८ वैशाख २०८१ शनिबार
शिक्षा

शिक्षामा प्रदेश २ सबैभन्दा कमजोर

तराई मधेस भन्नसाथ समथर र खेतीयोग्य जमीन भएको ठाउँ भन्ने बुझिन्छ। यहाँ यातायातको राम्रो व्यवस्था भएकाले एक ठाउँबाट अर्को ठाउँमा सहजै पुग्न सकिन्छ। थोरै खर्चमा पनि राम्ररी खान बस्न पुग्छ। पढ्न चाहनेले राम्ररी पढ्न सक्नछन्। यति हुँदा हुदै पनि प्रदेश–२ को शैक्षिक अवस्था निकै कमजोर छ।  

जनसंख्याकोको ठूलो हिस्सा ओगटेको प्रदेश २ लाई प्रदेशगत रूपमै शैक्षिक अवस्था हेर्दा दुर्गम क्षेत्र कर्णालीभन्दा पनि शिक्षामा पछि पर्नु दुःखद् हो।  

कर्णालीभन्दा पनि कमजोर  

प्रदेश दुई साक्षरतामा निकै पछाडि परेको छ। यस क्षेत्रमा ८ जिल्ला पर्दछन्। हालसम्म कुनै पनि साक्षर घोषणा हुन सकेको छैन। प्रदेश दुई साक्षरतामा दुर्गम कर्णाली प्रदेश भन्दा पनि निकै पछाडि रहेको तथ्यांक छ।  

२०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता (१५ देखि ६० वर्ष उमेर ) ६५.९४ प्रतिशत रहेको छ। सबैभन्दा बढी साक्षर भएको प्रदेश बागमती छ। यो प्रदेशको साक्षरता ७४.८५ प्रतिशत छ भने कर्णाली प्रदेशको साक्षरता ६२.७७ प्रतिशत रहेको छ। सबैभन्दा कम प्रदेश २ को साक्षरता रहेको छ। यो प्रदेशमा ४९.५४ प्रतिशत मात्र साक्षर रहेका छन्।  

प्रदेश सरकार, समाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेश २ का आठ जिल्लामध्ये पनि सबैभन्दा कमजोर रौतहट अर्थात् यो जिल्लाको साक्षरता प्रतिशत ४१.६९ प्रतिशत रहेको छ भने सबैभन्दा बढी पर्सामा अर्थात् यो जिल्लामा ७६.९८ प्रतिशत साक्षरता पुगेको तथ्यांक छ। निर्देशनालय प्रमुख चुडामणि फुयाँलका अनुसार दलित र मुस्लिम समुदायको साक्षरता झनै न्यून छ।  

शिक्षा विभागबाट २०७४ को फ्लास रिपोर्टअनुसार देशभरमा प्राथमिक तहको भर्ना दर ९७.२ रहेको छ। कर्णाली प्रदेशको ९७.९ रहेको छ भने प्रदेश २ मा अरू सबै प्रदेशभन्दा कम ९५.७ रहेको देखिन्छ। त्यस्तै कक्षा ६ देखि ८ सम्म समग्र नेपालको भर्ना दर ८७.४ प्रतिशत, कर्णालीको ८८.४ देखिन्छ भने प्रदेश २ मा ६२.८ मात्र रहेको छ। त्यस्तै कक्षा ९ र १० मा हेर्ने हो भने देशभरको ६५.९ प्रतिशत छ। जबकी कर्णालीको ६२ प्रतिशत हुँदा प्रदेश २ को भने ५६.३ मात्र रहेको छ।  

यस तथ्यांकबाट प्रदेश नम्बर २ मा प्राथमिक तहमा विद्यालय उमेरका अझै पनि ४.३ प्रतिशत, कक्षा ६ देखि ८ सम्म पढ्नुपर्ने उमेरका ३७.२ प्रतिशत र कक्षा ९ र १० पढ्नुपर्ने उमेरका ४३.७ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको प्रष्ट हुन्छ।  

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विद्यालयबाहिर रहेका कुल विद्यार्थीमध्ये सबैभन्दा बढी तराई मधेसमै छन्। प्राप्त तथ्यांकबाट पनि मधेसमा जुनसुकै विद्यालय तहमा पनि टूलो हिस्सा बालबालिका बाहिर रहेको प्रष्ट हुन्छ।  

