१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
शिक्षा

एसएलसीमा दोहोरो रजिस्ट्रेसन फारम भर्नेको सबै परीक्षा रद्द हुने

रुबी रौनियार, काठमाडौं, फागुन ८ - चैत्त १ देखि सुरु हुने एसएलसीका लागि दोहोरो रजिस्ट्रेसन फारम भर्ने परीक्षार्थीको सबै परीक्षा रद्द हुने भएको छ। यसका लागि एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका संशोधन गरिएको छ।
परीक्षा नियन्त्रक खगराज बरालका अनुसार निजी विद्यालयमा अध्ययन गर्ने परीक्षार्थी सरकारी छात्रावृत्ति पाउने लोभमा एसएलसी परीक्षा फारम सरकारी र निजी दुवैबाट भर्ने गरेको पाइएको छ। एउटै विद्यार्थीले निजी स्वार्थका लागि दुई ठाउँबाट परीक्षा फारम भर्नु आफैंमा गैरकानुनी भएको ठहर गर्दै कार्यालयले निर्देशिका संशोधन गरेको बरालले जनाए।
'दोहोरो रजिस्ट्रेसन फारम केलाउने काम सुरु भइसकेको छ,' उनले भने, 'गत वर्ष हामीले २५ सय दोहोरो रजिस्ट्रेसन फारम भेटायौं, जसले गर्दा नतिजा प्रकाशनमा निकै कठिनाइ भयो।'
गत वर्ष एक ठाउँको परीक्षा फारम रद्द गरी एकपटकलाई मौका दिइए पनि यस वर्ष त्यस्ता विद्यार्थीको दुवै फारम रद्द गरिने उनले जनाए। यस्ता विद्यार्थीको परीक्षासमेत सबै रद्द गरिने, दोहोरो रजिस्ट्रेसन फारम भराउने स्कुलका शिक्षक र प्रधानाध्यापकलाई समेत विभागीय कारबाहीको व्यवस्था निर्देशिकामा छ।
'पनिकाले दोहोरो रजिस्ट्रेसन फारम पत्ता लाउन परीक्षार्थीको जन्ममिति, नाम र बुबाको नाम गहन रूपले केलाउने काम थाल्न सबै जिल्लालाई निर्देशन दिइएको छ,' परीक्षा नियन्त्रक बरालले भने, 'परीक्षार्थीले राम्रो अंक ल्याउन दुर्गममा गएर परीक्षा दिने, सरकारी छात्रवृत्ति पाउनेलगायतका लोभले दोहोरो फारम भर्ने गरेको पाइएको छ।' बराल प्रश्नपत्रको छपाई पूरा गरी एक साताअघि मात्र जनक शिक्षा सामग्री केन्द्रबाट बाहिरिएका हुन्।
पनिकाका अनुसार ६५ जिल्लामा प्रश्नपत्र पठाउने काम सकिइसकेको छ। यो वर्ष पाँच लाख ४७ हजार एक सय ६५ परीक्षार्थीका लागि एक हजार सात सय ८६ परीक्षा केन्द्र तोकेको छ। सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा छन्। ३४ हजार परीक्षार्थीका लागि उपत्यकामा मात्र ७८ परीक्षा केन्द्र तोेकिएका छन्। सबैभन्दा कम ७८ परीक्षार्थीका लागि मनाङमा एक परीक्षा केन्द्र तोकिएको छ।
पनिकाले सबै केन्द्रमा परीक्षा अवधिभर मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने सबै जिल्लालाई निर्देशन दिएको छ। परीक्षार्थीलाई आधुनिक क्यालकुलेटर प्रयोगमा समेत निषेध गरिएको छ।

प्रकाशित: ७ फाल्गुन २०६९ २१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App