१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्रारम्भिक कक्षालाई परियोजनामा नभई राष्ट्रिय कार्यक्रममै चलाउन सुझाव

‘नेपाली मातृभाषी नभएका बालबालिकाको पठनप्रवाह चुनौतीपूर्ण’

शब्द पढ्ने र बोध गर्ने बालबालिकाको पठन क्षमता बढाउन प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी)लाई परियोजनाभन्दा सरकारकै राष्ट्रिय कार्यक्रमको नियन्त्रण रहनेगरी सञ्चालन गर्न विज्ञहरूले सुझाव दिएका छन् । यसलाई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)भित्र समावेश गर्यो भने मात्र सिकाइ उपलब्धिले गति लिने उनीहरूको धारणा छ ।  

शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘प्रारम्भिक कक्षा पढाइः लगानी र उपलब्धि’ विषयक भर्चुअल संवाद कार्यक्रम शिक्षाबारमा शिक्षाविद् डा. विष्णु कार्कीले भने, ‘परियोजनालाई लामो अवधिमा नलगी राष्ट्रिय प्रणालीमा लैजानु पर्थ्यो । एकपछि अर्काे प्रोजेक्ट आइदियो ।’ उनले प्रोजेक्ट सानो स्केलमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम आइदिएको भए उपलब्धि पनि अहिलेको भन्दा बढी आउँनेथ्यो भने । ‘प्रोजेक्टले नियन्त्रणमुखी वातावरण बनाउँछ ।  

यसले उपलब्धिमा असर पार्छ,’ डा. कार्कीको भनाइ छ, ‘शुरुमै प्रोजेक्ट कार्यान्वयन थालिएकाले राष्ट्रिय कार्यक्रमले एउटा र इजिआरपी प्रोजेक्टले अर्काे इन्ट्रेस्ट बोकेर गएको देखियो ।’ डा. कार्कीले मातृभाषामा भन्दा पनि नेपालीमा शुरुदेखि नै गरेको भए मैथिली, भोजपुरीलगायतमा सजिलो पथ्र्याे भने । ‘शुरुदेखि गति नबढ्नु यो पनि एउटा कारण हो,’ उनले भने । प्रारम्भिक कक्षा पढाइमा अझैपनि नेपाल शुरुकै चरणमा रहेको अझ १५ वर्ष यो आवश्यक रहेको उनको भनाइ छ ।  

अमेरिकी सहयोग नियोग युएसआइडीको आर्थिक सहयोगमा नेपाल सरकारकै रेखदेखमा सन् २०१५–२०२० सम्म देशभर १६ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अर्थात् ‘इजिआरपी’ परियोजनाको अवधि सकिएको छ । पहिलो र दोस्रो चरणगरी यही जुलाईभित्र सकिने यस परियोजनाका लागि ६३.८ मिलियन अमेरिकी डलर छुट्याइएको थियो । तर, परियोजना सम्पन्न हुने चरणमा आइपुग्दा प्रतिफल भने उत्साहजनक नभएको डा. कार्कीले बताउनुभयो ।  

इजिआरपी युएसआइडीका कार्यक्रम निर्देशक नारायणकृष्ण श्रेष्ठले परियोजनाले नै मोडल बनाउने हो भन्दै प्रोजेक्ट परीक्षणबाट इजिआरपी राष्ट्रिय आवश्यकताको कार्यक्रम भएको बताउनुभयो । उनले सरकारले मात्र पूर्ण रुपमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम गर्न आर्थिक तथा प्राविधिक हिसाबले भार पर्ने भन्दै सघन कार्यक्रम गरेर नतिजा ल्याउन आफूहरू सक्रिय रहेको प्रष्ट्याउनुुभयो ।  

