coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

सहयोग रोकिँदा बालबालिकालाई सकस

बालमन्दिर माध्यमिक विद्यालय । तस्बिर: नागरिक

आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय । दसैंतिहार, माघेसंक्रान्ति जुनसुकै पर्वमा पनि सँधै सँगै विद्यालयमै । प्रसंग हो, बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने गोरखा नगरपालिका–६ को बाल मन्दिर मावि ।  

२२ जना अनाथ बालबालिका दाताको सहयोगमा यहीँ बसेर पढ्दै आएका छन् । तर, विगत १४ महिनादेखि दाताले सहयोग गर्न छाडेपछि बिहान–बेलुकी के खाने भन्ने चिन्ता छ यी बालबालिकालाई ।  

अस्ट्रेलियाको लग अन फाउन्डेसनले वार्षिक तीन लाख ५० हजार रूपैयाँ सहयोग गर्दै आएको थियो । सो सहयोग रोकिएपछि बालबालिकालाई खाद्यान्न अभाव भएको विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए ।  

‘२२ जना चिनेजानेकाहरूकोमा गए,’ प्रअ लामिछानेले भने, ‘१२ जना विद्यालयमै छन् । बाँकीलाई बिहान–बेलुकी खाना खुवाउनै मुस्किल छ । अहिले विभिन्न संघसंस्था र व्यक्तिलाई हारगुहार गरेर छाक टार्नुपरेको छ ।’ केही समयअघि अस्ट्रेलियामा आगलागी भएको थियो । त्यहाँका नागरिक पीडामा भएकाले विद्यालयलाई सहयोग केही ढिला गरी पठाउने आश्वासन फाउन्डेसनका मार्क नामक व्यक्तिले दिएका थिए । त्यसयता पुनः लकडाउन भएपछि दाताले सहयोग पठाउने समय धकेलिएको छ । ‘कहिले आउँछ वा आउँदैन पत्तो भएन,’ प्रअ लामिछानेले भने । अस्ट्रेलियाका नागरिकले ६÷६ महिनामा बाल मन्दिरका १४ जना विद्यार्थीलाई पठाउने गरेको सहयोगले विद्यालयले चाहिँ २२ जना विद्यार्थी राख्दै आएको थियो ।  

विद्यालयमा आवासीय रूपमा बस्दै आएका विद्यार्थीलाई मासिक ८० हजार रूपैयाँ खानामा खर्च लाग्छ । दाताको सहयोगबाहेक व्यक्ति वा संघसंस्थाले विभिन्न पर्व, दिवसको अवसर पारेर सहयोग गर्ने गरेका छन् । ‘बिरामी परेका विद्यार्थीलाई निजी मेडिकलले पनि निःशुल्क उपचार गरिदिने गरेका छन्,’ प्रअ लामिछानेले भने, ‘अहिले स्वास्थ्य बिमा गराएकाले सजिलो भएको छ ।’  

अहिले बालमन्दिर माविमा आवासीय रूपमा बस्दै आएका धार्चे गाउँपालिकाका १० जना, बारपाक सुलिकोट गाउँपालिकाका ४ जना, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, आरुघाट गाउँपालिकाका दुई÷दुई जना, सिरानचोक गाउँपालिकाका एक र अर्का एक गरी २२ जना रहेका छन् । भूकम्पमा आमाबाबु गुमाएका, परिवारको संरक्षण नपाएका ६ देखि २० वर्ष उमेर समूहका ६ जना बालिका र १६ जना बालक सो बालमन्दिरमा बस्दै आएका छन् ।  

प्रकाशित: २८ श्रावण २०७७ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App