७ वैशाख २०८१ शुक्रबार
शिक्षा

त्रिभुवन विश्वविद्यालयका परीक्षा ६ महिना पछाडि धकेलिन सक्ने

कोरोना त्रासका कारण चैत्र ११ गतेदेखि भएको बन्दाबन्दीले त्रिभुवन विश्वविद्यालयको सबै नियमति  परीक्षाहरु प्रभावित भएका छन्।  जसका कारण विश्वविद्यालयमा परीक्षा दिने तयारीमा रहेका ७ लाख बढी विद्यार्थीहरुको भविष्य अनिश्चित बनेको छ।  

यस्तै अवस्था रहने हो भने विश्वविद्यालयका परीक्षाहरु शैक्षिक क्यालेन्डर  भन्दा ६ महिना पछाडि धकेलिन सक्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। उनले यस वर्ष कोरोना महामारीका कारण चैत्र  ११ गतेदेखिनै लकडाउन भएलगत्तै त्रिविका स्नातकदेखि स्नातकोत्तर तहका सेमेस्टर र वार्षिक प्रणालीका कुनै पनि परीक्षाहरु संचालन गर्न नसकिएको बताए। उनले बैशाख १६ गतेदेखि संचालन गर्ने भनी सबै तयारी गरिएको स्नातक चौथो वर्षको परीक्षा रोकिए लगत्तै सबै परीक्षाहरु लथालिङनै बनेको जनाए।  

नियन्त्रक जोशीका अनुसार त्रिवि शैक्षिक क्यालेन्डर अनुसार  दशैं अघि सबै परीक्षाहरु सकिनु पर्ने थियो। विश्वविद्यालयले वर्षेनी बैशाख देखि भदौं सम्ममा नियमित ६ वटा परीक्षा संचालन गर्छ। स्नातक तहका चार र स्नातकोत्तर तहका दुई परीक्षाहरु गरी कुल ६ वटा परीक्षा संचालन गर्नु पर्छ। परीक्षा नियन्त्रक जोशीका अनुसार शैक्षिक क्यालेन्डर अनुसार बैशाख १६ गते स्नातक चौथो वर्षको, जेठ १८ गतेदेखि स्नातक तस्रो वर्षको, असार २४ गतेदेखि स्नातक दोस्रो वर्षको र भदौं ७ गतेदेखि स्नातक प्रथम वर्षको परीक्षा संचालन गर्ने तय भएको थियो। स्नातकोत्तर तह दोस्रो वर्षको माघ र प्रथम वर्षको चैत्रमा हुने गर्छन्। यो वर्ष स्नातकोत्तर  प्रथम वर्षको परीक्षा चैत्र ७ गते देखि हुने सबै तयारी भइसकेको थियो तर एसइई स्थगित साथै यो परीक्षा पनि स्थगित भएको उनले बताए।

वार्षिक प्रणाली तर्फ थुप्रै विद्यार्थी भएकोले अनलाईन परीक्षा संचालन गर्न असंभाव भएको उनको भनाई छ। ‘वार्षिक प्रणाली अन्तर्गतका ६ लाख र सेमेस्टर प्रणालीका एकलाख बढी विद्यार्थीहरु परीक्षा दिन पाएका छैनन्,’नियन्त्रक जोशीले नागरिकसँग भने‘परीक्षा केन्द्र  तोकिएका सबै कलेजहरु क्वारेन्टाइन बनाइएको छ। त्रिविमा अध्ययन गर्ने  विद्यार्थी ग्रामीण तथा दुर्गमकै बढी छन्।’ उनले थपे ‘वार्षिक प्रणालीको परीक्षाको केन्द्र तोकेर विद्यार्थी उपस्थित भई परीक्षा संचालन गर्नुको विकल्पनै छैन। त्यही भएर यस्तै अवस्था रहने हो भने त्रिवि क्यालेन्डर ६ महिना पछाडि धकेलिने मैले देखेको छु।’ यसको असर दीर्घकालिन रुपमा पर्ने उनको ठहर छ।  

परीक्षा सहनियन्त्रक घनश्याम ठाकुरले बैशाख १६ गतेदेखि सुरु हुने तय गरिएको स्नातक चौथो वर्षको परीक्षाको सबै प्रश्नपत्र, उत्तरपुस्तिकाहरु सबै जिल्लाहरुमा सुरक्षा निकायको निगरानीमै रहेको बताए। उनले स्नातक चौथो वर्षको परीक्षा संचालनको सबै तयारी रहेको र तेस्रो वर्षको विद्यार्थीले फारमसम्म भर्न भ्याएको जनाए। पहिलो र दोस्रो वर्षको फारम खोल्नै नसकेको बताए। ‘असार –भदौमा परीक्षा हुने प्रथम र दोस्रो वर्षको केहि कोर्ष कलेजहरुले पुरा गर्न बाकी थियो ,’ सहनियन्त्रक ठाकुरले भने‘अनलाइन कक्षा प्रभावकारी नभएकोले कोर्ष समेत पुरा हुन सकेको छैन। यस्तो अवस्थामा अनलाइन परीक्षा संचालन सम्भवन छैन।’ उनले थपे‘अनलाइन शिक्षा शहरी क्षेत्रमा समेत ४० प्रतिशतको पहुँचमा मात्र पुग्न सकेको छ।’ सहनिन्त्रक ठाकुरले ०७५ सालकै पनि २०७६ साल चैत्रमा संचालन हुने स्नातकोत्तर तह प्रथमा वर्षको परीक्षा समेत संचालन गर्न नसक्दा अगामी शैक्षिक सत्रमा क्यालेन्डर मिलाउन ठूलो चुनौति थपिएको बताए।  

विदेश तिर विश्वविद्यालय शिक्षाहरु अनलाईनमै संचलन हुने र परीक्षा पनि अनलाइनबाटै भइरहेको अवस्थामा नेपालमा भने समयमै परीक्षा नसकिन्दा विदेश अध्ययन गर्न जानेहरुको हकमा समस्या आएको उनको भनाई छ। ‘सेमेस्टर प्रणालीको ब्यवस्थापन संकायका विषय  र स्नातकोत्तर तहका परीक्षाहरु अनलाइनबाट संचालन गर्न त्रिविले गृहकार्य सुरु गरेको छ,’नियन्त्रक जोशीले भने ‘शिक्षाध्यक्षको अध्यक्षतामा समिति गठन भएर सेमेस्टर प्रणालीका परीक्षा संचालन, ब्यवस्थापन र नतिजा प्रकाशनको गृहकार्य सुरु भई मापदन्ड बनाउने तयारीमा त्रिवि लागेको छ।’ उनले थपे‘लकडाउनकै विचमा  पनिकाले यो वर्ष पुसमा हुने दीक्षान्तकोलागि  जेठमसान्तसम्म ट्रान्सक्रिप्ट लिने विद्यार्थीहरुको ग्रेसलिस्ट पास गराउने तयारी गरेको छ। विद्यार्थी गत वर्षको तुलनामा १० हजार घटेका छन्। यो वर्ष ५० हजार विद्यार्थीको असार १५ गते बस्ने त्रिवि सभाले ग्रेसलिस्ट पास गर्ने छ।’ नियन्त्रक जोशीले गत  वर्ष सम्पन्न भएका धेरै विषयका परीक्षाहरुको नतिजा प्रकाशन गर्ने काम लकडाउन अवधिमा गरिएको जनाए।  

 

प्रकाशित: १५ असार २०७७ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App