७ वैशाख २०८१ शुक्रबार
शिक्षा

स्थानीय तहले निर्णय नगर्दा निजी विद्यालयले बढाए मनोमानी शुल्क

स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहे पनि विद्यालयको शुल्कबारे धरान उपमहानगरपालिकाले समयमै निर्णय गर्न नसक्दा यहाँका निजी विद्यालयहरुले मनोमानी ढंगले शुल्क बढाएको छ।नयाँ शैक्षिक सत्रको अनलाइनबाट पठनपाठन सुरु भएको ३ महिना बितिसक्दा पनि उपमहानगरपालिकाले शुल्कबारे निर्णय लिन सकेको छैन। यही मौकामा निजी तथा संस्थागत विद्यालयहरुले भने गत वर्षको भन्दा ४० प्रतिशत बढी आफै शुल्क वृद्धि गरेर अभिभावकहरुसँग असुल गरिरहेको अभिभावक संघले जनाएको छ। शुल्क नतिर्ने विद्यार्थीहरुलाई अनलाइन कक्षाबाटै निकाल्ने गरेको गुनासोहरु संघमा आएको अध्यक्ष विकास भाटीले जानकारी दिए।

उनले भने, ‘जिम्मेवारी बोकेको स्थानीय सरकार मुकदर्शक बनेको छ। विद्यालय सञ्चालकहरुले गत वर्षको शुल्कमा ४० प्रतिशत बढाएर शुल्क लिइरहेका छन्, नतिर्ने विद्यार्थीलाई जुम कक्षाबाट नै आउट गरिरहेका छन्।’

धरानको एक विद्यालयले भनेजति शुल्क नतिर्दा अनलाइन कक्षामा बस्न नदिएका विद्यार्थी र अभिभावकसहित बुधबार अभिभावक संघले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ। ती अभिभावकले स्थानीय सरकारले निर्णय गरेपछिमात्र शुल्क तिर्ने भनेपनि विद्यालयले आफ्ना नानीलाई अनलाइन कक्षाबाट आउट गरेको मेयर तिलक राईसँग गुनासो गरिन्। उनले भनिन्, ‘मैले नतिर्ने भनेको होइन, तर नगरपालिकाले कति तिर्ने भनेर निर्णय गरोस्, अनि तिर्छु भनेको हुँदैन भनेर नानीलाई आउट गरिदियो।’

अभिभावक संघका अध्यक्ष भाटीले कोरोना महामारीले यो बर्ष पनि लामो समय निषेधाज्ञा भएकोले अभिभावकहरु पनि आर्थिक संकटमा परेको कारण शुल्क वृद्धि नगर्न माग गर्दै स्थानीय सरकारलाई ध्यानाकर्षण गरिएको हो। जथाभावी शुल्क असुल गर्ने विद्यालयलाई कारवाही गर्न पनि अल्टिमेटम दिएको उनले बताए। मेयर राईले स्थानीय सरकारले शुल्कबारे निर्णय नगरेको कारण निजी विद्यालयहरुले जर्बजस्ती लिन नमिल्ने प्रतिक्रिया दिए। ‘संस्थागत कुनै पनि विद्यालयले यति शुल्क लिन्छौं भनेर स्वीकृति लिएको छैन, हामीले पनि निर्णय गरिसकेका छैनौं। त्यसरी लिएको जानकारी पनि छैन, तर लिएको हो भने मिल्दैन,’ मेयर राईले भने, ‘यसबारेमा हामी कार्यपालिका बैठकले बिहीबार निर्णय गर्नेछ।’

असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी

धरानमा असोज ४ गतेदेखि विद्यालयहरु खोल्ने तयारी भएको छ। कोरोना संक्रमण दर घट्दै गएको र अन्य सबै क्षेत्र खुल्ला भइसकेको कारण विद्यालय पनि खोल्ने तयारी गरिएको हो।

धरान उपमहानगरपालिकाले विद्यालय सञ्चालनबारे सरोकारवाला पक्षहरुसँग छलफल तथा राय सुझाव पनि संलकन गरिरहेको छ। मेयर राईका अनुसार सबै पक्ष विद्यालय सञ्चालन गर्न सकरात्मक भएकोले बिहीबार कार्यपालिका बैठक बसेर आवश्यक निर्णय लिइने बताए। ‘बिहीबार कार्यपालिका बैठक बस्दैछ, त्यहाँबाट आवश्यक निर्णय लिन्छौं,’ उनले भने, ‘असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी हो।’

विद्यालय सञ्चालन गर्दा सम्पूर्ण स्वास्थ्य प्रोटोकल पूरा गरेरमात्र हुने मेयर राईको भनाइ छ। अनलाइन कक्षा प्रभावकारी नभएको, आफ्ना नानीहरु एकोहोरो मोबाइल वा ल्यापटपमा बस्नु परेकोले धेरै समस्या भएको अभिभावकहरुको गुनासो आइरहेको मेयर राईले बताए। असोज १ गते शुक्रबार परेको र २, ३ गते लगातार शनिबार, संविधान दिवसको विदा भएको कारण ४ गतेदेखि विद्यालयहरु खोलिने उनले बताए।  

अभिभावक संघले भने चाडपर्व नजिकिँदै गरेको र नयाँ भेरियेन्ट देखा परेको अवस्थामा विद्यालय खोल्नु उपयुक्त नहुने धारणा राखेको छ। संघका अध्यक्ष भाटीले स्वास्थ्य मापदण्ड, अनुगमन कसरी प्रभावकारी बनाउने भनेर स्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल गरेरमात्र निर्णय लिन आग्रह गरेका छन्।

प्रकाशित: ३० भाद्र २०७८ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App