विद्यालयबाहिर रहेका बालबालिकाको संख्या  

यो प्रदेशमा कक्षा १ देखि ८ सम्मका एक लाख ५३ हजार ८ सय ९ बालबालिका अझै विद्यालयबाहिर रहेका छन्। यी निकै कठिन समूहका हुन्। सबैभन्दा बढी सलार्हीमा अर्थात् यो जिल्लामा २५ हजार पाँच सय १५ बालबालिका विद्यालयबाहिर छन् भने सबैभन्दा कम महोत्तरीमा रहेका छन्। यो जिल्लामा ११ हजार ७ सय ५२ मात्र विद्यालयबाहिर रहेका छन्।  

कक्षा छाड्ने पनि प्रदेश २ कै बढी  

राष्ट्रियस्तरमा कुल कक्षा छाड्ने दर ३.६ प्रतिशत रहेको छ। तीमध्ये २.९१ प्रतिशत प्रदेश २ रहेको प्रदेश दुई शिक्षा विकास निर्देशनालयले जनाएको छ। यहाँका आठ जिल्लामध्ये सबैभन्दा बढी सिराहामा ४ प्रतिशत बालबालिका बीचैमा कक्षा छाड्ने रहेछन् भने सबैभन्दा कम सप्तरीमा २.३ प्रतिशत बालबालिका बीचैमा कक्षा छाड्ने गरेको तथ्यांक छ।  

कक्षा दोहोर्‍याउने दर  

कक्षा दोहोर्‍याउने राष्ट्रिय रूपमा ७.० प्रतिशत रहेको छ। जसमध्ये ६.४१ प्रतिशत प्रदेश दुईमा रहेको छ। सबै भन्दा बढी सप्तरीका बालबालिकाहरू कक्षा दोहर्याउने रहेन्। यो जिल्लाका ७.५ प्रतिशतले कक्षा दोहर्‍याउने रहेछन् भने सबैभन्दा कम महोत्तरीमा ४.९ प्रतिशत बालबालिकाले मात्र कक्षा दोहर्‍याउने गरेको तथ्यांक छ ।

विद्यार्थी शिक्षक अनुपातको अवस्था  

निर्देशनालय निर्देशक चुडामणि फुयाँलले उपलब्ध गराएको तथ्यांकअनुसार प्राविमा विद्यार्थी शिक्षक अनुपात १ः२१० अर्थात् एक शिक्षकले दुई सय १० विद्यार्थीलाई पढाउनुपर्छ भने निम्न माध्यमिक तहमा १ः१९० अर्थात् एउटा शिक्षकले एक सय ९० विद्यार्थी पढाउनुपर्ने अवस्था छ। यसैगरी, आधारभूत तहमा विद्यार्थी शिक्षक अनुपात १ः२७७ अर्थात् एक शिक्षकले दुई सय ७७ विद्यार्थी पढाउनुपर्छ।  

लैंगिक सूचांकमा समेत प्रदेश २ सबैभन्दा कमजोर छ। सबै प्रदेशमा लैंगिक सूचकांक १ रहेको छ भने प्रदेश २ मा ०.९९ छ। यसको अर्थ यो प्रदेशमा बालिकाहरूको शिक्षामा पहुँच कमजोर छ।  

‘यो प्रदेशमा साक्षरता, भर्ना दर, टिकाउ दरलगायतका शैक्षिक उपलब्धि निकै कमजोर देखिन्छ,’ शिक्षाविद् कोइराला भन्छन्, ‘जबकी मधेस भनेको गणित र विज्ञानको खानी हो। नीति निर्माताले मधेसका साधनस्रोत र बौद्धिकतालाई प्रयोग गर्नेगरी शैक्षिक नीति निर्माण गर्न नसक्नु नै शैक्षिक अवस्था कमजोर भएको हो ।’ शिक्षकहरूले विद्यार्थीसँग गर्ने नकारात्मक व्यवहार गरेका कारण पनि मधेसको बालाबलिका बीचैमा कक्षा छाड्ने र पढाईलाई निरन्तरता दिन चाहँदैनन् ।’

