२० श्रावण २०७७ मंगलबार
शिक्षा

किताबसँग व्यावहारिक शिक्षा सिक्दै बालबालिका

प्रविधिबाट पढाइ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि भनेर चैत ११ देखि देशमा लकडाउन सुरु भयो । लकडाउनका कारण स्कुल, कलेज, बजार, पसल सबै बन्द भए । विद्यार्थी–विद्यालयबीचको सम्पर्क विच्छेद भयो, छ । सहरिया केही विद्यार्थी दूर कक्षामार्फत आफूलाई पढाइसँग जोडेर राखेका छन् तर ग्रामीण तथा सहरका अधिकांश विद्यार्थीको पढाइ अझै अन्योलमा छ ।

ग्रामीण क्षेत्रका विद्यार्थीलाई पढाइसँग जोडिराख्न स्थानीय, प्रदेश र संघीय सरकारको बेवास्ताका बीच कतै कतै स्थानीय युवाले सकारात्मक सुरुवात गरेको पाइएको छ । सिरहा र धनुषाका युवाको सामूहिक प्रयासबाट केही विद्यार्थी सामाजिक दूरी कायम गरी पढाइलाई निरन्तरता दिँदै आएका छन । धनुषा सबैलाकी रोशनी यादव तिनैमध्येका एक विद्यार्थी हुन् । उनी आफू पनि पढाइलाई निरन्तरता दिइरहेकी छिन् । र, आफूभन्दा तल्लो कक्षाका विद्यार्थीलाई पनि पढाउँदै आएकी छिन् ।

यस नगरपालिकाका युवाहरुको सञ्जालले आधारभूत तहका बालबालिकालाई बौद्धिक राहत वितरण अभियान सुरु गर्‍यो । नगरपालिकाभित्रका आधारभूत तह पढ्ने विद्यार्थीहरुलाई  विभिन्न शैक्षिक संस्थामा कार्यरत सहयोगी कार्यकर्ताहरु र युवा क्लबका युवाहरु मिलेर ७ सय ५० जना बालबालिकालाई पढाउँदै छन ।  

युवा सञ्जालको अग्रसरतामा सबैला नगरपालिकामा बौद्धिक राहत वितरण अभियानले गति लिँदै गएको छ । घरमै स्कुल, अभिभावक बन्नु शिक्षक अर्थात् घर नै स्कुल, अभिभावक नै शिक्षक अभियानसमेत सञ्चालन गरिएको छ । बिहान १ घण्टा एक शिक्षक पाँच विद्यार्थीका दरले पढाउँछन् । त्यसपछि अभिभावकले आफ्ना बालबालिकालाई घरमा पढाउँछन् । सामाजिक तथा भौतिक दूरी कायम गरी नगरपालिकाका करिब एक हजार बालबालिकालाई पढाइ अभियानमा जोडिएको अभियन्ता सुरेश यादव बताउँछन् ।  

लकडाउनको कारण लामो समयसम्म विद्यालय बन्द हुन पुगेपछि बालबालिकालाई शिक्षण सिकाइ प्रक्रियाबाट टाढा जान नदिन यो अभियान सञ्चालन गरिएको हो ।  

गएको फागुन मसान्तयता, विद्यालय बन्द भएपछि प्रारम्भिक तहदेखि विश्वविद्यालय तहसम्मै पढाइ ठप्प छ । अत्यावश्यक सरकारी सेवाबाहेक ठप्प रहेको अन्य उत्पादन प्रशोधन तथा सेवामूलक व्यापार÷व्यवसाय बिस्तारै खुल्दै छ । तर, स्कुल कलेज खुल्ने अन्योल अझै बाँकी रहँदा विद्यार्थी र शैक्षिक भविष्यबारे चिन्ता यथावत छ ।

शैक्षिक सत्रको व्यवस्थापन कसरी हुन्छ ? अबको शिक्षाप्रणाली कसरी अघि बढ्छ ? जस्ता विषय यकिन छैन । विद्यालय, कलेज कहिले खुल्छ ? खुलेपछिको पढाइ कसरी अघि बढ्छ ?

