ठाकुर मात्र होइन, राजधानीमा चल्न थालेको यस्तो प्रदर्शनीले आम लेखक र प्रकाशकलाई हौस्याउन थालेको छ। त्यसैले यहि अवसर पारेर पुस्तक प्रकाशन गर्ने, विमोचन गराउने र लेखकको हस्ताक्षर कार्यक्रम आयोजना गर्ने होडबाजी नै चल्न थालेको छ।
बुधबार मात्रै कवि हरि अधिकारीको ‘गार्मेन्टकी गायत्री' विमोचन सम्पन्न गराएको फाइन प्रिन्ट बुकले शनिबार अर्का चर्चित लेखक खगेन्द्र संग्रौलाको नवीन कृति ‘मंगलीको अधुरो क' विमोचन तयारी गरिरहेको छ। मेलाकै अवसर पारेर उसैले निकट भविष्यमा ल्याउन लागेको बुद्धिसागरको ‘कर्नाली ब्लुज' को प्रचार प्रसार पनि व्यापक रुपमा गरिरहेको छ।
‘मेलाकै निम्ति भनेर छाप्ने काम पक्कै गरेका होइनौं,' फाइन प्रिन्टका अजित बराल भन्दै थिए,'तर, यसै समयको छेउछाउ निकाल्ने तयारी गरिएका पुस्तकलाई यो अवसरको संयोगसँग जोड्ने काम सबैले गर्न थालेका छौं।'
फाइन प्रिन्ट मात्र होइन यो मौका पारेर सबैजसो प्रमुख प्रकाशनले कुनै न कुनै नयाँ कृति ल्याएकै छन्।
त्यसमध्ये रत्न पुस्तक भण्डारले अहिलेको बेस्ट सेलर तारा राईको ‘छापामार युवतीको डायरी' र पत्रकार देवेन्द्र भट्टराईको ‘रेगीस्तान डायरी', पैरवीले कृष्ण धरावासीको ‘आँधि नआउने घर', श्रीरामसिंह बस्नेतको ‘यौनका सुख दुख', झमकप्रसाद शर्माको ‘अंग्रेजी अनुवादसहितको मुनामदन' र झमककुमारीको ‘जीवन काँडा कि फूल' जस्ता किताबहरु स्टलमा राखेको छ।
यसैगरि एकता बुक्सले नेत्र एटमको ‘नेपाली डायस्पोरा र अन्य समालोचना' लाई शनिबार विमोचन गर्ने तयारी गरे पनि अहिल्यै स्टलमा राखिसकेको देखिन्छ। दुई दिनअघि मात्र डिकुरा प्रकाशनले कृष्ण शाह ‘यात्री'को रचना र सम्पादनका एकसाथ ३२ वटा बाल साहित्य कृतिको विमोचन गरेको थियो।
हरि अधिकारी, कृष्ण शाह, जिवन प्रसाई, किशोर पहाडी, अशेष मल्ल, राजेश्वर ठाकुर र हरिबहादुर बि.सी.लगायतका पुस्तक विमोचन भइसकेको यो प्रदर्शनीमा खगेन्द्र र नेत्रका पुस्तकहरु विमोचनका क्रममा उभिएका छन्।
‘प्रदर्शनीले पुस्तक विक्री र प्रवर्द्धनमा तरंग ल्याउने गरेको छ,' रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठ भन्दै थिए,'त्यसैले अलिक समय वरपर छाप्ने तयारी गरिरहेका पनि प्रदर्शनीमा राख्न हतारिने गर्छन्।'
प्रदर्शनीमा पुगेर आफ्ना पुस्तकमा हस्ताक्षर गर्नेहरुको लर्को पनि सानो छैन। बिहीबार मात्रै पनि कवि श्रवण मुकारूङ्ग र लेखक कृष्ण धरावासी आफ्नो पुस्तकमा हस्ताक्षर गरिरहेको देखिन्थे। यो मेलामा मात्रै आफ्नो दुई सयवटा कविता संग्रह विक्री भएको बताउने श्रवणले फर्किने बेला ‘छापामार युवतीको डायरी' किनेर झोलामा हालेका थिए।
‘पहिला अवलोकनको लागि मात्र आउनेहरुको संख्या बढी हुन्थ्यो,' आयोजकका तर्फबाट केशव खत्री भन्दै थिए,'यसपाला किन्नकै निम्ति आउने पाठक धेरै छन्।'
यो मौका छोप्न नपाएकोमा अर्का सर्जक मञ्जुललाई थकथक लागिरहेको छ। ‘मैले समयमा लेखेर दिन नसकेकै कारण प्रकाशकले राख्न भ्याएनन,' उनले भने,'त्यो पुस्तक अब केहि महिनाभित्रै आउने छ।' मञ्जुलका अनुसार उनले पनि बिहीबार केहि भारतीय कविता र कथा संग्रह किनेका छन्।
यस्ता मेलाकै माध्यमबाट साहित्यकर्मीले पनि राम्रो विज्ञापन पाउन थालेको धारणा खगेन्द्र संग्रौला राख्छन्।
‘विचार र शैलीले स्तरिय भएपनि सही पाठक नपाउदा कहिलेकाहि रचना नै खिएर जान्छ,' संग्रौला भन्दै थिए,'यस्ता मेलाले त्यस्तो संभावनालाई न्यून पार्दै लगेको छ।' पाठकले लेखकसँग भावना साट्न पाउनु यस्तो मेलाको उल्लेखनीय विशेषता रहेको संग्रौलाले बताए।
जीतुको झोलामा पाँच पुस्तक
प्रदर्शनीमै बिहीबार चर्चित हाँस्य कलाकार जीतु नेपालपनि भेटिए। साहित्यको नियमित पाठक बताउने उनले ‘खोजेजस्तो पुस्तक नभेटेको' गुनासो गर्न छुटाएनन्। तै पनि उनको झोलामा पाँचवटा पुस्तक देखिए। त्यसमा जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा', नारायण वाग्लेको ‘मयूर टाइम्स', ‘आधा बाटो'लगायत थिए।
‘भदौ २ गतेदेखि इजराइल भ्रमणमा जाँदैछु,' उनले भने, ‘त्यतिबेला यी पुस्तकहरु मेरा साथी हुनेछन्।'
‘छापामार...'को तेश्रो संस्करण
प्रदर्शनी अवधिमै सार्वजनिक भएर यो नसकिँदै तीनवटा संस्करण छापिने पुस्तकका रुपमा ‘छापामार युवतीको डायरी' देखापरेको छ।
‘दोश्रो संस्करण पनि सकिएको छ,' प्रकाशक रत्न पुस्तक भण्डारका गोविन्द श्रेष्ठले भने,'बिहीबार बेलुकीदेखि एउटै प्रति पनि बाँकी नरहेपछि फेरि प्रेसमा तेश्रो संस्करणका निम्ति अर्डर गइसकेको छ।'
श्रेष्ठका अनुसार दुवै पटक ११ सयका दरले छापिएको उक्त पुस्तक अहिलेसम्म काठमाडौं बाहिर पठाउनै पाइएको छैन। ‘प्रदर्शनपछि जिल्लातिर पनि पठाउने योजना छ,'श्रेष्ठले भने।
प्रकाशित: २७ श्रावण २०६७ १९:५६ बिहीबार





