१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

आंशिकलाई करार गर्न त्रिवि सहमत, शिक्षक आन्दोलन स्थगित

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजानका लागि दरबन्दी थप गर्ने सहमति भएको छ।  

हाल त्रिविका देशभरि संचालनमा रहेका आंगिक कलेजहरुमा २ हजार आंशिक शिक्षकहरु कार्यरत छन्। आनदोलनरत समाजवादी प्राध्यापक संघका अध्यक्ष डा. पवनकुमार झा र त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले हस्ताक्षर गरेको १३ बुँदे सहमतिमा त्रिविमा कार्यरत आंशिक शिक्षकहरुको समस्या समाधानार्थ करारमा लैजान दरबन्दी थप गर्ने तथा अन्य आवश्यक प्रकृया समेत अघि बढेकोले थप तदारुकताकासाथ उक्त कार्यलाई अघि बढाउने सहमति बुँदा नम्बर १० मा राखिएको छ।  

बिहीबार साँझ सहमति लगत्तै आन्दोलनरत प्राध्यापक संघले ९ दिनदेखि उपकुलपति, रेक्टर रजिष्ट्रारको कार्यकक्षमा लगाएको ताला खोलेर आन्दोलन स्थगन गरेका छन्। ‘शिक्षाध्यक्ष भुसाल सरले लिखित १३ बुँदे सहमति गरेपछि मात्र हाम्रो संघले भदौं ९ गतेदेखि लगाएको ताला भदौ १८ गते खोलेको हो। हाललाई हामीले आन्दोलन स्थगन मात्र गरेका हौं। फिर्ता लिएका हौइनौं,’ अध्यक्ष झाले नागरिकसँग भने, ‘एक महिनाभित्र हाम्रो सहमति कार्यान्वयन नभए हामी पुनः कडा आन्दोलनमा उत्रन बाध्य हुने छौं।’ उनले थपे, ‘त्रिविका शिक्षा अध्यक्ष भुसाल सरले आंशिक शिक्षकहरुलाई करार गर्न दरबन्दी थप गर्ने प्रकृया समेत अघि बढाएको भन्नु भएको छ।’

उनका अनुसार १३ बुँदे सहमतिमा केही सरकार र केही त्रिविसँग प्रत्यक्ष सरोकारमा रहेको छ। यसैगरी एउटै पदमा लगातार १५ वर्ष काम गरी अनिवार्य अवकाश पाउन एक महिना मात्र उमेर हदको अवधि बाँकी रहेका उप–प्राध्यापकसम्मलाई एक तहमाथिको पदमा बढुवा गरी अवकाश दिने सम्बन्धमा नेपाल प्राध्यापक संघ र त्रिवि प्राध्यापक संघसँग आवश्यक सम्बाद गरी उपयुक्त पहल गर्ने, कार्यरत करार सेवाका शिक्षकहरुको स्थायित्वका लागि आवश्यक प्रकृया अघि बढाउन पहल गर्ने साथै उमेर हदका कारण करार सेवाबाटै आवकाश प्राप्त हुने शिक्षकहरुको गोल्डेन ह्यान्डसेका लागि नेपाल सरकारासँग माग गर्ने सहमति भएको छ। 

‘त्रिविमा कार्यरत पूर्णकालिन शिक्षक र कर्मचारीहरुलाई ल्यापटप तथा सहुलियतपूर्ण ऋणको ब्यवस्था गर्नका लागि के–कस्तो रुपमा त्यस्तो ब्यवस्था गर्न सकिने हो भन्ने कुरालाई आवश्यक अध्ययन गरी राय सुझाव पेश गर्न आर्थिक प्रशासन प्रमुखको संयोजकत्वमा एक अध्ययन तथा सुझाव समिति गठन गर्ने,’ सहमति पत्रमा उल्लेख गरिएको छ, ‘प्राध्यापक र कर्मचारीहरुको परिवारको लागि कोभिड रोकथामको लागि खोपको ब्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग माग गर्ने।’ सहमतिपत्रमा थप उल्लेख छ, ‘अनलाइन कक्षा संचालनका लागि सबै केन्द्रीय विभागहरु र सबै क्याम्पसहरुमा ल्यापटप/कम्प्युटरको सुविधाको लागि ७ देखि १० लाख रुपैयाँ उपलब्ध गराई सकिएको र थप सुविधोका हकमा बर्ल्ड बैंकसँग सहकार्यमा सम्बन्धित शिक्षकहरुलाई उक्त सुविधा प्राप्तको लागि त्रिविले पहल गर्ने छ।’

त्रिविका कार्यकारीबाट निर्णय भईसकेको तर कार्यान्वयन हुन नसकेको त्रिविमा कार्यरत प्राध्यापकहरुका छोराछोरीहरुलाई अध्ययनका लागि प्राप्त हुने कोटाका सम्बन्धमा कार्यान्वयनका लागि अवाश्यक परिपत्र गर्ने समेत शिक्षा अध्यक्ष भुसालले सहमति जनाएको सहमति पत्रमा उल्लेख छ।

त्रिविका प्रवक्ता सुर्यप्रसाद अधिकारीले समाजवादी प्राध्यापक संघसँग  त्रिविका रेक्टर शिवलाल भुसालले लिखित सहमति गरेपछि बन्द ताला प्राध्यापकहरुले खोलेको जनाए। उनका अनुसार सहमति कार्यान्वयनको लागि त्रिविले पहल गर्ने तयारी गरिहरेको छ। 

प्रकाशित: १९ भाद्र २०७८ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App