२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

धरानमा असोज १० गतेदेखि विद्यालय खोल्ने निर्णय

धरान उपमहानगरपालिकाको कार्यालय ।

आफ्नै निर्णय विपरीत धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाले आइतबार (असोज १० ) गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।  

शुक्रबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। बैठकले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै भौतिकरुपमा नै विद्यालयहरु खुलाउने निर्णय गरेको उपमहानगरले जनाएको छ। यसअघि भदौ ३१ गते बसेको कार्यपालिका बैठकले भने दशैं तिहारपछि मात्र विद्यालय खुलाउने निर्णय गरेको थियो। 

उक्त निर्णयलाई उल्टाउँदै शुक्रबार कार्यपालिका बैठकले नै दशै अघि नै अर्थात असोज १० गते आइतबारदेखि नै विद्यालय खुलाउने निर्णय गरेको हो।

कार्यपालिकाको यो निर्णयबारे विरोध र समर्थन प्रकट भइरहेको छ। विद्यालय सञ्चालकहरुले स्वागत गरिरहेका छन् भने कतिपय शिक्षकहरुले नै कार्यपालिकाको अपरिपक्क निर्णय भन्दै आलोचना गरिरहेका छन्। निजी विद्यालय सञ्चालकहरुको दबाब थेग्न नसकेर यस्तो निर्णय गरेको भन्दै कार्यपालिकाको आलोचना भइरहेका छ। 

उपमहानगरपालिकाले दशैं, तिहारपछि मात्र विद्यालय खोल्ने निर्णय गरेपनि धरानका कतिपय निजी तथा संस्थागत विद्यालयहरुले उक्त निर्णय विपरित असोज ४ गतेदेखि नै विद्यालय सञ्चालन गरेका थिए। चौतर्फी कुरा उठेपछि उपमहानगरले प्रहरीसहित ती विद्यालयहरुमा अनुगमन गर्न पुगेपछि विवाद भएको थियो। यो घटनाले पनि उपमहानगरपालिका विगतको आफ्नो निर्णय उल्टाउन बाध्य भएको हो।

यता उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने धरानमा कोरोना संक्रमणको दर दिनप्रतिदिन घट्दै गएको तथ्यांकबाट देखिएको कारण कार्यपालिका बैठकले भौतिकरुपमा नै विद्यालय खुलाएर पठनपाठन सुरुवात गर्ने निर्णय गरिएको बताए। वडाध्यक्षहरु र अभिभावकहरुबाट समेत विद्यालय खुलाउन आग्रह भएपछि निर्णय गरिएको उनको भनाइ छ।  

उपमहानगरपालिकाले दशैं, तिहारको बीचमा हुने लामो विदामा पनि विद्यालय बन्द नगर्न आग्रह गरेको छ। साथै, संस्थागत विद्यालयहरुबाट लिइने शुल्कलाई विगतमा झैं अभिभावक र विद्यालयको सहमति तथा समन्वयमा शुल्क लिन व्यवस्था गर्न पनि उपमहानगरपालिकाको आग्रह छ।

प्रकाशित: ८ आश्विन २०७८ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App