१३ आश्विन २०७७ मंगलबार
शिक्षा

ओखलढुंगामा विद्यालय पुनर्निर्माण सुस्त

५ वर्षमा १२६ विद्यालय भवन बने, हजारौ विद्यार्थी अझै टहरामै

ओखलढुंगामा विद्यालय पुनर्निर्माणको काम सुस्त देखिएको छ । २०७२ को विनासकारी भूकम्प गएको ५ वर्ष वितिसक्दा पनि भूकम्पबाट क्षति भएका विद्यालयहरू अझै पुनर्निर्माण भईनसकेका हुन् ।

साविकको जिल्ला शिक्षा कार्यालय माफर्त भईरहेको विद्यालय पुनर्निर्माणको काम अहिले हाल कायम गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले गरिरहेको छ । जिल्लामा केही विद्यालय ठेकेदार मार्फत र केही व्यवस्थापन समिति तथा उपभोक्ता समिति मार्फत निर्माणको काम भईरहेका छन् । सबैजसो विद्यालय भवन निर्माणको काम सुस्त चलिरहेको छ ।  

५ वर्षमा १२६ विद्यालय भवन बने

विनासकारी भूकम्पको ५ वर्षमा बल्ल ओखलढुंगामा १ सय २६ वटा विद्यालय पुनर्निर्माण गरिएको छ । २०७२ को भूकम्पबाट पूर्ण क्षति भएका मध्ये १ सय २६ वटा विद्यालय पुननिर्माण गरिएको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको तथ्याङक अनुसार आर्थिकवर्ष २०७३÷०७४ मा आयोजना र विद्यालय व्यवस्थापन समिति बीचको सम्झौता अनुसार ४७ वटा विद्यालय भवन निर्माणको काम थालिएको थियो । त्यसमध्ये ४४ वटा भवन निर्माण सम्पन्न भएका छन् । ३ वटा भवन निर्माणको काम अझै सकिएको छैन । उक्त आर्थिक वर्षमा २ कोठे भवन १५ वटा, ३ कोठे १२ वटा, ४ कोठे १४ वटा, ६ कोठे ४ वटा र ८ कोठे गरि ४७ विद्यालयका १६२ कक्षा कोठा निर्माणको काम थालिएको थियो । ४ वर्ष अघि सम्झौता गरेर निर्माण थालिएको कामको ९८ प्रतिशत काम सकिएको भनिएपनि ३ कोठे एउटा र ६ कोठे २ वटा भवन निर्माणको काम सकिएको छैन ।

त्यस्तै आर्थिकवर्ष २०७४/०७५ मा थप ४६ वटा विद्यालय पुननिर्माणको काम थालिएकोमा अहिले सम्म ४० वटा भवनको मात्रै काम सकिएको छ । ४ कोठे ४ वटा, ६ कोठे एउटा र ८ कोठे एउटा गरी ६ वटा भवन निर्माणको काम सुस्त गतिमा भईरहेको छ । उक्त आर्थिकवर्षमा विव्यस मार्फत नै १ सय ५९ वटा कक्षा कोठा निर्माण गर्ने सरकारी लक्ष्य थियो ।

आर्थिकवर्ष २०७५/०७६ मा दुई चरण गरी पुनर्निर्माणको काम थालियो । पहिलो चरणमा ३२ विद्यालयका ९९ कक्षा कोठा र दोस्रो चरणमा फेरी ३२ वटै विद्यालयका ९९ वटा नै कक्षा कोठा निर्माणको काम थालिएको थियो । त्यसमध्ये पहिलो चरणमा सम्झौता भएका ३२ मा २६ वटा विद्यालय भवन बनाउने काम सकिएको छ । बाँकी ६ वटा भवन निर्माणको काम अझै सकिएको छैन । दोस्रो चरणमा सम्झौता भएका सबै ३२ वटै विद्यालय निर्माणाधिन अवस्थामै छन् ।  

आर्थिकवर्ष २०७५/०७६ मा जिल्लाका विद्यालयहरूमा शौचालय निर्माणको काम थालिएको छ । १ युनिटका १८ र २ युनिटका ३२ गरी ५० वटा शौचालय निर्माणको सम्झौता अनुसार अहिलेसम्म ४ वटाको काम सकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका ईन्जीनियर सविन लामाले जानकारी दिए । अन्य ४६ वटा शौचालय र बाँकी विद्यालय भवनको काम भईरहेको उनको भनाई छ । ‘तथ्याङ्कले धेरैजसो त प्रगति नै देखाउँछ ।