लकडाउनकै बेला पनि औपचारिक शिक्षालाई बल पुग्ने क्रियाकलाप गर्न सकिन्थ्यो । विद्युतीय सञ्चार माध्यम (इन्टरनेट) र प्रविधिमार्फत शिक्षा लिनदिनका लागि असीमित स्रोतको उपयोग गर्न सकिन्थ्यो ।  

विद्यार्थीलाई घोक्ने र घोकाउनेभन्दा कसरी सिर्जनशील सिकाइमा लगाउने भन्ने कुरामा यस बेलामा बढी ध्यान दिनुपर्छ । विद्यार्थी, अभिभावक  र शिक्षक जोजोसँग यो प्रणालीको पहुँच छ, यस माध्यमलाई प्रयोग गरेर विषयगत र व्यावहारिक दुवै खाले ज्ञान लिनदिनमा क्रियाशील हुनुपर्ने शिक्षाका जानकारहरुको कथन छ । कतिपय सहरी विद्यार्थीले सहपाठीसँग विद्युतीय माध्यमबाटै सहपठन गरिरहेका छन् । विद्यार्थीले आफूले पढेको कुरा सहपाठी साथीलाई यो कुरा यस्तो रहेछ भनेर इमेल, मेसेन्जर आदिबाट पढाएर सहपाठीलाई पढ्नमा उत्प्रेरित गर्दै छन् ।  

लकडाउनका बेला घरमा बसेका कतिपय विद्यार्थीले आफूमा अन्तर्नीहित प्रतिभा तिखार्ने अवसरको रुपमा उपयोग गरिरहेका छन् । गीत, कविता, कथा लेखेर लकडाउनको बसाइलाई उपयोग गर्ने विद्यार्थीको संख्या पनि उल्लेख्य छ । चित्र बनाउने प्रतिभालाई समेत कतिपय विद्यार्थीले यस समयमा निखार्दै छन् । घरका सामान सजाउनेदेखि गमला फुलबारी करेसाबारीमा फूल तथा बोटबिरुवाको स्याहार गर्नेसम्मका कलात्मक काममा विद्यार्थीले समय उपयोग गरिरहेका छन् ।

कतिपय छोरी विद्यार्थीहरु भान्साको काममा सहभागी भैरहेका छन् । उनीहरूलाई पाकशिक्षामा निपुण बनाउन आमाहरूले सहयोग गरिरहेका छन् । लहानकी प्राची यादव सब्जी (तरकारी) काटिदिन्छिन् । प्राचीकी आमाले तेल तातो पारेर मेथी पड्काउनुहुन्छ । आमाले तेलमा बेसार र नुनचाहिँ सब्जी ओइरिएपछि मात्र हाल्न सिकाउँछिन् । पानी परेको तेल तताउँदा किन पोल्छ र फोका उठ्छ ? तातो पानीले पखालेको चामलको भात किन छिटो पाकेका होला ? प्राचीले यस्ता जिज्ञासा आमासँग गर्छिन् । आमाले प्रयोगात्मक रुपमा उनको जिज्ञासा मेट्छिन् ।

प्राचीको लकडाउन अनुभव

कक्षा ६ को वार्षिक परीक्षा सकिएपछि अर्को शैक्षिक सत्र सुरू नहुँदासम्म विभिन्न ठाउँ घुमफिर गरेर खुसीका साथ समय बिताउन तयार पारिएका मेरा सुनौला योजना कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण घरभित्रै सीमित हुन पुग्यो । घरभित्रै बस्नुपर्ने हुँदा यो समयको सदुपयोग गर्न मैले दैनिक नयाँ नयाँ कामहरू गरिरहेकी छु ।

युट्युवमा संघर्षशील व्यक्तिहरुका कथा सुन्छु । सफलताका कथाहरु सुनेर समय उपयोग गरिरहेकी छु । यसले मलाई भविष्यमा अझ मिहिनेत गर्नुपर्छ भन्ने कुराको बोध गराइरहेको छ ।

यस समयमा मैले आमासँग खाना बनाउन सिकिरहेकी छु । नियमित रूपमा घरमा खाने खानाका अतिरिक्त युट्युबमा हेरेर नयाँ नयाँ परिकार बनाउने काममा आमालाई सहयोग गर्छु । मिठो मिठो परिकार पकाउन आमालाई सहयोग गरिरहेकी छु ।

यसैगरी, भान्सामा आमालाई तरकारी काट्ने, पखाल्ने, फोहोर सफा गर्नेलगायतका काममा सघाउँछु । आमा, बुवा, हजुरबुवा सबै परिवारको माया पाएको छु ।  

कहिलेकाहीँ कविता, कथा, निबन्ध लेख्छु र बाबाआमालाई सुनाउँछु । विश्वका महान् व्यक्तिका बारेमा लेखिएका लेखहरू अध्ययन गरिरहेकी छु । यसले मलाई पढाइप्रति रुचि जगाउने काम गरेको छ । दिक्क लाग्दा केही समय टेलिभिजन हेर्छु ।

