२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अक्षर चिन्ने मुगाली महिलाको धोको

फाइल तस्बिर

चन्दननाथ–५ की मिनजंग तामाङ भर्खर अक्षर सिक्दै छिन्। साक्षर नहुँदा हरहिसाब गर्न नसकेर समस्या भएको र दुःखी भएकी उनी कखरा सिक्न थालेकी हुन्। ‘घरपरिवारमा कारोबार भइरहने तर हिसाबकिताब मिलाउन नसक्दा निकै पछुतो लाग्यो। सामाजिक कार्य गर्दादेखि सामान्य लेखपढ गर्न नजान्दा सबैले हेपे,’ उनले भनिन्, ‘सामान्य लेखपढ त जान्नुपर्ने रहेछ।

निरक्षर मान्छेको कतै काम हुंदोरहेनछ। अब मेहनत गरेर अक्षर चिन्ने प्रयास गर्दै छु। यो अभ्यासले केही नभए पनि पूर्ण बनाउनेछ।’ चन्दननाथ नगरपालिकाले मुगाली समुदायमा साक्षरता कक्षा सञ्चालन गरेपछि मुगाली महिलाको अक्षर चिन्ने धोको पूरा हुने भएको छ। सदरमुकामभित्र मुगाली बस्ती छ। अधिकतर मुगाली महिला निरक्षर थिए। 

अब नगरपालिकाले थालेको यो अभियानले निकै राहत मिल्ने भएको छ। चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा पहिलो चरणको साक्षरता कक्षा सुरु गरेको हो। स्थानीय छिरिङ लामा तामाङले नगरपालिकाले निरक्षर महिलालाई साक्षर बनाउन थालिएको अभियान सकारात्मक भएको बताइन्। 

उनले भनिन्, ‘मुगाली समुदायमा निरक्षर संख्या बढी छ। यो साक्षरता कार्यक्रमले निकै राहत मिल्नेछ। यो अभियानबाट महिलाहरू अक्षर चिन्न थाल्नेछन्। सामान्य हिसाबकिताब राख्न सक्नेछन्।’ चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख अप्सरादेवी न्यौपाने अहिलेको समयमा यति धेरै निरक्षर व्यक्ति देख्दा अचम्म लागेको बताउँछिन्। 

उनले भनिन्, ‘सदरमुकामभित्रका नागरिक यति धेरै निरक्षर छन् भन्ने कल्पनासम्म गरिएको थिएन। तर निरक्षर संख्या धेरै रहेछ। अब यहाँका निरक्षर नागरिकलाई साक्षर बनाउने कार्यक्रमलाई प्रभावकारी बनाइनेछ।’ तपाईंहरू राम्रोसित पढ्नुहोस्, साक्षर हुनुहोस्, राजनीतिकलगायत हरेक क्षेत्रमा सहभागिता जनाउनुस्। यो नै महत्वपूर्ण उपलब्धि हुनेछ। उपप्रमुख न्यौपानेले भनिन्, ‘नगरपालिकाबाट हुने सहयोगमा कन्जुस्याइँ हुनेछैन।’

साक्षरताका लागि नगरपालिकाले चालु आवमा १० लाख रूपैयाँ बजेट व्यवस्था गरेको छ। नगरपालिका शिक्षा शाखाप्रमुख खडानन्द चौलागाईंले नगरक्षेत्रमा विकास क्रमको गतिसँगै शिक्षाको विकास हुन नसकेको प्रति दुःख पोखे। उनले भने, ‘अब मुगाली बस्तीका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई साक्षर बनाउन नगरपालिकाले महत्वपूर्ण भूमिका निभाउनेछ।’  

‘नगरपालिका–१, ३, ५ र ६ का जनजाति मुगाली महिला अहिले पनि धेरै निरक्षर भएको पाइयो,’ उनले थपे, ‘अब साक्षर बनाउँछौं।’ नगरपालिकाले जनजाति साक्षरता पुस्तकसमेत तयार पारेको छ। साक्षरता कक्ष सुरु भएपछि महिलाको भिड लागेको छ। अहिले दुईवटा कक्षा सुरु भएको छ। एउटा कक्ष थप्ने तयारी भइरहेको छ। यो साक्षरता कक्षा तीन महिनासम्म चल्नेछ।  

नगरपालिकाभित्र मुगाली समुदायका ९० घर छन्। अधिकतम महिला र पुरुष निरक्षर छन्। यी सबैलाई साक्षर बनाउने उद्देश्य रहेको मुगाली महिला अगुवा छिरिङ लामा बताउँछिन्। अहिले पहिलो चरणमा ५० जनाको कोटा थियो। तर ८० महिला पढ्न आउँछन्। शिक्षाप्रति चासो राख्ने निरक्षर महिलाको संख्या बढ्न सक्ने सो नगरपालिकाले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७७ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App