‘बेटी बचाओ, बेटी पढाओ’ अलपत्र  

प्रदेश २ मा बालिका शिक्षाको अवस्था कमजोर र बाल विवाह उच्च देखिएपछि प्रदेश सरकार मुख्यमन्त्री कार्यलयले ‘बेटी बचाओ, बेटी पढाओ,’ कार्यक्रम कार्यन्वयनमा ल्यायो। तर यहाँ पनि उचित व्यवस्थापन गर्न नसकेपछि कार्यक्रमै अलपत्र परेको छ।  

शिक्षाविद् कोइरालाले कार्यक्रमको चिन्तन राम्रो भए पनि मुख्यमन्त्री कार्यालय, प्रदेश सरकार र पालिकाहरूविचको समन्वयको कमीका कारण हाल कार्यक्रमनै अलपत्र परेको जनाए। कार्यक्रम संयोजक प्रियंका यादवका अनुसार कार्यक्रमअन्र्तगत मुख्यरूपमा कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण, लोक सेवा तयारी र छोरी शीक्षा बिमा कार्यक्रम लागु भएको थियो।  

‘यो कार्यक्रमको मुख्य उद्देश्य नै छोरीहरूको पढाइ निरन्तरता र बालविवाह रोक्नु रहेको हो,’ संयोकज यादवले नागरिकसँग भनिन्, ‘तर हाल मुख्यमन्त्री कार्यालले तोकेको बिमा प्रिमियमअनुसारको टेन्डर हाल्न बैंकहरूले नमानेपछि बिमा कार्यक्रम सञ्चालनमा समस्या परेको हो ।’ ०७५ देखि कार्यन्वयनमा आएको यस कार्यक्रमअन्तर्गत हालसम्म ३० हजार छोरीहरूले साइकल प्राप्त गरेका छन् भने ६ हजार छोरीहरूको बिमा कार्ड बनिसकेको उनले बताइन्।  

माध्यमिक तह पूरा गरेको र २० वर्ष पुगेका छोरीको हकमा मात्र बिमावापत तीन लाख रकम उपलब्ध हुन्छ। तर हाल यो रकम उपलब्ध हुन सकेको छैन। मुख्यमन्त्री उनका अनुसार प्रभु बैंकसँग भएको समझौता ०७६ असारमा सक्यो। त्यसपछि दुईपटकसम्म पनि टेन्डर आह्वान गर्दा पनि मुख्यमन्त्री कार्यलयअनुसारको रकममा प्रिमियम गर्न कुनै पनि बैंकले सहमति नजनाएपछि कार्यक्रम हाल अन्योल जस्तै बनेको छ।  

‘मधेसमा भएको स्रोत र साधनको उचित प्रयोग गर्न वातवारण बनाउनुपर्छ,’ शिक्षाविद् कोइरालाले नागरिकसँग भने, ‘केन्द्रबाट नीति नियम बनाउँदा प्रदेश २ को वास्तविकता बुझेर आवश्यक्ता सम्बोधन गर्न सक्ने मात्र बनाउनुपर्ने देखिन्छ ।’ बेटी बचाओ बेटी पढाओ कार्यक्रमको चिन्तन निकै सहरानीय रहेको शिक्षाविद् कोइरालाको राय छ। तर मुख्यमन्त्रीले प्रदेश र पालिकाहरूसँग समन्वय गर्न नसकेको कारण कार्यक्रम अलपत्र परेको उनको भनाइ छ।  

जनसंख्याकोको ठूलो हिस्सा ओगटेको प्रदेश २ लाई प्रदेशगत रूपमै शैक्षिक अवस्था हेर्दा दुर्गम क्षेत्र कर्णालीभन्दा पनि शिक्षामा पछि पर्नु दुःखद् हो।  

प्रदेश २ मा कुल जनसख्याको ५४ लाख चार हजार एक सय ४५ मानिसहरूको बसोबास छ। यसको कुल क्षेत्रफल ९६६१ वर्ग किमी छ। जनंसख्याको हिसाबले ८४.७५ प्रतिशत हिन्दुहरूको बसोबास छ भने तीन प्रतिशत इस्लिामिक धर्मावलम्बी बसोवास गर्छन् ।

प्रकाशित: ४ आश्विन २०७८ ००:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App