८ वैशाख २०८१ शनिबार
शिक्षा

कोन्ज्योसोमको प्राथमिकतामा सडक र शिक्षा

पालिका

अग्लो डाँडैमा उभिएको भव्य भवनमा फहराइरहेको छ नेपालको झन्डा। सफा, सुग्घर कोठा, मेच र सोफाले सजिएका छन्। बाहिरपट्टि डिजिटल डिस्प्ले, नागरिक बडापत्र र कार्यालयले प्रदान गर्ने सेवा सुविधाबारे लेखिएका रंगीन बोर्डहरू टाँगिएका छन्। यो कुनै निजी कम्पनीको कार्यालय होइन, ललितपुर चौघरेस्थित दुर्गम स्थानको गाउँपालिका कोन्ज्योसोममा हो । कुनै ताका टहरोमुनिबाट स्थानीयलाई सेवा प्रवाह गरेको यस गाउँपालिकाको अहिले आफ्नै नयाँ भवन बनेको छ।  

भवन बन्नुअघि कोन्ज्योसोम क्षेत्रका जनप्रतिनिधिलाई सेवा प्रवाह गर्न निकै कठिन भयो। झोलामै कार्यालय बोकेरै भए पनि स्थानीयलाई सेवा दिनुपर्ने बाध्यता थियो। तर अहिले उक्त बाध्यता र कठिनता हटेको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिन्ताङले जानकारी दिए। उनी भवन बनेपछि सेवा प्रवाहमा सहज भएको बताउँछन्। ‘भवन बनेपछि सेवा प्रवाह गर्न सजिलो मात्रै भएको छैन सेवाग्राहीले छिटो छरितो सरकारी सेवा लिन पाएका छन् । स्थानीय सरकारको महसुस गर्न सकेका छन्,’ उनले भने।  पालिकाले भवन बनाए पछि सेवा प्रवाहमा सहजता थपिएको हो । ‘भवन नहुँदा निकै दुःख पाएर सेवा प्रवाह गरियो, पहिलेको कार्यालय निकै दयनीय अवस्थामा थियो,’ उनी भन्छन्, ‘अहिले हामीले केन्द्र र प्रदेश सरकारसँग हार गुहार गरेर व्यवस्थित भवन बनाएका छौं ।’  

उनले जनप्रतिनिधिले अव्यवस्थित र साघुँरो  कोठामा बसेर सेवा प्रवाह चुस्त नभए पनि भवन बनेपछि भने सजिलो र छिटो भएको दाबी गरे । ‘राम्रो सेवा प्रवाह गर्नका लागि राम्रो ठाउँ पनि चाहिन्थ्यो, हामीले घरमै पुगेर पनि स्थानीयलाई सेवा दियौं,’ अध्यक्ष सिन्ताङ भन्छन्, ‘भवन बनेपछि सेवा प्रवाह गर्न निकै सहजता भएको छ।’  

उनका अनुसार गाउँपालिकाको कार्यालयमा कोरोना भाइरससम्बन्धी सतर्कता पनि अपनाइएको छ । संक्रमण बढिरहेका बेला कार्यालय परिसरमा कोभिडको सचेतना दिने पर्चाहरू टाँसिएको छ । कर्मचारीले कामकाजमा ढिलाई गर्लान् भनेर सबै कार्यहरू प्रविधियुक्त (डिजिटलाइज) गरिएको छ । जसमा कर्मचारीले दिनभरि गरेका काम कारबाहीको रेकर्ड हेर्न मिल्छ।  

गाउँपालिकाको यो भवन ४ करोड ३२ लाख रुपैयाँ लागतमा बनेको हो । प्रदेश विशेष अनुदानस्वरूप जिल्ला समन्वय समितिबाट बजेट प्राप्त भएपछि दुईतले भवन तयार भएको थियो । सहरका स्थानीय तहले साघुँरो कोठाबाट सेवा प्रवाह गरिरहेका बेला गाउँका स्थानीय तहले भने फराकिलो भवनबाट स्तरीय सेवा प्रवाहमा जोड दिन थालेपछि स्थानीयवासी खुसी छन्। यसअघि सरकारी कार्यालय निकै जीर्ण रहेको उनीहरूको भनाइ छ। ‘पहिले पहिले कार्यालय निकै साँघुरो थियो, जस्तापातामुसनि कुर्सी राखेर कर्मचारीले काम गरेका थिए,’ मानिखेलका स्थानीय श्याम लामा भन्छन्, ‘अहिले कोन्ज्योसोम गाउँपालिकाको भवन निकै व्यवस्थित बनेको छ, त्यहाँ गएर कुनै सेवा लिँदा कुर्नु परेको छैन ।’ अर्का स्थानीय बुद्ध लामाले स्थानीय सरकारले पछिल्लो समय सार्वजनिक सरोकारका विषयमा सहज सेवा प्रवाह गरेको बताउँछन्। उनी भन्छन्, ‘गाउँपालिकाका जाँदा बस्ने ठाउँ पनि हुन्नथ्यो, सबैतिर भीडमात्रै हुन्थ्यो, कर्मचारीहरूले बढी दुःख दिन्थे, अहिले थप व्यववस्थित भएको छ।’

