१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छान्दा जनप्रतिनिधिबीच विवाद

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सिफारिस गर्ने विषयमा इलाम नगरपालिका वडा–७ का जनप्रतिनिधिबीच विवाद भएको छ। पूर्वसहमतिविपरीत वडाध्यक्षले आफ्नो दलबाहेकका जनप्रतिनिधि उपस्थित नै नभएको बैठकबाट अध्यक्षको नाम सिफारिस गरेपछि विवाद सतहमा आएको हो।  

गत साउन २८ मा बसेको वडा समिति बैठकले आदर्श माध्यमिक विद्यालयको अध्यक्षमा महिलाको नाम सिफारिस गर्ने सहमति गरेको थियो। तर, वडाध्यक्षले भदौ १ मा अर्को बैठक बोलाएर २८ गतेको सहमतिविपरीत प्राथमिकताका आधारमा पुरुषको नाम नै सिफारिस गरेका छन्। वडाले नगरपालिकामा पठाएको सिफारिसपत्रमा ‘भदौ १ गतेको वडा समितिको निर्णयअनुसार’ भनिएपनि निर्णयको प्रतिलिपि समावेश छैन। आफूहरू सहभागी नै नभएको बैठकबाट वडाध्यक्षले एकलौटी निर्णय गराइ नगरमा सिफारिस पठाएको वडासदस्य सञ्जीव राईले बताए। ‘राजनीतिक रूपमा फरक दलका सदस्य सहभागी नगराई वडाध्यक्षले एकलौटी निर्णय गराएका छन्,’ उनले भने, ‘२८ गतेको बैठकमा आदर्श माविमा महिलालाई अध्यक्ष सिफारिस गर्ने सहमति भएको थियो, त्यो पनि उल्ट्याइएको रहेछ।’

२८ गतेको वडा समिति बैठकले आदर्श माविको अध्यक्षका लागि कोमल निरौला, पुष्पा श्रेष्ठ र हरि सुवेदी तथा आदर्श आधारभूत विद्यालयको अध्यक्षका लागि रामप्रसाद खत्री, उषा लिङखिम र देवी विसुंखेको नाम सिफारिस गर्ने निर्णय गर्‍यो। यो निर्णयमा वडासदस्य राई र अर्की वडासदस्य इन्दिरा पौडेल क्षेत्रीले दुवै विद्यालयका लागि फरक ३/३ जनाको नामसहित फरक मत राखेका थिए। तर, वडाले अध्यक्षको हस्ताक्षर नभएको त्यस दिनको निर्णयअनुसार नगरपालिकामा सिफारिस गरी पठाएन।  

भदौ १ मा पुनः त्यही विषयमा अर्काे बैठक बोलाइएको थियो। बैठकले महिलालाई सिफारिस गर्ने पुरानो निर्णय उल्ट्याउँदै माविको अध्यक्षमा निरौला, खत्री र लिङखिम तथा आविको अध्यक्षमा अञ्जली श्रेष्ठ, विसुंखे र ज्योतिमाला प्रधानको नाम सिफारिस गर्‍यो। नगरपालिकाको हालै संशोधित शिक्षा ऐनमा कुनै पनि वडाका सरकारी विद्यालयमध्ये कम्तीमा ३३ प्रतिशतमा महिला अध्यक्ष अनिवार्य रहने व्यवस्था छ। वडा ७ मा आदर्श मावि र आदर्श आवि गरी २ सरकारी विद्यालय छन्। ऐनले २ विद्यालय मात्र भएको वडामा पनि कम्तीमा एउटामा महिला अध्यक्ष अनिवार्य गरेको छ।  

तर, भदौ १ मा वडाध्यक्षले आकस्मिक बैठक बोलाएर आफ्नो दलनिकट सदस्यलाई मात्र बैठकमा राखी निर्णय गराएको राई र क्षेत्रीको आरोप छ। ‘हामी दुवैजना बैठकमा सहभागी थिएनौं,’ क्षेत्रीले भनिन्, ‘तर, हामीसहितको बैठकमा भइसकेको सहमतिसमेत उल्ट्याइएछ। भइसकेको निर्णय उल्ट्याइएकामा हाम्रो आपत्ति छ।’ वडाध्यक्षले आफूहरूलाई झुक्याएर गरेको एकलौटी निर्णयको विरोधमा नगरपालिकामा निवेदन दिने उनले बताइन्। वडाध्यक्ष नरेश श्रेष्ठ तथा केशव खत्री र बसन्ती घतानी नेपाली कांग्रेसनिकट हुने भने वडा सदस्यद्वय राई र क्षेत्री नेकपा (एमाले)निकट हुन्।

वडाध्यक्ष श्रेष्ठले २८ गतेको बैठकमा महिलालाई नै माविको अध्यक्ष सिफारिस गर्ने सहमति ‘अरू नै कारण’ले भएको बताए। तर, उनले त्यो कारण चाहिँ खुलाएनन्। २८ गतेको बैठकमा निर्णय भइनसकेको र छलफलक्रममै रहेको विषय सार्वजनिक भएको उनले बताए। ‘निजी विद्यालयको कार्यकारी पदमा रहेको मान्छेलाई सामुदायिक विद्यालयको अध्यक्षमा सिफारिस नगर्ने कार्यपालिका बैठकमा छलफल भएको थियो,’ उनले भने, ‘वडाको बैठक एकलौटी भएको होइन, उहाँहरू (वडा सदस्यद्वय राई र क्षेत्री) पनि आउनुभएको थियो तर बैठकमा बस्नुभएन।’  

वडाध्यक्ष श्रेष्ठले नगरमा पठाएको सिफारिसपत्रमा भदौ १ गतेको बैठकको निर्णय समावेश गर्न बाँकी रहेको बताए। ‘निर्णयको प्रतिलिपि चाहिँ नगर कार्यपालिका बैठककै दिन बुझाउनेछौं,’ वडाध्यक्ष श्रेष्ठले भने। कार्यपालिका बैठक आउँदो ७ गते बस्दैछ।  

गत साउन ७ गते पनि वडा समितिको बैठकले दुवै विद्यालयका वर्तमान अध्यक्षहरूलाई नै निरन्तरता दिनेगरी सिफारिस गर्ने निर्णय गरेको थियो। त्यो निर्णयमा पनि वडासदस्यद्वय राई र क्षेत्रीले फरक मत राखेका थिए। तर, दुवै विद्यालयको अध्यक्षमा पुरुषलाई नै सिफारिस गर्ने निर्णय भएपछि नगरको शिक्षा ऐन संशोधन भयो। संशोधनपछि नगरले वडालाई पत्र लेखेर ऐनअनुसार सिफारिस गर्न भनेको थियो। नगरको पत्र आएपछि वडा समितिले माविको अध्यक्षमा चाहिँ महिलालाई सिफारिस गर्ने निर्णय गरेको थियो।  

नगरको शिक्षा ऐनअनुसार वडा समितिले सिफारिस गरेका ३ जनामध्ये कार्यपालिका बैठकले १ जनालाई अध्यक्ष मनोनित गर्छ।

प्रकाशित: २ भाद्र २०७८ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App