श्रेष्ठका अनुसार कार्यक्रम लागू भएका र नभएका जिल्लाबीचको तुलना गर्दै २० जिल्लामा अध्ययन गरिएको थियो । परियोजना सञ्चालित स्थानमा एक शब्द मात्र पढ्न सक्ने मातृभाषा नेपाली भएका विद्यार्थीको प्रतिशत ५२ बाट बढेर ६६ प्रतिशत पुगेको थियो । यस्तै, एक शब्द मात्र पढ्न सक्ने नेपाली मातृभाषा नभएका विद्यार्थी ३० प्रतिशत थिए । त्यो बढेर ४३ प्रतिशतमा पुग्यो । इजिआरपीमा १ देखि ३ कक्षाका विद्यार्थीको पठनप्रवाह प्रतिमिनेट ४५ शब्द शुद्धसँग पढ्न र ८० प्रतिशत बुझ्न सक्ने बनाउने लक्ष्य लिइएको छ । नेपाली पहिलो भाषा हुने विद्यार्थीमा कक्षा १ मा  ५.४,  दुईमा ८.७ र तीनमा १२.८ पुगेको देखिन्छ । यस्तै, नेपाली पहिलो भाषा नहुने विद्यार्थीको भने प्रतिमिनेट शुद्ध पढ्नसक्ने पठनप्रवाह कक्षा १ मा १.२, दुईमा १.४ र तीनमा ४.५ मात्र रहेको नतिजा छ ।  

इजिआरपीमाथि सन् २०१८ मा गरिएको मध्यवधि मूल्याङ्कनअनुसार नेपाली मातृभाषी विद्यार्थीको ११ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको नतिजा छ । यस्तै, नेपाली मातृभाषा नभएका विद्यार्थी २ प्रतिशतले फर्रर नेपाली पढ्थे । परियोजना अवधिमा १ प्रतिशत मात्र बढेर ३ मा पुगेको देखिन्छ । पठन सामग्रीका हकमा भने ९१ प्रतिशत कक्षामा कार्यपुस्तक रहेको दाबी गरिएको छ । ९६ प्रतिशत शिक्षकले शिक्षक निर्देशिका प्रयोग गर्ने गरेका छन् । ९६ प्रतिशत नै शिक्षकले ‘वर्क बुक’ र ८४ प्रतिशतले ‘डिकोडेबल बुक्स’ र पिन ह्विल चार्ट प्रयोग गर्ने गरेको पाइएको छ ।  

श्रेष्ठका अनुसार बालबालिकाको स्तरअनुसार एक सय ७७ थरीका सिकाइ सामग्री बनेका, ७७ लाख सन्दर्भ–सामग्री छापिएका र ५ हजारभन्दा बढी विद्यालयमा पुर्याइएका छन् भने ११ थरीका शिक्षक शिक्षण सामग्री बनाइएका छन् ।  

प्रारम्भिक कक्षा पढाइ हेरिरहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव युवराज पौडेलले भने यतिको नतिजा आउनुलाई पनि सकारात्मक रुपमा लिनुपर्ने बताए । ‘पढाइमा शून्य अवस्थामा रहेका बालबालिकाले कार्यक्रमपश्चात् सुधार गर्न सकेका छन्,’ उनले भने । उनले अब न्यूनतम सिकाइ प्याकेजसहित अबको दुई वर्षका लागि ३८ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बिस्तार गरिएको जानकारी दिए ।  

परियोजनालाई संक्रमणकालीन रुपमा सम्पन्न गर्नका लागि दुई वर्ष थप्न सरकार र दातृ समुदाय निर्णयमा पुगिसकेका छन् । शिक्षण सामग्रीयुक्त शिक्षक, सिकाइ तथा घरमा पढ्ने वातावरण, शैक्षिक सामग्रीको उपलब्धता र अभिभावकले छोराछोरीका पढाइका लागि दिने समयलाई आधार मानी इजिआरपी सञ्चालन गर्न लागिएको हो । इजिआरपीसम्बन्धी दस्तावेज लेखनमै संलग्न डा. कार्कीको टिप्पणी छ, ‘यहाँसम्म त ठिकै छ । मैलेचाहिँ पाँच वर्ष थपौं र नौवटा कम्पोनेन्टमा तलका कक्षाको पढाइ सुधारौं भनेको हुँ ।’

प्रकाशित: २९ असार २०७७ १६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App