भवन बनेपछि कार्यालयले सबै शाखा छुट्याएर सेवा प्रवाह भइरहेको छ। शिक्षा, कृषि, पशु, प्राविधिक, आयुर्वेदिक, महिला तथा बालबालिका, लेखा प्रशासन शाखा, आइटी–सूचना, गुनासोलगायत शाखा छुट्याइएको छ। कार्यालयमा ५३ जना स्थायी कर्मचारी र ४० जना करारका कर्मचारी रहेको अध्यक्ष सिन्ताङ बताउँछन्।  

उनका अनुसार कोरोना संक्रमणका बेला कार्यालयमा दुरी कायम गर्न सकिने अवस्था भएको छ। यसअघि साधुँरो भवनमा छँदा सेवाग्राहि ओत लाग्ने समेत ठाउँ थिएन भने कर्मचारी पनि कोचाकोच बसेका थिए। भवन बनेपछि सेवा दिन र लिन सजिलो छ। नयाँ भवन कोन्ज्योसोम गाउँपालिकाका सबै गाउँको केन्द्रमा पर्छ। कोन्ज्योसोम गाउँपालिकाअन्तर्गत सबै वडा कार्यालयको आफ्नै भवन बनिसकेको छ।

सरकारी निकायले निजी भवनबाट सेवा प्रवाह गर्दा स्थानीयलाई सेवा लिन सहज भएको छ। वाग्मती प्रदेश सांसद लालकुमारी पुनले प्रदेश सरकारको सहयोगमा ग्रामीण क्षेत्रका स्थानीय तहका संरचना बलियो बनाइएको बताउँछिन्। उनी भन्छिन्, ‘दक्षिण लतितपुर बत्तीमुनिको अँध्यारो झै छ, स्थानीय सरकार बनेपछि भने स्थानीयको जीवनमा प्रत्यक्ष सरोकार राख्ने आधारभूत विषयमा परिवर्तन आएका छ ।’ उनका अनुसार प्रदेश सरकारले दक्षिण ललितपुर क्षेत्रमा सडक, खानेपानी र स्वास्थ्यको राम्रो व्यवस्था गर्नको लागि थप बजेट विनियोजन पनि गरेको छ।  

कोन्ज्योसोम गाउँपालिकामा झन्डै २६ हजार जनसंख्या रहेको छ। छरिएका बस्तीहरू रहेको यस क्षेत्रमा फराकिलो भवन बनेपछि विकट क्षेत्रमा पनि सरकारी सेवा लिन सहज भएको छ। यो गाउाँपालिका पुग्न ललितपुरको सातदोबाटोबाट झन्डै ३ घण्टा लाग्छ। सुगम जिल्ला भनेर चिनिने ललितपुरमा कोन्ज्योसोमजस्तै विकट र दुर्गम अन्य गाउँपालिका पनि छन्। वाग्मती गाउँपालिका र महांकाल गाउँपालिकाको पनि आफ्नै भवन निर्माणाधीन अवस्थामा रहेको छ । भट्टेडाँडामा नयाँ भवन बन्दै छ। तर, सामान्य सुविधा पुगेपनि गाउँपालिकाहरूको विकटता र भौगोलिक अवस्था हेर्दा कर्णाली झै छ। अझै पनि गाउँ गाउँमा पुग्न राम्रो बाटो बनेको छैन। 

खानेपानी शिक्षा, स्वास्थ्यको हिसाबले पनि दक्षिण ललितपुर हेपिएको छ। वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन भाडाको कार्यालयबाट सेवा प्रवाह गरे पनि पालिकाको आफ्नै भवन निर्माण कार्य सकिन लागेको बताउँछन्। उनका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट भवन निर्माण गर्न लागिएको हो। ‘अरूको भवनबाट सेवा प्रवाह गर्न त्यति सजिलो छैन, एक त पुग्दो ठाउँ हुँदैन,’ उनी भन्छन्, ‘भाडामा लिएर कार्यालय चलाउँदा भाडाशुल्क पनि तिर्नु परेको छ, उक्त भाडा तिर्ने रकमले बरु अन्य विकासका काम गर्न सकिन्छ।’

प्रकाशित: ८ वैशाख २०७८ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App