१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

९० लाख विद्यार्थीको सिकाइ अघि बढाउन होम स्कुलिङ आवश्यक: शिक्षामन्त्री

स्थानीय तहको अनुमतिमा निजीले शुल्क लिन पाउने

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभाव दिनदिनै बढी रहेको संकटपूर्ण अवस्थामा विद्यार्थीको सिकाइ निरन्तरता दिन अब होम स्कुलिङ आवश्यक रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले बताए।  

कोभिडको बढ्दो जोखिमका कारण शिक्षा क्षेत्र पूर्ण रुपमा ठप्प बनेको र बालिबालिकाको सिकाइ अवरुद्ध भएको भन्दै मन्त्री पोखरेलले विद्यालयका अभिभावकहरुसँग छलफल गरी होम स्कुलिङको अवधारणमा जानु पर्ने बताए। मन्त्री पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गरी कोभिडको बढ्दो जोखिमका कारण ९० लाख विद्यार्थीको सिकाइ अवरुद्ध बनेको बताउँदै निरन्तरता दिन विकल्पहरु अपनाएर अघि बढ्नु पर्ने जनाए। उनले बैकल्पिक विधिबाट पठनपाठन  गराएको कक्षाहरुलाई शैक्षिक सत्रमा गणना गर्ने जनाए। यसकासाथै मन्त्री  पोखरेलले सरकारले नै असार १ गतेदेखि बैकल्पिक विधिबाट पठनपाठन गराउने सूरुवात गरिसकेको बताउँदै निजी विद्यालयहरुले स्थानीय तहसँगको अनुमतिमा शुल्क लिन पाउने समेत बताए।  

‘सबै क्षेत्रलाई प्रभावित पारेको यस महामारीले शिक्षा क्षेत्रलाई झनै प्रभावित बनाएको छ तसर्थ बालबालिकाको शिक्षा पाउने अधिकारको संरक्षण गर्नु आजको प्रमुखचुनौति बनेको छ,’ मन्त्री पोखरेलले भने ‘ करिब ९० लाख विद्यार्थीहरु नियमित पठनपाठनबाट बञ्चित भएका छन्। पठनपाठन सुचारु हुन नसक्दा उनीहरुमा अन्योलता छाएको छ भने आफ्ना बालबच्चाको शिक्षा प्रति अभिभावकहरुको चिन्ता बढ्दै गएको छ।’ उनले थपे ‘स्थानीय तहको अनुमतिमा निजी विद्यालयले शुल्क लिन पाउने छन्।’  

विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठनको शुरुआत गरिसकिएको छ। शुरु गरिएको वैकल्पिक पद्धतिलाई सुदृढ पारेर सबै विद्यार्थीहरुलाई यो पद्धतिमा सहभागी गराउन थप प्रयत्नको आवश्यकता रहेको मन्त्री पोखरेलले औल्याए।  

उनले यदाकदा अनलाईन वा भर्चुअल कक्षालाई नै वैकल्पिक शिक्षा पद्धतिको रुपमा बुझ्नु भ्रम रहेको बताए। ‘हाम्रो जस्तो इन्टरनेटको सुविधा सीमित भएको मुलुकमा यो एउटा उपाय मात्र हो। जुन सीमित विद्यार्थीको लागि मात्र पहुँचमा हुन्छ। तसर्थ, अहिले हामीले अवलम्बन गरेको घर नै शिक्षालय वा घरमै सिकाइ होम स्कुलिङ आवश्यक छ।’

उनले विद्यार्थीको सिकाइ होम स्कुलिङ, रेडियोभिजन शिक्षण र भर्चुअल कक्षा गरी चारवटै तरिकाहरुको समष्टि नै वैकल्पिक शिक्षा हो भन्ने बुझ्न जरुरी छ।

उनले  होम स्कुलिङ र रेडियो पाठशाला जस्ता तरिकाहरु नै ग्रामिण तथा विकट क्षेत्रहरुमा उपयोगी हुने भएकोले यिनीहरुले मुलुकभरका विद्यार्थीको ठूलो हिस्सालाई समेट्ने दाबी गरे।  

विद्यार्थी विद्यालयजाने अवस्था नरहेको वर्तमान परिवेशमा शिक्षक विद्यार्थीसम्म पुग्नुको विकल्प छैन। घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नु पर्ने उनको जोड थियो।  

‘होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अन्लाईन कक्षा आदी बैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई पनि मान्यता दिन त्यसको क्रेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेकोले,’ उनले भने ‘यो पद्धतिलाई अब कोभिड १९ को संव्रmमणका अवधिभर मूल प्रणालीको रुपमा विकास गर्न हामी सबै लागेका छौं। महामारीको अन्त्यपछि पनि वैकल्पिक पद्धतिलाई विद्यालय तथा विश्वविद्यालय शिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लैजानुपर्छ।’ उनले थपे ‘विद्यालय तथा शिक्षालय अवरुद्ध भएपनि विद्यार्थीको सिकाइ अवरुद्ध कहिल्यै हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई अंगीकार गर्दै अघि बढ्दै जाने तथा नियमित र वैकल्पिक पद्धतिलाई एक अर्काका परिपूरक बनाउँदै सिकाइ सुनिश्चित गर्नु नै अहिलेको सही निकास हो।’

उनले पाठ्यक्रमलाई यथावत रुपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रमको संस्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय भइसकेको बताए। हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ। यसका लागि विषयगत टोलीहरुले कार्य प्रारम्भ गरिसकेका छन्। यही भाद्र अन्तसम्ममा संस्लेशित पाठ्यक्रम (कस्टामाइज्ड पाठ्यक्रम) विद्यालयहरुलाई उपलब्ध गराउने उनको दाबी छ।

प्रकाशित: १९ भाद्र २०७७ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App