२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

स्थानीय पाठ्यक्रमका लेखकहरूसँग छलफल

स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनले नयाँं पुस्तामा स्थानीय जानकारी पाई त्यसको महत्व बुझाउन सफल भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री ख्वपको पहिचान भाग २ का लेखकहरूसँग बुधबार गरेको छलफल कार्यक्रममा सहभागी लेखकहरुले यसले दुनियाँंको कुरा थाहा हुने तर आफनै टोल छिमेककाबारेमा थाहा नुहने परिपाटीको अन्त्य हुने विश्वास व्यक्त गरे।  

स्थानीय जानकारी दिन भक्तपुर नगरपालिकाले नेपालमै पहिलो पटक देशभरिकै नगरपालिकामध्ये स्थानीय पाठ्यक्रम पढाउनु सुरु गरेको थियो। स्थानीय पाठ्यक्रम पढाउने शिक्षकको सहयोगका लागि नगरपालिकाले दोश्रो ख्वपको पहिचान (भक्तपुरको पहिचान) नामक पुस्तक प्रकाशन गरेको हो।  

सम्पदाप्रेमी रबिन्द्र पुरीले स्थानीय पाठ्यक्रमले भक्तपुरको मूर्त अमूर्त सम्पदा उजागर गर्न जोड दिएको बताए। उनले देशको शिक्षा नीति सुधार्न तथा भक्तपुरको पहिचान दिलाउन पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे।

लेखक लक्ष्मीभक्त बासुकलाले विद्यार्थीहरुमा स्थानीय विषयवस्तुको महत्व धेरै भएको बताउँदै स्थानीय खेलले बालबालिकाको मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने बताए। लेखिका सुुनिता गाइसीले स्थानीय पाठ्यक्रम आफैमा महत्वपूर्ण विषय भएको र भक्तपुर नपाको अगुवाईमा प्रकाशित यस पुस्तक निकै पठनीय र संग्रहनीय भएको बताइन्।

लेखक विश्वमोहन जोशीले आफ्नो क्षेत्रको संस्कृति थाहा नहुनु भनेको आफ्नो आत्मगौरव गुमाउनुसरह भएको बताउँदै इतिहास, भूगोल तथा संस्कृति पढ्ने विद्यार्थीहरु झन्झन् कम हुँदै गएको समयमा भक्तपुर नपाले ती विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु प्रशंसनीय भएको बताए।

लेखक रत्नसुन्दर शाक्यले पाठ्यक्रममा समाविष्ट विभिन्न व्यक्तित्वहरुको जीवनीबारे नयाँ पुस्ताले पढ्ने अवसर पाउनु सुखद पक्ष रहेको बताए। उनले भक्तपुरको पहिचान दिलाउन यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे।

लेखक सुवेगमान बिजुक्छेँले विद्यार्थीहरुसँग स्थानीय कला, संस्कृति, परम्परालगायतका विषयमा निकै कम जानकारी भएको हुँदा विद्यालयस्तरदेखि नै पाठ्यक्रम लागू गरी सीपमूलक ज्ञान प्रदान गर्ने नगरपालिकाको प्रयास निकै स्वागतयोग्य भएको बताए।

लेखक महेन्द्रगोपाल कर्माचार्य र गौरीबहादुर कार्कीले नगरपालिकाद्वारा प्रकाशित पाठ्यक्रमले विज्ञानलाई पनि सँगसँगै लाने प्रयास गरेको, स्थानीय पाठ्यक्रम पढाउने शिक्षकहरूलाई उत्प्ररणा दिँदै लानुपर्ने, भक्तपुरका गौरवका कारण नयाँ पुस्तालाई जानकारी दिनुपर्नेलगायतमा जोड दिए।  

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले ख्वपको पहिचानमा अमूल्य लेखहरू लेखी सहयोग गर्ने सम्पूर्ण लेखक तथा पाठ्यक्रम निर्माण कार्यदलप्रति धन्यवाद दिए।  

कला संस्कृतिको नगर भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, सम्पदा, स्थानीय खेलकुद तथा विभिन्न व्यक्तित्वहरूको जीवनीबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नगरपालिकाले ख्वपको पहिचान पुस्तक प्रकाशनमा ल्याएको प्रमुख प्रजापतिले बताए।  

पुस्तकको अर्को भाग प्रकाशनको तयारीमा नगरपालिका जुटेको अवगत गराउँदै नगर प्रमुख प्रजापतिले जनताको साथ र सहयोगले नगरपालिकालाई काम गर्न सजिलो बनाएको र ख्वपको पहिचान भक्तपुरबासीहरूको निम्ति अमूल्य सम्पत्तिको रुपमा रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले नगरपालिकाको आग्रहमा खोजमूलक लेख तयार गर्न सहयोगी भूमिका खेल्ने सबै लेखकहरूप्रति आभार प्रकट गर्दै स्थानीय पाठ्यक्रमबारे देखिएको भ्रमलाई चिर्न पुस्तकले भूमिका खेलेको बताए।

प्रकाशित: ३० असार २०७८ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App