१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कक्षा १ को थप पाठ्यक्रम तत्काल स्वीकृति गर्न माग

निजी प्रकाशन गृहहरूले कक्षा १ को थप पाठ्य सामग्री तयार पारेर पाठ्यक्रम विकास केन्द्रमा स्वीकृतिका लागि अनुरोध गरेका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले शुक्रबार पाठ्यक्रम विकास केन्द्रलाई थप पाठ्य सामग्री प्रकाशन तथा वितरणका लागि  यथाशीघ्र स्वीकृत गरिदिन ज्ञापनपत्र बुझाएका हुन् ।

संघका महासचिव दिवाकार घिमिरेको हस्ताक्षरसहितको ज्ञापनपत्र पाठ्यक्रम विकास केन्द्रका निमित्त महानिर्देशक रुद्रप्रसाद अधिकारीलाई बुझाएका छन् । लकडाउनका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिका उनीहरूको कक्षा उत्तीर्णसँगै नयाँ कक्षाका पाठ्यपुस्तक उपलब्ध गराउनसके उनीहरू घरै बसेर स्वाध्ययन गर्न सक्ने वातारण सृजना हुने भएकाले केन्द्रले यथाशीघ्र स्वीकृति गरी कक्षा १ को पाठयपुस्तक बिक्रीवितरण गर्ने बाटो खोलिदिन माग गरेको छ ।  

कक्षा २ देखि १० सम्मको पाठ्यपुस्तक सहज रुपमा वितरण भए पनि कक्षा १ का लागि थप पाठ्यपुस्तकका रुपमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति गराई निजी प्रकाशन गृहहरूबाट प्रकाशित हुने पुस्तकको स्वीकृतिमा ढिलाइ भएकाले पाठ्यक्रम बिक्रीवितरणमा समस्या उत्पन्न भएको संघले बुझाएको विज्ञप्तिमा उल्लेख छ ।  

केन्द्रका प्रवक्ता गणेश भट्टराईले पाठ्यक्रम स्वीकृति समीतिको अध्यक्ष केन्द्रका महानिर्देशक हुने तर हाल केन्द्र महानिर्देशकविहीन भएकाले स्वीकृतिमा ढिलाइ भएको जनाए । उनले स्वीकृति समीतिका सदस्यसमेत जिल्लाबाहिर भएकाले बैठक बस्न नसकेको जनाए । ‘निजी प्रकाशन गृहहरूले कक्षा १ को थप पाठ्यसामग्री स्वीकृतिका लागि परिमार्जनसहित केन्द्रमा बुझाउनुभएको हो,’ प्रवक्ता भट्टराईले भने, ‘तर हाल हाम्रो केन्द्रका महानिर्देशक रिक्त रहेकाले र समिति सदस्यहरू बाहिर भएकाले बैठक बस्न सकिएको छैन ।’

मन्त्रालयले हाल केन्द्रमा महानिर्देशकको पदमा रुदप्रसाद अधिकारीलाई निमित्त दिएको छ । तर, मुख्य निर्णय गर्ने अधिकार भने दिएको छैन । पाठ्यक्रम स्वीकृति समीतिले निजी प्रकाशन गृहहरूले बुझाएको थप पाठ्य सामग्री नयाँ पाठ्यक्रमसँग मेल खाएनखाएको जाँची बुझी मात्र दिने भएकाले बैठक बस्नु आवश्यक रहेको निमित्त महानिर्देशक अधिकारीले बताए । उनले आफूलाई निमित्तको अधिकार दिए पनि निर्णय गर्ने अधिकार नभएकाले स्वीकृतिमा ढिलाइ हुन गएको स्पष्ट पारे ।  

हाल केन्द्रमा महानिर्देशकको पद रिक्त भएकाले केन्द्र अस्तव्यस्त भएको छ । अन्य शैक्षिक निकायहरूले भर्चुअल मिटिङ डाकेर आआफना काम गरिरहेका छन् । तर, पाठ्यक्रम विकास केन्द्रमा मुख्य पद नै रिक्त भएकाले यस वर्षदेखि कक्षा २, ३ र ६ का लागि नयाँ पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार गरिनुपर्ने र त्यसलाई परीक्षणमा पठाउने पर्ने कामसमेत रोकिएको छ । केन्द्रका आन्तरिक निर्णय सबै प्रभावित भएका छन् । केन्द्रले कक्षा २, ३ र ६को पाठ्यपुस्तक तयारी र परीक्षणको काम समयमै नसक्दा लकडाउन खुल्ना साथ थप चुनौती आउने निश्चित छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ २३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App