१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अभिभावकको मन जित्दै ‘कोल्याप्स’ हुन लागेको एक विद्यालय

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको गणेश माध्यमिक विद्यालयको नाम आउने बित्तिक्कै धेरैको मनमा छाप थियो, ‘शिक्षकहरु समयमा नआउने, समयसम्म नबस्ने, पढाए पनि हुने नपढाए पनि हुने, विद्यार्थीले पढे पनि ठीक, नपढे पनि ठीक, राम्ररी पढाउने स्कुल।’

त्यही छापले गर्दा स्कुल वरपरका स्थानीयसमेत आफ्ना सन्तान अन्यत्र पढ्न पढाउँथे। गणेश माविप्रति स्थानीयको खासै विश्वास थिएन।

तर, अहिले त्यो अवस्था रहेन। अहिले विद्यालयप्रतिको विश्वास बढेको छ, विद्यालयले शैक्षिक र भौतिक क्षेत्रमा कोल्टे फेर्दैछ। यसैले २०७६ सालमा एकसय १७ विद्यार्थी रहेकामा अहिले २ सय ५४ पुगेका छन्, सो स्कुलमा।

‘अहिले विद्यालयको गिर्दो साख मेटिँदै गएको छ, गणेश मावि पनि सुध्रिदैँछ, पहिलाजस्तो छैन, राम्रो हुँदै गएको छ भन्ने छाप पर्दै गएको छ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकण्ठ खड्काले भने। अध्यक्ष खड्कासँगै सहमत छिन्, विद्यालयकी प्रधानाध्यापक निर्जला केसी पनि।

अहिले विद्यालयप्रतिको विश्वास बढेको छ, विद्यालयले शैक्षिक र भौतिक क्षेत्रमा कोल्टे फेर्दैछ। यसैले २०७६ सालमा एकसय १७ विद्यार्थी रहेकामा अहिले २ सय ५४ पुगेका छन्, सो स्कुलमा।

चार वर्षकै दौरानमा विद्यालयमा आएको परिवर्तनका थुप्रै कारणहरुमध्ये विद्यालयले समुदायसँग गरेको सहकार्य पनि एक रहेकोमा विद्यालयका शिक्षक, विव्यस पदाधिकारीहरु एकमत छन्।

उनीहरुले मात्र नभएर चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले पनि गणेश मावि भण्डै कोल्याप्स हुने अवस्थामा पुगेको बताउँदै अहिले विद्यालयमा सुधार हुँदै गइरहेको बताए। ‘गणेश माविमा पनि पहिला धेरै विद्यार्थी थिए, काभ्रेदेखि विद्यार्थी आउँथे, तीनचार गाउँको केन्द्र थियो’, उनले भने, ‘बीचमा व्यवस्थापन, शैक्षिक प्रणालीका कारण झण्डैभण्डै कोल्याप्स हुने अवस्थामा थियो, अहिले सुधार हुँदै गइरहेको छ।’

धुमिलिएको विद्यालयको छविलाई चम्काउन अहिले विद्यालय परिवार एकमनले प्रतिवद्ध भएर लागेको छ। यसैले कहिले घरघरमै पुगेर विद्यार्थीको प्रगति प्रतिवेदन(मार्कसिटसहित) घरदैलो गर्छन्, कहिले विद्यालयमै अभिभावकलाई बोलाएर शैक्षिक अवस्थाबारेमा छलफल र अन्तरक्रिया।

‘विद्यालयको बिग्रिएको छविमा सुधार हुँदैछ, विद्यालयप्रति नकारात्कमता घट्दै गएको छ,’ खुसी हुँदै विव्यस अध्यक्ष खड्काले भन्छन्। उनले स्थानीय समुदायले चाहना राखेको खण्डमा शिक्षामा सुधार ल्याउन सकिने आफ्नो अनुभव पनि सुनाए। थपे, ‘पहिला खासै वास्ता गरिएको थिइनँ, तर आफ्नै ठाउँको विद्यालयको सुधारका लागि हामी आफै लागेपछि गर्न सकिँदो रहेछ भन्ने अनुभूति भइरहेको छ।’

