coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

कक्षा चलाउन सुरक्षा मापदण्ड अनिवार्य सर्त

कोभिड–१९ को जोखिमका कारण आठ महिनादेखि बन्द शैक्षिक संस्था पुस पहिलो साताबाट क्रमशः खुल्ने भएका छन्। ललितपुर महानगर र भक्तपुर नगरपालिकाका शिक्षा समिति बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूर्ण रूपमा अपनाएर पुसदेखि विद्यालय खोल्ने र विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय गरी विद्यालयलाई पत्राचारसमेत गरिसकेका छन्। कोभिडको जोखिम झनै बढेको भन्दै काठमाडौं महानगरपालिकाले भने विद्यालय खोल्ने निर्णय गरेको छैन। तर पनि काठमाडौं महानगरका ठूला सरकारी विद्यालयले विद्यार्थीलाई आलोपालो बोलाएर पठनपाठन गराइरहेका छन्।  

लामो समयदेखि विद्यालय बन्द हुँदा ९० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको शैक्षिक सत्र खेर जान नदिन भन्दै विभिन्न समयमा वैकल्पिक उपाय अपनाउन निर्देशन जारी गर्दै आएको छ। मन्त्रालयले जेठमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरी असारदेखि पाँच विकल्पसाथ विद्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो। लगत्तै मन्त्रालयले भदौमा पाठ्यक्रम समायोजन र विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ समेत जारी गरी पठनपाठन, विद्यार्थी भर्ना र सुविधामा पहुँचका आधारमा वर्गीकरण गरी पठनपाठन सुचारु गर्न निर्देशन जारी गरिसकेको छ।  

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख खुबीराम अधिकारीले प्रदेशभरिका १३ जिल्लामध्ये काठमाडौं महानगरपालिकाबाहेक अन्य सबै ठाउँमा स्थानीय तहले विद्यालय खोलिसकेको र खोल्ने क्रम जारी रहेको बताए। ‘हाम्रो प्रदेशमा कुल ७ हजार विद्यालय र १४ लाख विद्यार्थी छन्। काठमाडौं जिल्लामा पनि काठमाडौं महानगरबाहेकका अन्य नगरपालिकाले धमाधम विद्यालय खोल्ने निर्णय गरिसकेका छन्,’ उनले नागरिकसँग भने, ‘खुल्न नसक्ने र जोखिम रहेको ठाउँमा वैकल्पिक विधि अपनाएर पठनपाठन भइरहेको छ। तर वैकल्पिक शिक्षाले बालबालिकाको सिकाइ विकास गर्न सकेको छैन।’ उनले थपे, ‘सरकारले सुरक्षाको जोखिम हेरेर विद्यालय खोल्ने र बन्द गर्ने  

अधिकार स्थानीय तहलाई दिइसकेकाले प्रदेश सरकारले विद्यालय सञ्चालनका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सबै व्यवस्थापन सहजीकरण गरिदिन्छ।’ विद्यालय सञ्चालन गर्दा बढीमा तीन घन्टा, कतै आलोपालो त कतै सिफ्टअनुसार पठनपाठन भइरहेको उनले जनाए।  

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचाले नै कोभिड–१९ को जोखिम विश्लेषण गरी विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएकाले अवस्था विश्लेषण गरी खोल्न सक्ने बताए। उनले कक्षा १२ को परीक्षाको सफलतालाई पनि विद्यालय खोल्ने आधार मानेकाले स्थानीय तहमा हौसला थपिएको जिकिर गरे। ‘कक्षा १२ को परीक्षा विद्यालयहरूले सुरक्षाका सबै मापदण्ड अपनाएर विद्यार्थी उपस्थितिकै आधारमा डेढ घण्टा सञ्चालन गरे र सफल पनि भयो,’ प्रवक्ता शर्माले नागरिकसँग भने। स्वास्थ्य सुरक्षाको मापदण्ड र स्थितिलाई विश्लेषण गरी विद्यालय, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यका सम्बन्धित निकायसँग छलफल गरी विद्यालय पूर्ण वा आंशिक खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय सरकारको हुने व्यवस्था कार्यढाँचाले गरेको उनले बताए।  

कार्यढाँचामा व्यवस्था भएअनुसार स्वास्थ्य सुरक्षाका उपाय अपनाएर आलोपालो गरी, कम जोखिम भएको र जोखिम नभएको क्षेत्र हेरी विद्यालय सञ्चालन हुनेछ।  

बालबालिकाको सुरक्षाका लागि विद्यालयको फर्निचर, शौचालय, पर्याप्त प्रकाश आउने र हावा आवतजावत गर्ने खुला कक्षाकोठालगायत भौतिक पूर्वाधार तयार पार्नुपर्ने, सरसफाइका लागि साबुनपानी, सेनिटाइजर अनिवार्य व्यवस्था हुनुपर्ने विद्यालयमा आउने सबैको तापक्रम मापन गर्न थर्मोमिटरको व्यवस्था र शिक्षक तथा विद्यार्थीले सबैले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: २७ मंसिर २०७७ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App