२८ असार २०७७ आइतबार
शिक्षा

प्रभावकारी बन्दै भर्चुअल कक्षा (अपडेट)

भक्तपुर – नेपाल सरकारले लकडाउन गरेको विषम परिस्थितिमा यसवर्ष एसइई परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गरी भक्तपुर नगरपालिकाले भादगाउँ टेलिभिजन तथा सामाजिक सञ्जालमामार्फत सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी रहेको देखिएको छ। नगरपालिका क्षेत्रभित्रका मात्र नभई देशैभरिका विभिन्न जिल्लाका विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया आएको जनाएको छ।  

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सामाजिक दूरी कायम गरी भर्चुअल कक्षा सञ्चालन गर्ने शिक्षकहरूबीच सम्पन्न समीक्षा बैठकमा सहभागी शिक्षकहरूले आपूmहरूलाई विभिन्न जिल्लाबाट विद्यार्थीले सम्पर्क गरी सल्लाह सुझाव तथा प्रश्नहरू सोध्ने गरेको जानकारी दिए। बैठकमा नगर प्रमुख प्रजापतिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोग संक्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले सबै परीक्षाहरू स्थगित गर्दा परीक्षाको अन्तिम तयारीमा बसेका विद्यार्थी निराश बनेको चर्चा गर्दै उनीहरूको शैक्षिक भविष्यप्रति नगरपालिका जिम्मेवार भई कक्षा सञ्चालन गरेको स्पष्ट पारे।  

नगर शिक्षा अधिकृत कृष्णप्रसाद कर्माचार्यले भर्चुअल कक्षा सञ्चालनको अवधारणाबारे चर्चा गर्दै यसबाट देशभरिकै विद्यार्थीलाई लाभ पुगेको प्रतिक्रिया आएको जनाए। बैठकमा बोल्दै शिक्षक ज्ञानसागर प्रजापतिले स्थानीय सरकारको अगुवाइमा भर्चुअल कक्षा सुरु गर्ने भक्तपुर नगरपालिका मात्र रहेको चर्चा गर्दै कक्षाले विद्यार्थीलाई मात्र नभई स्वयं शिक्षकलाई समेत धेरै कुरा सिकाएको बताए। अर्का शिक्षक महेन्द्रगोपाल कर्माचार्यले थोरै समयको तयारीमा सीमित स्रोत साधन र सीमित शैक्षिक जनशक्तिको उपयोग गरी नमुना कार्य गरेकोमा नगरपालिकालाई धन्यवाद दिए। 

उनले विद्यार्थीहरूको सिर्जनशीलतालाई ध्यानमा राखेर आधुनिक प्रविधिको प्रयोग गरी कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए। अर्का शिक्षक रोशनराज तुइतुईले नगरपालिकाबाट सञ्चालित कक्षाको विश्वसनीयता बढेको बताए। उनले कक्षाहरूलाई नगरपालिकाको आधिकारिक फेसबुक पेज तथा युट्युब च्यानलमार्फत प्रसारण भए थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। शिक्षक हरिप्रसाद ढकालले हाल एसइई केन्द्रित विद्यार्थीहरूलाई सञ्चालन गरिरहेको कक्षालाई थप परिस्कृत गरी अन्य कक्षासमेत यही विधिबाट कक्षा सञ्चालन गर्न सकिनेमा जोड दिए। शिक्षक कृष्णबहादुर प्रजापतिले कोरोना भाइरसका कारण लामो समयसम्म विद्यालय सञ्चालन नहुने स्थिति सिर्जना भए विद्यालय तहका सबै विद्यार्थीलाई लक्षित गरी वैकल्पिक शिक्षण विधि तयार गर्न सुझाव दिए ।  

बैठकमा शिक्षक गंगादत्त भट्ट, एनबी खाताखो, रत्नप्रसाद फैजू, बिजेन्द्रवीर कर्माचार्य, मंगलेश्वर ध्वजू, पूजा शाक्य, नवीन्द्रलाल कर्माचार्यलगायतले विद्यार्थीलाई आकर्षित गर्ने प्रविधिको अधिकतम प्रयोग गरी कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए  उनीहरूले विद्यार्थीका लागि कक्षा बोझ नभई खेलको रूपमा सिकाउने विधि प्रयोग गर्न पाए थप प्रभावकारी हुने धारणा राखे।  

नगरपालिकाले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गरी यही २०७७ वैशाख ३ गतेबाट भादगाउँ टेलिभिजनमार्फत प्रत्येक दिन साँझ ५ बजेदेखि ८ बजेसम्म भर्चुअल कक्षा सुरु गरेको थियो। अहिलेसम्म अंग्रेजी विषयको १० वटा, नेपाली विषयको ११ वटा र सामाजिक विषयको १४ वटा कक्षा प्रसारण भएको नगर शिक्षा अधिकृत कर्माचार्यले जानकारी दिए। उनका अनुसार यस अवधिमा विज्ञान विषयको १३ वटा, गणित विषयको १३ वटा, स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको २ वटा र लेखा विषयको एउटा गरी जम्मा ६४ वटा कक्षा प्रसारण भइसकेका छन् । विद्यार्थीहरूले टेलिभिजनबाहेक फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालमार्फत आफ्नो अनुकूल समयमा ती कक्षा हेर्न र पढ्न सकिने व्यवस्था गरिएको उनले जनाए।  

 

प्रकाशित: ३० वैशाख २०७७ १९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App