४ वैशाख २०८१ मंगलबार
शिक्षा

अस्थायी शिक्षक र विद्यालयका कर्मचारीलाई उपदान दिँदै पाणिनी गाउँपालिका

तस्बिरः उपदान बापतको चेक हस्तान्तरण गर्दै अध्यक्ष अच्युत गौतम ।

पाणिनी गाउँपालिका–२ पोखराथोकस्थित हरिहर संस्कृत तथा साधारण मावीमा झन्डै ३५ वर्ष सेवा गरेका लोकहरी गौतमलाई पालिकाले उपदान स्वरुप एक लाख ७४ हजार आठ सय ५७ रुपैयाँको चेक र फूलमाला लगाएर बिदाई गर्‍यो।  

३४ वर्ष ११ महिना २३ दिन विद्यालयमा सेवा दिएका गौतमले उर्जाशिल समय विद्यालयमा समर्पित गरि अवकास पाएका हुन्। अस्थायी रुपमा अध्यापन गराएर अवकास हुँदा रित्तो हात घर जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै पालिकाले प्रोत्साहन गरेपछि उनी दंग देखिन्थे। ‘स्थानीय सरकारले सहारा दिएको छ, खुसी हुँदै लोकहरीले भने,‘झन्डै ३५ वर्ष सेवा गरेको उपहार पाएको छु। धन्यवाद छ गाउँपालिकालाई।’

पाणिनी गाउँपालिकाले न्यूनतम पारिश्रमिक भएका अस्थाई शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई राहतकोषको व्यवस्था गरेको छ। अस्थायी शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास) कोष स्थापना गरी पारिश्रमिक कम भएका शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप उपदानको व्यवस्था गरेको हो।  

न्यूनतम पारिश्रमिकमा उर्जाशिल समय सेवा दिएका शिक्षक तथा विद्यालय कर्मचारीहरु अवकास हुँदा खाली हात नहुने भएका हुन्। संघीय र प्रदेश सरकारले कुनै प्रोत्साहनको व्यवस्था नगरेपनि स्थानीय सरकारले उपदानको व्यवस्था गरेपछि अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरु खुसी भएका छन्। सेवा गरेको अवधिका आधारमा सम्मान स्वरुप उपदान दिइने व्यवस्था गरिएको पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए।  

गाउँ कार्यपालिकाबाट २०७७ माघ २१ गते शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास) कोष स्थापना तथा संचालन कार्यविधि–२०७७ बमोजिम पालिकाले उपदानको व्यवस्था गरेको हो। गाउँपालिकाले कार्यविधि बनाएर सम्भवतः देशमै नमुनाको रुपमा अस्थायी शिक्षक र विद्यालय कर्मचारीहरुलाई कोष स्थापना गरी सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए।  

जिवनभर न्यूनतम पारिश्रमिकमा सेवा दिएका तर पेन्सन स्वरुप केही व्यवस्था नहुँदा उनीहरुले विभेद भएको महसुस गर्छन्। यस्ता शिक्षक र कर्मचारीहरुलाई सामाजिक तथा आर्थिक रुपमा सुरक्षा गर्नुपर्ने दायित्व नेपाल सरकारले नलिने भएकाले यसको सुरुआत पालिकाले गरेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०७८ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App