२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

२० जना इन्जिनियरहरु 'प्रोफेसनल इन्जिनियरिङ अवार्ड'बाट सम्मानित

इन्जिनियरिङ क्षेत्रको विशिष्ट मानिने 'प्रोफेसनल इन्जिनियरिङ अवार्ड'बाट २० जना इन्जिनियरहरु सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस अवार्डबाट नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, सोही कलेजकी एसोसिएट प्रोफेसर तुसिता चाँदनी शाही, पदमबहादुर शाही र खेमराज शर्मासहित चार जनाले पाएका हुन्।  

अवार्ड पाउने अन्य इन्जिनियरहरुमा सरोजकुमार उपाध्याय, अनन्त आचार्य, इन्द्रलाल प्रधान, मनोहर श्रेष्ठ, रामप्रसाद धिताल, इन्दु शर्मा ढकाल, जयराम भट्टराई छन्। यसैगरी हरिप्रसाद ढकाल, रामकुमार लम्साल, उमेश झा, हरिओम श्रीवास्तव, प्रेमकुमार श्रीवास्तव, विन्देश्वरप्रसाद शाह, भरतराज पहारी, पदमप्रसाद पोखरेल र रुपक राजभण्डारीले पनि उक्त अवार्ड पाएका छन्।  

नेपाल इन्जिनियरिङ काउन्सिलले उक्त अवार्ड दिने गर्दछ। काउन्सिलले हालसम्म तीन पटक यो अवार्ड दिएको छ। तीन पटक गरी हालसम्म जम्मा ६१ जनालाई उक्त अवार्ड दिइसकेको छ।  

इन्जिनियरिङ विधामा ब्याचलर, मास्टर्स गरेर २० वर्षसम्म अनुभव भएकाहरुले यो सर्टिफिकेटका लागि आवेदन दिन सक्छन्। त्यसपछि काउन्सिलले कार्याविधि अनुसार उनीहरुको परीक्षा लिन्छ। त्यसमा उत्तिर्ण भएकालाई मात्र यो सर्टिफिकेट दिइन्छ। नेपाल इन्जिनियरिङ काउन्सिलले प्रदान गर्ने प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको छ। यसका लागि आइसी यूकेको अवधारणा अनुसार यसको परीक्षा हुन्छ।  

प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट प्राप्त गरेपछि स्वदेश तथा विदेशका ठूला प्रोजेक्टहरुमा काम गर्न सहज हुनेछ। साथै प्रोफेसनल इन्जिनियरले बनाएका ड्रइङ डिजाइनहरुले अन्तर्राष्ट्रिय मान्यता पाउने अवसर हुन्छ। साथै यो उपाधि पाउने इन्जिनियरहरुका लागि अन्तर्राष्ट्रियस्तरमा निश्चित अधिकार पनि सुनिश्चित गरिएको छ।

काउन्सिलको कार्यालयमा आयोजित अवार्ड समारोहमा यूकेको सिभिल इन्जिनियरहरुको संस्था इन्टिच्युट अफ इन्जिनियर्स (आइसी) यूकेका प्रतिनिधि प्रोफेसर भरतराज पाण्डेको प्रमुख आतिथ्यतामा काउन्सिलका प्रमुख डिल्लीरमण रेग्मी, रजिष्ट्रार इ. शिवमंगल गिरीले संयुक्त रुपमा अवार्ड वितरण गरिएको थियो।  

काउन्सिलको बोर्ड बैठकले प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेटको परीक्षा गर्ने निर्णय पास गरेर मात्रै यसको परीक्षा लिने गरेकोमा ‘ए, वि र सी’ तहको सर्टिफिकेट प्रदान गर्ने छ। ‘ए’ तहको सर्टिफिकेट प्राप्त गर्न २० वर्ष कार्यानुभव चाहिन्छ। ‘वी’ भनेको विदेशीहरुका लागि हो। ‘सी’ ब्याचलर गरी ४ वर्ष कार्यानुभव भएकाले लिन सक्नेछन्। काउन्सिलले अहिलेसम्म ‘ए’ तहको मात्र परीक्षा सञ्चालन गरेको छ।

प्रकाशित: १ भाद्र २०७८ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App