केही विद्यालय भवनको सबै काम नसकिएको भएपनि अब छिट्टै सक्नेगरी लागि परेका छौं ।’ उनले भने, ‘कतिपय ठाउँमा सामान ढुवानीको समस्या, कामदार अभाव लगायतका कारण पनि भनेजस्तो गतिमा काम गर्न चुनौती छ ।’ जिल्लाका अधिकांश विद्यालयमा निर्माण सामाग्री पु¥याउन समस्या भएको विद्यालय व्यवस्थापन समितिहरूले बताउने गरेका छन् ।  

जिल्लामा एशियाली विकास बैकको आर्थिक ऋण सहयोगमा केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्धारा १९ वटा विद्यालय पुननिर्माणको काम थालिएकोमा १६ वटा मात्रै समयमै निर्माण भएका छन् । ठेकेदार माफर्त काम सुरु गरिएका विद्यालय पनि अझै ३ वटा निर्माण सम्पन्न हुन बाँकी छन् ।

अपाङ्ग मैत्री भवन नभएको गुनासो  

भूकम्पपछि व्यवस्थित बनाईएका भनिएका विद्यालयहरू पनि अपाङ्ग मैत्री नभएको गुनासो बढेको छ । विद्यालय व्यवस्थापन समिति मार्फत उपभोक्ता समितिले बनाएका भवनहरू अपाङ्ग मैत्री छैनन् । अपाङ्ग मैत्री संरचना नहुँदा फरक क्षमता भएका विद्यार्थीलाई कक्षा कोठमा पुग्नै समस्याहुने किशोरी समुहकी पूर्व अध्यक्ष सरस्वती बानीयाँले बताईन् । 

‘ठुलो धनराशी खर्च गरेर बनाईएका विद्यालयहरू व्यवस्थित बनाउन खोज्नु राम्रो हो तर अपाङ्ग  विद्यार्थीको पहुँच कक्षा कोठा नहुने अवस्था देखियो ।’ उनले भनिन्, ‘सबै त्यस्ता छैनन् । पूननिर्माण गरिएका पनि कतिपय विद्यालय अपाङ्गमैत्री, सबै सुविधा सम्पन्न छन् तर धेरैजसो विद्यालयमा त्यस्तो छैन ।’ कुन्ता मावि ज्यामीरे सहितका विद्यालयका अभिभावकले सम्झौता अनुसारको संरचना नबनेको आरोप समेत लगाएका छन् ।  

नमूना विद्यालयकै काम सबैभन्दा सुस्त  

जिल्लाको वरुणेश्वर मावि रामपुर र रुम्जाटार मावि रुम्जाटार नमुना विद्यालय हुन् । यी दुवै विद्यालयमा नमुना विद्यालयको मापदण्ड अनुसार संचरना निर्माणको काम थालिएको छ । तर सकिनुपर्ने समय वितिसक्दा पनि आधा काम भएको छैन । ठेकेदारले सुरुका दिनहरूमा अपेक्षित काम नगर्दा समयमा काम नभएको वरुणेश्वर माविका प्रअ कुलप्रसाद खतिवडाले बताए । ‘हाम्रो विद्यालय नमुना विद्यालय हो ।

त्यहि अनुसारको संरचना बनाउने काम भईरहेको छ तर नमुना भनिएको विद्यालयको काम तिव्र गतिमा गरेर नमुना बनाउनु पर्नेमा सुस्ततामा पो नमुना बनेजस्तो भयो ।’ खतिवडाले भने,‘हाम्रो विद्यालयमा मात्रै होईन धेरै ठाँउका विद्यार्थीहरू टहरामा बसेर पढ्न बाध्य छन् । विद्यालयका भवन निर्माणको काम ढिलाई हुँदा भौतिक प्रगति मात्रै होईन शैक्षिक उपलब्धि गुम्ने खतरा छ ।’ रुम्जाटार माविमा पनि ठेकेदार माफर्त भईरहेको काम निकै सुस्त छ ।

