coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

मावि हाक्ने 'कान्छो प्रधानाध्यापक'

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने कल्पनासम्म थिएन । अहिले कहिल्यै पनि कल्पना नगरेको प्रधानाध्यापक बनेका छन् । उनले भने,'सानो उमेरमै प्रधानाध्यापकको जिम्मेवारी पाउँदा चुनौति र अवसर दुबै अनुभूति भइरहेको छ ।'

धनबहादुर २०४६ सालमा जुम्लाको घोडेमहादेव गाविसको घोडेगाउँमा जन्मिए । २०५० सालमा सिंगो परिवार नै सुर्खेत दशरथपुरमा बसाई सरेको थियो । उनी प्रावि तहको शिक्षा दशरथपुर स्थित जनप्रिय प्रावि बेहोरेमा हासिल गरे । निकै तिक्ष्ण बिवेक भएका उनी शिक्षकको नजिक हुन्थे । जीवन ज्योति मावि दसरथपुरमा माध्यमिक शिक्षा आर्जन गरेका उनले जन मावि वीरेन्द्रनगर सुर्खेतबाट अंग्रेजी मुल विषय लिएर उच्च शिक्षा हासिल गरे ।  

अंग्रेजी विषय निकै रुचिकर भएकोले रोजाइ पनि अंग्रेजी विषय नै पढे । शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक गरे । स्नातक पढ्दै गर्दा  २०६८ मा सुर्खेत स्थित एक निजी विद्यालयमा अध्यापन गर्न थाले । यो शिक्षण पेशाको सुरुवाती चरण थियो । निजी विद्यालयमा पढाउदै उनले स्नातकोत्तरको अध्ययनको लागि त्रिभुवन विश्वविद्यालय काठमाण्डौँमा भर्ना भए ।  

अंग्रेजी विषय पढ्दै गर्दा आफूले माध्यमिक शिक्षा हासिल गरेको जीवन ज्योति माविमा शिक्षक भए । निजी स्रोतबाट तलब पाउने गरि पढाउन थाले । यता विद्यार्थी पढ्ने उता स्नातकोत्तर पढ्दै अघि बढे । दुई वर्ष त्यो विद्यालयमा पढाएपछि स्नातकोत्तरको पढाई पनि सकियो ।  

२०७३ जेठ महिनामा धनबहादुर आफू जन्मिएको जुम्ला घोडे गाउँमा रहेको जनजागृति माविमा मावि तहको राहत शिक्षकका रुपमा नियुक्त भए । पहिलो पटक जन्म थलोका बालबालिका पढाउन पाउँदा निकै उत्साहित थिए । हरेक हिसावले दुर्गम मानिएको त्यो क्षेत्रको शैक्षिक अवस्था पनि निकै पछि परेको थियो । उनी यहाँका बालबालिका र अभिभावकलाई ज्ञानको ज्योति फैलाउन थाले । २०७५ सालमा तत्कालिन मध्यपश्चिम विद्यालयबाट खोलिएको शिक्षक सेवा आयोगबाट तीन नम्बरमा नाम निकाल्न सफल भए । हिमशिखर मावि तातोपानीमा नियुक्ति लिए ।  

उनको लगाव, मेहनत, इमान्दारीता, अनुशासन, योग्यता, दक्षता भएकोले शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक बनायो । त्यो उनको लागि निकै ठूलो अवसर थियो ।

उनले भने,'सानो उमेददेखि नै शिक्षक देखि प्रभावित हुन्थे । प्रावि पढ्दा प्राविको शिक्षक, मावि पढ्दा माविको र उच्च मावि पढ्दा उच्च माविको शिक्षक बन्न पाइदिएको भए हुन्थ्यो लागि रहन्थ्यो । बालबालिकालाई शिक्षाको ज्योति छर्नुपर्छ भन्ने मनभित्रैबाट आउथ्यो ।' उनले निजमति कर्मचारी तीर जाने कहिल्यै प्रयत्न गरेनन । रोजगारी संगै शिक्षा क्षेत्रमा सेवा गर्ने अठोट गरे । प्लस टु को शिक्षण क्रियाकलापमा उनले सबै विषय पढाउने गर्थे ।  

यति कम उमेरमा प्रधानाध्यापकको जिम्मेवारी पाउनु अवसर र चुनौति दुवै हो ठानेको छु, उनले थपे,“तर निकै उत्साहित छु । योग्यता क्षमता र दक्षता प्रदर्शन गर्ने थलोमा छु । प्रभावकारी समन्वय सहकार्य गरेर विद्यालयलाई नमुना बनाउने प्रतिज्ञा गरेको छु ।”

दरबन्दी अनुसारका शिक्षक छदैछन् । जिम्मेवारी लिएर मात्रै शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न सकिन्छ भन्ने धारणा उनको छ । गुणस्तरीय शिक्षा कसरी दिने र वित्तिय अनुशासन कसरी कायम गर्ने चुनौति उनी सामु छ । शिक्षक आचारसंहिताको पालना भइरहेको छ । विज्ञान र प्रविधिको विकास संगै डिजिटल प्रणालीमा जाने प्रयत्न भइरहेको छ ।  

प्रधानाध्यापक रोकायाले भने,'विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन तयार छौँ । पहिलो सिकाइको केन्द्र विद्यार्थीलाई बनाइनेछ ।' अब यो विद्यालयमा भर्नादेखि क्यारेक्टर लिनेसम्मको कारोवार बैंकबाटै गर्ने तयारी भइरहेको छ । विद्यार्थी, शिक्षक, अभिभावक, समिति र शिक्षकसंग प्रभावकारी समन्वय गर्ने गाउँपालिका र शिक्षा विकास समन्वय इकाइको परिपत्र निरन्तर कार्यन्वयन गर्दै नमुना विद्यालय बनाउने उनले बताए ।

विद्यालयलाई बालमैत्री, छात्रामैत्री र लैगिंक हिंसा रहित बनाउन लागि परेको उनले बताए । विद्यालयमा गुनासो पेटि राख्ने, खानेपानी समस्या निवारणका लागि पहल भइरहेको छ । विद्यालय शान्ति क्षेत्र भएकोले राजनीति गर्न विद्यालयमा दिइने छैन । विद्यालय कसरी नमुना बनाउने र सबै संगको समन्वयलाई सन्तुलन कसरी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । अन्तर माध्यमिक विद्यालयका राम्रा अभ्यास विद्यालयमा कार्यन्वयन गर्ने र आफ्नो विद्यालयमा भएका क्रियाकलाप एकआपसमा आदानप्रदान गर्ने बातावरण बनाउने,आफ्नो क्षमता र दक्षताको भरपुर प्रयोग गर्ने देखि साचिक्कै विद्यालय विद्या आर्जन गर्ने थलो हो भन्ने प्रमाणित गर्न चाहेको बताए ।  

विद्यालयमा अहिले पाँच सय विद्यार्थी छन् , कक्षा ६ देखि प्लस टु सम्मको पढाइ हुने गरेको छ । शिक्षा क्षेत्रको नेतृत्व पछिल्लो पुस्ताले लिएपछि अब हेरक हिसावमा विद्यालयको मुहार फेरिने अपेक्षा गरिएको छ ।

प्रकाशित: ७ चैत्र २०७७ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App