१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

खुल्न थाले भक्तपुरका कलेज

पुस १ गतेदेखि स्कुल खुलेको भक्तपुरमा अहिले कलेज पनि बिस्तारै खुल्न थालेका छन्। पुस १ गते बुधबारदेखि ८, ९ र १० कक्षाको पढाइ सुरु भएको यहाँ अहिले कक्षा ११ र १२ को पढाइ हुने दस जोड दुईका साथै कलेजहरू पनि खुल्न थालेका हुन्।  

कोभिड महामारीका कारण बन्द रहेको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा अहिले कक्षा ११ र १२ का परीक्षा भौतिक रूपमै उपस्थित भई धमाधम चलिरहेका छन्। कोभिडको जोखिमलाई ध्यानमा राखी सबै विद्यार्थीलाई अनिवार्य मास्क र फेससिल्डको व्यवस्था गरी परीक्षाहरू सञ्चालन गरिएका छन्। कोभिडलाई नै ध्यानमा राखी एउटा बेन्चमा एकजना मात्रै विद्यार्थी राखी परीक्षा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।  

ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका सहायक प्राचार्य विष्णुप्रसाद किसी कोभिडलाई ध्यानमा राखी दैनिक बिहान र दिउँसो गरी दुई सिफ्टमा परीक्षा लिइरहेको बताउँछन्। प्रत्येक विद्यार्थीलाई अनिवार्य मास्क र फेससिल्डको व्यवस्था गरी एउटा बेन्चमा एकजना मात्रै विद्यार्थी राखी अहिले परीक्षा चलाइराखेको सहायक प्राचार्य किसीले बताए। फेससिल्ड नलगाई आउने विद्यार्थीलाई कलेजले एक सय रूपैयाँ शुल्क उठाएर अनिवार्य मास्क र फेसल्डि लगाएर मात्र परीक्षामा सामेल गराउने गरेको उनले जानकारी दिए।  

पहिला एउटा वेन्चमा तीनतीन जना विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्ने गरेकोमा कोभिडका कारण अहिले एउटा वेन्चमा एकजना मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गरिरहेकाले पहिलाभन्दा तेब्बर बढी दिन परीक्षा चलाउनुपरेको उनले बताए। विद्यालयले पहिला एक हप्तामा हुने परीक्षा अहिले तीन हप्ता लगाएर चलाइरहेको छ। अत्यधिक विद्यार्थी रहेका कारण पनि परीक्षाको दिन बढी भएको उनले बताए। स्कुलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकाय गरी अहिले तीन हजार तीन सय विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन्।

परीक्षालगत्तै माघ ४ गतेदेखि भौतिक रूपमा प्रत्यक्ष विद्यार्थीलाई सहभागी गराई औपचारिक कक्षा सुरु गर्ने योजना ख्वपले राखेको छ। पहिलो चरणमा हप्तामा दुई अथवा तीन दिन कक्षा सुरु गरी बाँकी दिनमा पहिला जस्तै यथावत् अनलाइनबाटै कक्षा सञ्चालन गर्ने योजना राखिएको ख्वपले जनाएको छ। वातावरण अनुकूल हुन थालेसँगै भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा सञ्चालन गर्ने दिनहरू क्रमशः बढाउँदै लाने योजना स्कुलको छ।  

संस्थागत विद्यालय संघ नेपाल ९इसान० का केन्द्रीय अध्यक्ष प्रेमजन थापा भौतिक उपस्थितिमै कक्षा सुरु गर्नुको विकल्प नभएको बताउँछन्। त्यसकारण स्कुलसँगै कलेज पनि धमाधम सुरु हुन थालेका उनले जानकारी दिए। ‘कोरोनासँगै सधैं डराएर कहिलेसम्म पठनपाठन बन्द गरिराख्ने रु उनले भने, ‘बरु सबै सुरक्षाका उपाय अपनाएर स्कुलकलेज सञ्चालन गर्नुपर्छ।’ भक्तपुरबाहेकका जिल्लाका अन्य नगरपालिकाले पनि स्कुल खोल्न थालेका छन्। जिल्लामा भक्तपुरसहित मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिका छन्।  

मध्यपुर थिमि नगरपालिकाले भने अर्को सूचना जारी नभएसम्म स्कुलकलेज खोल्न अझै दिएको छैन। कोरोनाबाट जिल्लाका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा मृत्यु भएको तथ्यांक छ। भक्तपुरपछि क्रमशः मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा मृत्यु हुनेको संख्या रहेको छ।

प्रकाशित: २० पुस २०७७ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App