३० पुस २०८२ बुधबार
image/svg+xml
शिक्षा

कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशका ५६.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार एसइईको नतिजा प्रकाशन गरेको थियो। गत वर्ष यस प्रदेशमा ४१ दशमलव ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। 

यो वर्ष कर्णाली प्रदेशबाट एसइई दिएका ३१ हजार सात सय ७३ विद्यार्थीमध्ये १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास निर्देशनालय, सुर्खेतका अनुसार १३ हजार सात सय ३१ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन्। जुम्लाबाट दुई हजार पाँच सय १० परीक्षार्थीले एसइई दिएकामा एक हजार नौ सय विद्यार्थी उत्तीर्ण भएका छन् भने ६ सय ६ विद्यार्थी अनुत्तीर्ण भए। उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा ७५.८५ रहेको शिक्षा विकास तथा समन्वय इकाइ, जुम्लाका प्रमुख शेरबहादुर रोकायाले बताए। 

कालीकोटबाट एसइईमा ६५.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कालीकोटबाट यस वर्ष तीन हजार एक सय ९५ जना एसइईमा सहभागी भएकामध्ये एक हजार आठ सय २४ विद्यार्थी उत्तीर्ण भए। एक हजार तीन सय ७१ विद्यार्थी अनुत्तीर्ण भएका छन्। यस्तै शिक्षा विकास निर्देशनालय, सुर्खेतको तथ्यांकअनुसार मुगुबाट ६९.९ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण भएका छन्। सात सय ३१ जनाले एसइई परीक्षा दिएका थिए। 

त्यसमध्ये पाँच सय पाँच जना मात्र उत्तीर्ण भएका छन्। दुई सय २६ विद्यार्थी अनुत्तीर्ण भए। शिक्षा विकास निर्देशनालय, सुर्खेतका निमित्त निर्देशक दीपा हमालका अनुसार हुम्लादेखि ५१.६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नौ सय ३६ विद्यार्थीले एसइई दिएका थिए। जसमध्ये चार सय ८३ विद्यार्थी उत्तीर्ण भएका छन् भने चार सय ५३ विद्यार्थी अनुत्तीर्ण भएका छन्। 

डोल्पाका ३३.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सात सय ४६ विद्यार्थी एसइईमा उपस्थित भएका थिए। दुई सय ४७ विद्यार्थी उत्तीर्ण भए भने चार सय ९९ विद्यार्थी अनुत्तीर्ण भए। जाजरकोटबाट चार हजार तीन सय परीक्षार्थीले एसइई दिएकामा तीन हजार पाँच सय ३१ विद्यार्थी उत्तीर्ण भएका छन् भने सात सय ६९ विद्यार्थी अनुत्तीर्ण भए। उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत ८२.११ रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले जनाइन्। 

रुकुमपश्चिमबाट यो वर्ष तीन हजार चार सय ४५ जनाले एसइई दिएका थिए। जसमध्ये दुई हजार पाँच सय ८२ विद्यार्थी उत्तीर्ण भएका छन्। ७४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ भने आठ सय ६३ विद्यार्थी अनुत्तीर्ण भएका छन्। यस्तै दैलेखमा २२.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। यस वर्ष दैलेखबाट चार हजार सात सय ७५ विद्यार्थीले एसइई दिएका थिए। जसमध्ये एक हजार ९३ विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै, तीन हजार ६ सय ८२ विद्यार्थी अनुत्तीर्ण भएका छन्।

सल्यानमा दुई हजार ६ सय ७८ विद्यार्थी उत्तीर्ण भए। यो वर्ष चार हजार ६४ विद्यार्थीले एसइई दिएका थिए। यस वर्ष ६५ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बताइएको छ। सल्यानमा एक हजार तीन सय ८६ विद्यार्थी अनुत्तीर्ण भए। सुर्खेतबाट ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्यांक सार्वजनिक गरिएको छ। सुर्खेतबाट यो वर्ष सात हजार ७१ परीक्षार्थीले परीक्षा दिएका थिए। जसमा तीन हजार एक सय ९५ विद्यार्थी उत्तीर्ण भएका छन्। 

तीन हजार आठ सय ७६ विद्यार्थी अनुत्तीर्ण भए। देशभर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। चार लाख ३८ हजार आठ सय ९६ विद्यार्थी एसइईमा सहभागी भएका थिए भने दुई लाख ७१ हजार दुई सय ९९ विद्यार्थी उत्तीर्ण भए। एक लाख ७६ हजार पाँच सय ९७ विद्यार्थी अनुत्तीर्ण भए ।

प्रकाशित: १७ असार २०८२ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App