यो लकडाउनले मेरा लागि धेरै कुरा सिक्ने, बुझ्ने अवसर प्रदान गरेको छ । यसका अतिरिक्त महामारीको घडीमा अपनाउनुपर्ने सावधानीको पाठ सिकाएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपानको विषयमा युट्युबमा खोजेर सुन्छु ।  

निजी विद्यालयहरुको अनलाइन कक्षा

सामुदायिक विद्यालयहरुको पढाइ अनिश्चित भैरहेको बेला यस भेगका अधिकांश निजी विद्यालयहरु अनलाइन कक्षा संचालन गरेर विद्यार्थीलाई पढाइरहेका छन् । यहाँका निजी विद्यालयहरु जुम प्रविधिमार्फत नयाँ शैक्षिक सत्रदेखि नै विद्यार्थीलाई पाढाइरहेका छन । लहान स्थित एभरेष्ट स्कूल तथा कलेजले अनलाईन कक्षा संचालन गरेर माध्यमिक तहसम्मका विद्यार्थीलाई पढाउन थालेको एक महिना भयो । कक्षा १ देखि ९ सम्मका विद्यार्थीलाई यस कलेजले जुम प्रविधि मार्फत पढाउँदै आएको छ ।

प्राचार्य धरनीधर अधिकारी भन्छन्, ‘माथिल्लो कक्षादेखि सुरुवात गरेर अहिले तल्लो कक्षाको पढाइ पनि अनलाइनमार्फत संचालन गरिरहेका छौं । विद्यार्थी तथा अभिभावक सबै उत्साहित र हौसिएका छन ।’

कोरोना भाइरसको असर सकिएपछि विद्यालय पूर्णरूपमा संचालनमा आउलान् । त्योबेलासम्म विद्यार्थीलाई पढाइबाट अलग्याएर राख्दा शिक्षण सिकाइको चेन नै ब्रेक हुन्छ उनले भने, ‘अनलाइन मार्फत पढ्न पाउँदा विद्यार्थीहरु रमाइलो मानिरहेका छन् ।’ एक दिनमा तीन विषयको पढाइ हुन्छ । गृहकार्य दिने र जाँच गर्ने काम समेत अनलाइन प्रविधिमार्फत भैरहेको उनले बताए ।  

तल्लो कक्षाका विद्यार्थीलाई अनलाइन सिकाइका लागि घरका अभिभावकले सहयोग गरिरहेका छन् । बच्चाहरुलाई अनलान अपडेट गर्न गाह्रो हुने भएपछि आमा बुवा तथा दाजुहरुले सहयोग गरिरहेका छन्।  

अधिकारीका अनुसार अहिले केही महिनाका लागि यसै प्रविधिबाट पढाइ आवश्यक छ । स्कुलमा भीड लगाउनु अहिलेको संक्रमकालीन अवस्थामा जोखिम बढी हुन्छ । त्यही भएर प्रविधिमार्फत पढाइमा विद्यार्थी, शिक्षक, अभिभावक अभ्यस्त हुनु आवश्यक रहेको अधिकारीको भनाइ छ ।

लहान प्यारागन स्कुलका संस्थापक उमेश चौधरी पनि अनलाइन मार्फत पढाइ सुरु गरिसकेका छन् । शैक्षिक सत्र सुरु भैसकेको धेरै दिनसम्म विद्यार्थीलाई पढाइबाट अलग्याउँदा कोर्श सक्नेदेखि, परीक्षासम्मका तालिका बिथोलिन पुग्छन् । विद्यार्थीहरुलाई पुनः पढाइमा जोड्न हम्मे पर्छ । तल्लो कक्षाका विद्यार्थीहरु धेरै दिनसम्म पढाईबाट अलग हुँदा पुनः जोडिन कठिन हुन्छ । यी सब समस्याका कारण प्रविधिको उपयोग गरेर पढाइ सञ्चालन गरिएको चौधरीले बताए । प्रविधिमार्फत भैरहेको पढाइमा विद्यर्थाीहरु रमाइलो मानिरहेका छन् । 

चासो, उत्साह र ऊर्जाका साथ विद्यार्थीहरु अनलाइन कक्षामा उपस्थित हुन्छन् । गृहकार्यहरुसमेत नियमित गर्छन् । चौधरीले भने,‘अनलाइन मार्फत हामी विद्यार्थीलाई मात्र पढाउँदैनाैं, अभिभावकसँग पनि छलफल गरिरहेका हुन्छौँ ।’ शिक्षकले पढाएका विषय घरमा पुनः पढ्न लगाउने । गृहकार्यहरु नियमित गर्न लगाउने जस्ता विषयहरुमा अभिभावकसँग छलफल हुन्छ,' उनले भने ।

प्रकाशित: १८ श्रावण २०७७ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App