१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अक्षर चिन्ने रहरले ७० वर्षमा कक्षा १!

गोरखाको बालमन्दिर कक्षा १ मा पढ्दै ७० वर्षीया र ४५ वर्षिया महिला। तिस्बर: नरहरि/नागरिक

मोवाईलमा आएको म्यासेज हेर्न, फेसबुक चलाउन, कतै यात्रामा निस्कँदा गाडी नम्बर थाहा पाउन, देश भित्रको घटना जान्ने चाहना ७० वर्षीया बिष्णुमाया गुरुङलाई जाग्यो। निरक्षर भएकाले आफू यी सबै कुराबाट बञ्चित भएको महशुस उनले गरिन्। आफू जान्ने, बुझ्ने, बिभिन्न ठाउँका घटना थाहा पाउने हुन प्रौढ शिक्षा पढ्ने मनस्थितीमा पुगेकी उनले साथी, समुह पाईनन्। अन्ततः उनी गोरखा नगरपालिका ६ छहरेमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा १ मा भर्ना भएर पढ्न थालेकी छिन्।  

गोरखाको आरुघाट गाउँपालिका १ मान्बु माझगाउँकी उनलाई अक्षर चिन्ने रहरले विद्यालय ल्याई पुर्‍याएको छ। ‘हाम्रो पालामा विद्यालय थिएन, पढ्न पाईएन, घरको कामले फूर्सद भएन’ उनले भनिन्, ‘अहिले मेरो पनाती कक्षा ५ मा पढ्छ, म अक्षर चिन्ने रहरले कक्षा १ मा पढ्न आएँ।’ अक्षर चिनेपछि थप कक्षा पढ्न उमेरले पनि समस्या हुने हो कि भन्ने चिन्ता उनलाई छ।  

उनीसँगै सोही गाउँकी ४५ वर्षिय बिष्णुमाया गुरुङ नामकै अर्की महिला पनि कक्षा १ मा भर्ना भएकी छिन्। ‘बैंकमा आउने पैसा, ब्याज, मोवाईलको ब्यालेन्स, लेखिएका अक्षरहरु पनि चिन्दैनौँ’ उनले भनिन् ‘यी कुरा जानिन्छ कि भनेर पढ्न आएको हुँ।’ दुबै जना मंगलवारदेखि विद्यालय आएका छन्। सोमवार भर्ना गरेर उनीहरु मंगलवार बिहान १० बजेदेखि विद्यालय आएका पढेका छन्। ‘सके सम्म एक दिन पनि कक्षा छुटाउँदिन’ उनले भनिन् ‘जसरी पनि अक्षर चिन्नु छ।’  

४५ वर्षिय बिष्णुमायाले पनि प्रौढ शिक्षा पढ्न पाईन्छ कि भनेर धेरै सोधखोज गरेको तर नपाएको बताईन। ‘प्रौढ शिक्षा भएको भए त्यहाँ हामी जस्ता उमेर धेरै भएका मात्रै पढ्न सजिलो हुन्थ्यो’ उनले भनिन्। साना बालवालिका सँग सँगै बसेर कक्षा १ मा पढ्दा पनि आफुलाई असजिलो भने नभएको उनले बताईन। ‘सिक्ने रहर भएकाले होला अफ्ठेरो लागेको छैन’ कक्षा १ का बालवालिका सँग सँगै लेखपढ गर्दै गरेकी बिष्णुमायाले भनिन्।  

झोलाभरी किताब कापी बोकेर विद्यालय आएका यी दुई महिलाले बालवालिका सँग सिक्दै आफुले पनि लेख्दै गरेको दृष्य नौलो थियो। शिक्षक, विद्यालय पनि यो दृष्य देखेर दंग थिए। कक्षा १ मा पढ्दै आएका बालवालिका हजुरआमा, आमा उमेरका महिलालाई आफु सँगै पढ्दै, लेख्दै गरेको देखेर अचम्म मानिरहेका थिए।  

यी दुबै जना गोरखा सदरमुकाममा बस्छन्। विद्यालयमा आएर भर्ना हुने चाहना देखाएपछि विद्यालयले कक्षा १ मा भर्ना लिएर पढाउन सुरु गरेको बालमन्दिर माविका प्रधानाध्यापक शिबबहादुर थापाले बताए। ‘उहाँहरुले पढ्छु, सिक्छु भनेर आउनु भएपछि हामीले भर्ना लिएर पढाएका हौँ’ उनले भने ‘उहाँहरुको इच्छाशक्ति देख्दा बालवालिका सँगै सिक्नुहुन्छ जस्तो लागेको छ।’ सिक्ने उमेरका बालवालिका र जेष्ठ नागरिकलाई एकै पटक सिकाउन सहज नभएपनि सँगसँगै लैजाने गरी सिकाउने उनले बताए। करिब तीन सय जना अध्ययनरत उक्त विद्यालयमा कक्षा १ मा २५ जना पढ्दै आएका छन्।

प्रकाशित: २३ कार्तिक २०७८ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App