१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

नेपालको उच्च शिक्षा स्तरीय बनाउन काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यले नेपाल खुला विश्वविद्यालयले काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ।  

अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयसँगको सहकार्यमा आयोजित ३ दिनको सम्मेलन आइतबार सुरु भएको हो। मंसिर २४ गतेसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भर्चुअल रूपमा उद्घाटन गरेका हुन्।  

सम्मेलन, नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय गुणस्तरको बनाउने उपाय खोजीका लागि महत्वपूर्ण हुने नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले बताए।  

सम्मेलनमा नेपालका ११ वटै विश्वविद्यालयका उपकुलपति, विभिन्न संकायका डिन, प्राध्यापक तथा विदेशी विश्वविद्यालयका प्राध्यापक तथा विज्ञहरु गरी डेढ सय जनाको सहभागिता छ। सम्मेलन उद्घाटन क्रममा शिक्षामन्त्री पोखरेलले नेपालको उच्च शिक्षाबारे जानकारी गराएका थिए।  

‘२०२० स्टार सम्मेलन’ नाम दिइएको सम्मेलनमा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षाको गुणस्तर, व्यवस्थापन र नेतृत्व चयनबारे विचार आदानप्रदान हुनेछ। विभन्न विज्ञले विश्वमा अभ्यास भइरहेको उच्च शिक्षा अध्ययन÷अध्यापनको नयाँ आयामबारे छलफल गरिने उपकुलपति शर्माले जानकारी दिए।  

नेपाल खुला विश्वविद्यालयका उपप्राध्यापक खेमराज जोशीका अनुसार  सम्मेलनमा नेपालका सबै विश्वविद्यालयका उपकुलपतिले अध्ययन÷अनुसन्धान गरेका प्रतवेदन पनि प्रस्तुत गरिनेछन्।  

‘उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमैत्री शिक्षण र वैश्विक महामारी कोभिड-१९ को विषम परिस्थितिमा अवलम्बन गरिएको शिक्षण रणनीति तथा शिक्षण अनुभवसँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी विज्ञको प्रस्तुति रहनेछ,’ जोशीले नागिरकसँग भने, ‘नेपालका सबै विश्वविद्यालय तथा अमेरिका, भारत र बेलायतलगायत विभिन्न देशका विश्वविद्यालयका प्राध्यापक सम्मिलित सम्मेलनमा जम्मा ८१ वटा समानान्तर प्रस्तुति, ७ वटा प्यानल डिस्कसन र ३ वटा किनोट प्रस्तुति गरिनेछन्।’  

आयोजकका अनुसार सम्मेलनमा अमेरिका निवासी नेपालीले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नेछन्। सम्मेलनको वेबसाइटमा राखिएको जुमलिंकमा क्लिक गरेर कार्यक्रममा निःशुल्क सहभागी हुन सकिने उनले जानकारी दिए।  

मन्त्री  पोखरेलको प्रमुख अतिथ्यमा सुरु भएको सम्मेलनको विशेष अतिथि म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलजी (एमआइटी), लन्डन र एरिजोना विश्वविद्यालय, अमेरिकाका प्राध्यापक विश्व प्रख्यात् दार्शनिक, संज्ञानवादी भाषाविद् तथा समालोचक अब्राहम नोम चोम्स्कीको उपस्थित थियो। नेपालको इतिहासमा यस्तो कार्यक्रममा उनको सहभागिता पहिलो हो।

‘अन्तर्राष्ट्रियस्तरका उच्च शिक्षामा भए/गरेका अभ्यास सुन्ने र हाम्रो सन्दर्भमा कुन स्तरमा छ भन्ने तुलनात्मक अध्ययन गरेर सुधारात्मक अभ्यास अपनाउने हो,’ उपकुलपति शर्माले भने, ‘नेपालको उच्च शिक्षालाई विश्वको उच्च शिक्षासरह गुणस्तरीय बनाउन सम्मेलनको ठूलो भूमिका रहन्छ।’

प्रकाशित: २१ मंसिर २०७७ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App