७ वैशाख २०८१ शुक्रबार
शिक्षा

बौद्ध विश्वविद्यालयले बुटवलमा आंगिक क्याम्पस खोल्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा पहिलो आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ। १२ औं विश्वविद्यालय सभाबाट पहिलो आंगिक क्याम्पस खोल्ने निर्णय गरेको हो। लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि विश्वविद्यालय सभाले गरेको निर्णय सार्वजनिक गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा असोज २६ गते सभा भएको थियो।

सभाको निर्णयानुसार बुटवलमा यसै शैक्षिक सत्रदेखि सिटी क्याम्पस सञ्चालनमा ल्याइने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए। यो पहिलो आंगिक क्याम्पस हुनेछ, मंगलबार बुटवलमा सिनेटका निर्णय सार्वजनिक गर्दै उनले भने,यसलाई विस्तार गर्दै जाने रणनीति रहेको छ।’

बुटवलमा आंगिक क्याम्पस खुलेसंगै विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु विस्तार हुँदै जाने देखिएको छ। विश्वविद्यालय अहिलेसम्म लुम्बिनीमा मात्रै खुम्चिएर बसेको थियो। विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन, कपिलवस्तुमा पुरातात्विक अनुसन्धान केन्द्र, देवदह र रामग्राममा अन्य शैक्षिक कार्यक्रम चलाउने रणनीति बनाएको छ। सिटी क्याम्पसमा मानविकीतर्फका विषयहरु सुरु चरणमा सञ्चालन हुनेछन्। बौद्ध दर्शनका विषय थप्दै लगिने रजिष्ट्रार आचार्यले बताए। अहिले बुटवलमा स्नातक तहमा कानून र ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषय चलिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सभाले गायिका आनी छोइङ डोल्मालाई सद्भावना दूत बनाउने निर्णय गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धनका लागि डोल्मालाई दूत बनाइएको रजिष्ट्रार आचार्यले बताए।

सभाले काठमाडौंमा बज्रयान अध्ययन केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको छ। विश्वविद्यालयले लुम्बिनी क्षेत्रका चार स्थान, हिमाली क्षेत्र र काठमाडौंमा बौद्ध दर्शनका विभिन्न शैक्षिक कार्यक्रम चलाउने दीर्घकालीन रणनीति बनाएको छ।

सभाले हरेक वर्ष एक जना बौद्ध विद्वानलाई सम्मान गर्ने गरी ५ हजार डलर राशीको लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय प्रज्ञारत्न अवार्ड प्रदान गर्ने निर्णय गरेको छ। बौद्ध दर्शनका अध्येताहरुमध्येबाट उच्चस्तरीय छनौट कार्यदलले व्यक्ति छनौट गर्नेछ।

सभाले विश्विद्यालयका लागि २ सय ५३ जनाको दरबन्दी स्विकृत गरेको छ। शिक्षणतर्फ १ सय १२ जना र प्रशासनिक कर्मचारीतर्फ १ सय ४१ जनाको दरबन्दी स्विकृत गरेको हो। चालु आर्थिक वर्षका लागि ३० करोड ६० लाखको बजेट पनि स्विकृत गरेको छ।

बौद्ध विश्वविद्यालयबाट बौद्ध दर्शन बाहेकमा पनि विद्यावारिधी गर्न सकिने भएको छ। सभाले मानविकी विषयबाट समेत विद्यावारिधि गर्न सकिने निर्णय लिएको हो। यसअघि बौद्ध दर्शनमा मात्रै विद्यावारिधि गर्न सकिने व्यवस्था थियो। डिग्रीको संख्या बृद्धि भएर १२ पुगेको छ। सभाले नियमावली संसोधन, वार्षिक प्रतिवेदन समेत पारित गरेको छ।

१५ वर्षअगाडी स्थापना भएको विश्वविद्यालयले पछिल्लो सात वर्षदेखि स्नातकोत्तर र स्थातक तहमा अध्यायपन गर्दै आएको छ। पछिल्लो आधा दशकमा मात्रै विश्वविद्यालय देखिने तहमा पुगेको हो। अहिले विश्वविद्यालयमा ७ सय २ जना विद्यार्थी रहेका छन्।

विश्वविद्यालयका रजिष्ट्रार आचार्यले शैक्षिक कार्यक्रमका लागि भौतिक पूर्वाधार निर्माण जोड दिइएको बताए। मंगलबार बुटवलमा सभाका निर्णय सार्वजनिक गर्दै आचार्यले केही समयभित्रै रुपन्देहीका देवदहमा एक सय विगाहा जमिनमा पूर्वाधार निर्माण गरिने बताए।

प्रकाशित: ४ कार्तिक २०७७ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App