेला सामूहिक सरकार गठन हुने प्रावधान थियो। महानन्द सापकोटा सामूहिक सरकारका पूर्वी कमान्डर थिए। संघको केन्द्रिय कार्यालय यहीं रहेका बेला उनकै नेतृत्वमा ‘करफोक शिक्षा नीति’ पारित भयो। विद्यालय र उच्च तहसम्मको प्रावधान रहेको त्यो शिक्षा नीति देशले पहिलो आधार बनाएर लागु ग¥यो। संघले नेपाली भाषाका करिब आधा दर्जन पुस्तक प्रकाशन गरेको थियो।
साहित्यमा पनि देशभर चर्चा बटुलेको करफोकमा २००८ सालमा तत्कालीन गृहमन्त्री तथा साहित्यकार बिपी कोइराला आएका थिए। उनीसँगै पहिलोपटक करफोकमा गाडी आएको इतिहास छ। २००९ सालमा पुनः इलामले नेपाली साहित्यमा अर्काे इतिहास रच्यो–नेपाली राष्ट्रिय कवि गोष्ठी आयोजना गरेर। गोष्ठीमा लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, धरणीधर कोइराला, शंकर लामिछाने, वीरेन्द्र खुजेली, सूर्यविक्रम ज्ञवालीलगायतका साहित्यकार करफोकमा भेला भएका थिए।
२०१० साल जेठ १० मा तत्कालीन युवराज महेन्द्र करफोक आएर विद्यालयको भवन शिलान्यास गरे। निम्न माध्यमिक रहेको विद्यालय त्यतिबेलादेखि माध्यमिक तहमा पठनपाठन सुरु भयो। अनि, प्रधानाध्यापकका रूपमा आए दार्जिलिङका प्रवासी साहित्यकार इन्द्रबहादुर राई। समालोचक डा.तारानाथ शर्माले नेपाली भाषा बचाउन २०१४ सालतिर यही विद्यालयमा निःशुल्क अध्यापन गरेका थिए। खगेन्द्रनाथ शर्मा, भगवतीदास श्रेष्ठ, लक्ष्मीनाथ शर्मालगायतले पनि विद्यालयमा अध्यापन गरेका थिए।
लक्ष्मीनाथ शर्मा, डा.खगेन्द्रनाथ शर्मा, डा.सन्तमान राई, नरहरि शर्मा, पुष्पनाथ शर्मालगायतले यो विद्यालयमा अध्ययन गरेका हुन्। भूमि शेरचन, केदारमान व्यथितलगायतका साहित्यकार पटक–पटक करफोक आएका थिए। २०१२ सालमा प्रवेशिका एसएलसी परीक्षा केन्द्र सञ्चादन सुरु गरेको करफोक विशिष्ट साहित्यकारका आँखामा पनि गढेको छ। राष्ट्रकवि माधव घिमिरेले २०६० सालमा इलाम आउँदा लेखेका थिए:
करफोकमा आइपुग्दा मुटु भयो ढुक्कुर
आँखाभरि इलाम हेरी गाइरहुँ कि कुर्कर...
प्रकाशित: ७ पुस २०७८ १०:४१ बुधबार