विद्यार्थी अझै जिर्ण भवन र टहरामा

भूकम्प अति प्रभावित  १४ जिल्लामा परेको ओखलढुंगाका ३ सय ३२ विद्यालय मध्ये अधिकांश विद्यालयका भवन पूर्ण रुपमा क्षति भएका थिए । तत्कालिन जिल्ला शिक्षा कार्यालय र पुनर्निर्माणका प्राविधिकहरूले बढी क्षति भएकालाई उच्च जोखिममा राख्दै कम क्षति भएकालाई मध्यम जोखिममा राखेका थिए । उच्च जोखिममा रहेको भनिएका विद्यालयमा रातो स्टिकर र मध्यम जोखिममा रहेका विद्यालयमा हरियो हरियो स्टिकर टाँसिएको थियो ।  

अध्ययान अध्यापन गराउन नमिल्ने भनेर रातो  स्टिकर टाँसिएका विद्यालय भवनहरू नै अहिले प्रयोगमा आईरहेका छन् । जोखिम औंल्याईएका स्टिकर फालेर तिनै जिर्ण भवन भित्र पढाई भईरहेको छ ।  

जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माविको ठुलो भवन तत्कालिन समयमा पूर्ण क्षति भएको भन्दै रातो स्टिकर टाँसिएको थियो । केही दिन नबित्दै रातो स्टिकर हटाएर त्यहि भवनमा पठनपाठन थालिएको छ । जिल्लाका अन्य धेरै विद्यालयको अवस्था उस्तै छ । छानो भएका भवन जिर्ण भएपनि प्रयोग गरिएका छन् भने पुरै भवन भत्किाएका विद्यालयले टहरामा विद्यार्थी राखेर पढाईरहेका छन् ।  

भूकम्पले भत्काएका भवन समयमा पुनर्निर्माण भईनसक्दा जस्ताको टहरामा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको सुनकोशी ९ कटुञ्जे स्थित चम्पादेवी आधारभुत विद्यालय ककनीका शिक्षक तीलक तामाङले बताए । ‘हिउँदमा बेस्सरी जाडो हुन्छ । वर्षामा पानीले उस्तै सताउँछ तर पनि जस्ताको टहरामा राखेर पढाउनुको विकल्प छैन हामीसँग’ उनले भने, ‘बल्ल एउटा भवन परेको छ । पर्याप्त त हुँदैन त्यो बनिसक्दा केही सहजता भने पक्कै हुनेछ ।’ जिल्लाका धेरैजसो विद्यालय भूकम्पका बेला बनाईएका अस्थायी टिएलसीमा सञ्चालित छन् ।  

पहुँच नहुने विद्यालय पूननिर्माणको सूचिमा परेनन्  

ओखलढुंगा जिल्ला भूकम्प अति प्रभावित १४ जिल्लामा परेको जिल्ला हो । यहाँका करिब २३ हजार निजी आवास पूर्ण क्षतिको सूचिमा परेका छन् तर जिल्लाका जम्मा ३ सय ३२ वटा विद्यालय मध्ये आधा पनि पूर्ण क्षतिको सूचिमा परेका छैनन् ।  

पूर्णक्षतिको सूचिमा समेटिएका विद्यालय पनि पहुँच नभएका कारण पूनर्निर्माणमा पर्न सकेका छैनन् । केन्द्रबाट प्राप्त समिति कोटाका लागि प्रस्ताव आवहन हुँदा सबैजसो विद्यालयले निवेदन दिने गरेका छन् । पहुँचवालाहरूले आफ्नो विद्यालयमा कोटा लिने गरेकाले वर्षेनी प्रस्ताव पेश गरेपनि सुनुवाई नभएको पुनर्निर्माण हुन नसकेका विद्यालयहरूले जनाएका छन् ।  

विद्यालयजस्तो संवेदनशिल क्षेत्रको पुनर्निर्माण समयमै हुन नसक्नु दुःखद् भएको सरोकारवालाको भनाई छ । जिल्लामा ट्रान्सपरेन्सी ईन्टरनेश्नलले भूकम्प पछिको पुनर्निर्माणका बारेमा नियमित अवलोकन गर्दै आएको छ । 

विद्यालय र निजी आवास तथा अन्य सार्वजनिक संरचना पुनर्निर्माणको अवलोकनबाट प्राप्त तथ्य र सुझावहरू सरोकारवाला पक्षमाझ प्रस्तुत गर्ने गरिएको ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका जिल्ला संयोजक भलामान विश्वकर्माको भनाई छ । पुनर्निर्माणम देखिएका चुनौती समाधान गर्दै प्रगति बढाउन सबै पक्ष लागेर पहल गर्नुपर्ने आवश्यकता रहेको ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले जनाएको छ ।  

प्रकाशित: १ जेष्ठ २०७७ १६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App