विद्यालयले शैक्षिक सत्र २०७६ देखि विद्यालय सुधारका लागि योजना बनाएको थियो। सोही योजना लागू गरेको थियो। ‘बिग्रिएको स्कूल’ भन्ने छविलाई उकास्नका लागि व्यवस्थापन समितिले शिक्षक, अभिभावक र स्थानीय समुदायको साथ लिएर बनाएको योजना अनुसार अघि बढ्दा विद्यालय सुधार गर्न सहज भएको उनको भनाइ छ।

उनले थपे, ‘विद्यालयको हालसम्मकै इतिहासमा राम्रो काम हुन थालेको छ, अझ पनि हामीले सोचेजस्तै भएको छैन, अभिभावकले विश्वास गर्न थालेका छन्।’

विद्यार्थी अभावमा एक समय सुनसानप्रायः बन्दै गएको विद्यालय, खिया लाग्दै गएको झ्यालढोका, प्रयोग हुन छाडेका डेस्क बेञ्च। यतिमात्र नभएर एक जना शिक्षक बराबर चार जना विद्यार्थीमा सीमित बन्दै गएको विद्यालयको अहिलेको अवस्थामा क्रमशः सुधार हुँदै गइरहेकोमा धेरै स्थानीय अहिले दंग छन्।

विक्रम सम्वत २०१६ सालमा स्थापना भएको सो विद्यालयमा २०७७ सालपछि सुधार हुँदै आएको स्वीर्काछन्, विद्यालयका पूर्व प्रधानाध्यापक सानुभाइ राउत। ‘६० वर्ष पार गर्दा विद्यालयले थुप्रै उतारचढाव झेलिसकेको छ, थुप्रै नकारात्मक कुरामात्र आउने विद्यालयबारे अहिले चोकचोकमा राम्रो कुरा हुन थालेको छ’ उनले भने, ‘भक्तपुरको पूर्वी भेगको शैक्षिक इतिहास निर्माणमा उल्लेख्य भूमिका खेलेको सो विद्यालयको शैक्षिक अवस्थामा गिरावटका कारण चार वर्षअघि जम्मा ८१ जना विद्यार्थी भएको विद्यालयमा अहिले पुगनपुग तीनसय विद्यार्थी पुग्नु भनेको समुदायले विश्वास गर्दैछ भन्ने नै हो।’

यही विश्वासलाई अझ प्रगाढ बनाउन तिहारको अवसरमा खेलिने देउसी भैलोलाई विद्यालयले अवसरका रुपमा उपयोग गरेको छ। परम्परादेखि चल्दै आएको कला संस्कृतिलाई मजबुत बनाउन र विद्यालय र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउन अझ सहयोग पुगेको विद्यालयकी प्रधानाध्यापक केसीले बताइन्।

उनले नयाँ पुस्तालाई देउसी भैलो संस्कृतिबारे जानकारी दिनुका साथै व्यवहारिक रुपमै संस्कृतिको अभ्यास गराउनका लागि तिहारमा खेलिने देउसी भैलो राम्रो अवसर भएकाले सोही अवसरलाई विद्यालयले उपयोग गरेको बताइन्।

विद्यालय सेवा क्षेत्रअन्तर्गतका विभिन्न व्यक्ति, अभिभावकहरुको घरघरमा गएर खेलिएको सो देउसी भैलोबाट विद्यालयले करिब साढे ६ लाख रुपैयाँ समेत संकलन गरेको छ। देउसी भैलोबाट संकलित रकम विद्यालय बसका लागि खर्च गर्ने योजना रहेको उनले बताइन्।  

उनले पछिल्लो केही वर्षदेखि विद्यालयमा भइरहेको शैक्षिक प्रगति र भौतिक प्रगतिका कारण विद्यार्थीको आर्कषण बढिरहेको र अभिभावकले स्कुल बसको माग गरिरहेकाले स्कुल बसको बन्दोबस्त गर्नका लागि देउसी भैलो कार्यक्रम गरिएको बताइन्।

‘हामीले एउटा प्राइभेट स्कुल बस राखेका थियौं, त्यो राख्दा कतिपय अभिभावकले त्यसलाई विश्वास गरेका थिएनन्। यसैले आफ्नै स्रोतले स्कुल बस किन्न देउसी भैलो राखेका हौं’, विव्यस अध्यक्ष खड्काले भने।

उनले विद्यालयले कार्तिक १७, १८ र १९ गते देउसी भैलो आयोजना गरेको बताए।

प्रकाशित: २१ कार्तिक २०७८ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App