१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

१२ को परीक्षाफल प्रकाशितः ४७ जनाको ४ जिपिए

कक्षा १२ को परीक्षामा ४७ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। गत वर्ष कक्षा ११ को नियमित परीक्षामा कुल तीन लाख १० हजार तीन सय १६ विद्यार्थीमध्ये कसैले पनि जिपिए ४ ल्याएका थिएनन्। तर यस पटक होमसेन्टर कायम गरिएपछि कक्षा १२ मा पहिलो पटक ४७ जनाले जिपिए ४ ल्याएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ।

गत वैशाख ८ गते नै सुरु हुनुपर्ने परीक्षा कोभिडका कारण मंसिर २९ गते सुरु भई १६ गते सकिएको थियो। होमसेन्टरबाटै ४० प्रतिशतको सञ्चालित लिखित परीक्षामा नियमिततर्फ कुल तीन लाख १० हजार तीन सय १६ ले परीक्षा दिएका थिए भने आंशिकतर्फ ३१ हजार ५५ गरी कुल चार लाख ३३ हजार २ सय ७१ ले परीक्षा दिएका थिए। ‘यही ब्याचले कक्षा ११ मा कोरोनाअघि लिएको परीक्षामा कसैले पनि जिपिए ४ ल्याउन सकेका थिएनन् तर त्यही ब्याचका ४७ जनाले कक्षा १२ मा जिपिए ४ ल्याएका छन्,’ नियन्त्रक शर्माले नागरिकसँग भने, ‘विगतमा कक्षा १२ का परीक्षामा पनि जिपिए ४ ल्याउनेहरू एक/दुई मात्र हुन्थे।’ उनले थपे, ‘यस पटक कोरोनाका कारण ४० प्रतिशत मात्र लिखित परीक्षा भयो भने ४० प्रतिशत कक्षा ११ को मूल्यांकन गरियो र २० प्रतिशत कक्षा १२ को आन्तरिक परीक्षाको मूल्यांकन जोडिएर सय प्रतिशतको नतिजा प्रकाशित भएको हो।’

यसैगरी बोर्डले प्रकाशित गरेको नतिजामा माथिल्लो जिपिए प्राप्त गर्नेहरूको संख्या नयून छ भने तल्लो जिपिए ल्याउनेहरूको संख्या बढी छ। जिपिए ३.६१ देखि ४ जिपिए ल्याउनेहरू ६ हजार ९ सय १६ छन्। यो कुल विद्यार्थीको २.२२ प्रतिशत मात्र हो। यसैगरी जिपिए २.४१ देखि २.८० ल्याउनेको संख्या १ लाख ९३ हजार १२ रहेको छ। अर्थात् कुल विद्यार्थीमध्ये कमजोर जिपिएमै ३५ प्रतिशत विद्यार्थी छन्।  

यसैगरी अनिवार्य अंग्रेजीमा ०.१७३ प्रतिशत अर्थात् ए प्लस ल्याउनेहरू ६ सय ३७ जना मात्र छन्। यसले पनि विद्यार्थीको सिकाइ उपलब्धि सुधार नभएको प्रमाण दिएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए। उनले हालको नतिजाको मापदण्ड नै गडबड भएको तर्क गरे। शिक्षाविद् कोइरालाले जिपिए ४ ल्याउनेहरू पनि यस पटकको ६० प्रतिशतको आन्तरिक मूल्यांकनको जोडले धलेकिएको निष्कर्ष निकालेका छन्। ‘शैक्षिक गुणस्तर बढेको होइन, हालको नतिजा अभिभावकको दबाब, विद्यार्थीले शिक्षक तर्साएर र शिक्षकको उदार नीतिका कारण बढेको हो,’ शिक्षाविद् कोइरालाले भने, ‘विगतमा आन्तरिक परीक्षा हुँदैनथ्यो, नतिजा कमजोर थियो। यस पटक त झन् ६० प्रतिशतको आन्तरिक मूल्यांकन भयो। तसर्थ नतिजा बढ्ने नै भयो। हालको नतिजाले नम्बरको आधिकारितामाथि नै प्रश्न उठाएको छ।’

प्रकाशित: २० माघ २०७७ ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App