२३ वैशाख २०८३ बुधबार
image/svg+xml
शिक्षा

होल्डिङ सेन्टरका ५२ जना बालबालिका विद्यालय जान थाले

राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका मंगलबारदेखि विद्यालय जान थालेका छन् ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि मंगलबारदेखि वडा नं १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पठाउन लागिएको कामपाका शिक्षा अधिकारी नमराज ढकालले बताए।  

नदीकिनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले आश्रममा छन्। उनीहरुमध्ये अपाङ्गता भएका एक जनासहित ६२ पुरुष, तीन सुत्केरी, दुई गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक छन्।  

यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरका छन्। चार जनाले यस वर्ष एसइई दिएका छन् । उनीहरु कम्प्युटर, सिलाइबुनाइजस्ता सीप सिक्न चाहन्छन् । कामपाले उनीहरूले चाहेको सीपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको ढकालले जानकारी दिए।  

विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राखेका उनले जानकारी दिए । कामपा शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरूमा ११ छात्रा र १९ छात्र छन्। सुवेदीका अनुसार विद्यार्थीलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्रीसम्बन्धी आवश्कयतासमेत माग गरिएको छ ।  

छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि हामीले प्याब्सन, एनप्याब्सन र हिसानमार्फत कामपाले अनुरोध समेत गरिसकेको छ ।  कामपाका  निर्देशक वसन्त आचार्यले १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्राबासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि त्यही अनुरूप व्यवस्थापनको प्रयास गरिरहेको बताए । निजी तथा संस्थागत विद्यालयबाट खबर प्राप्त भएपछि इच्छुक र योग्य बालबालिकालाई छात्राबास पठाउने उनले जानकारी दिए ।  

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन्। 

प्रकाशित: २२ वैशाख २०८३ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App