१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
शिक्षा

ताप्लेजुङमा एसइई नतिजा : तीन विद्यालय निल, पाँच विद्यालयमा सतप्रतिशत नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङका तीन विद्यालयबाट कोहि पनि विद्यार्थी उर्तीण नहुँदा पाँच विद्यालयका विद्यार्थी भने सबै उतीर्ण भएका छन् ।  

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार परीक्षामा सहभागी सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरुमा फुङलिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा(भाषा)विद्यालय, फक्ताङलुङ गाउँपालिका वडा नं ३ को सिँवा मावि लिङखिम र वडा नं ५ तापेथोकको सरस्वती मावि तापेथोक, आठराई त्रिबेणीको गुप्तेश्वर मावि फुलवारी र मिक्वाखोला गाउँपालिकाको मोति मावि खोक्लिङ रहेका छन् ।  

यस्तै परीक्षामा सहभागी कुनै पनि विद्यार्थी उर्तीण हुन असफल रहेका विद्यालयहरुमा सिदिङ्वा गाउँपालिकाको सरस्वती मावि साब्लाखु, सिरिजङ्गा गाउँपालिकाको राष्ट्रिय मावि पेदाङ र मेरिङदेन गाउँपालिकाको सिंहदेवी मावि थिङलाबु रहेका छन् ।  

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार ताप्लेजुङबाट यसवर्ष ६८ विद्यालयले एसइई परीक्षा लेखेका थिए । पहिलो पटक एसइई परीक्षामा सहभागी भएको जिल्लाको एकमात्र परम्परागत विद्यालय साङ्क देछ्योलिङ गोन्पा(भाषा) विद्यालयका विद्यार्थीले जिल्लामै राम्रो नतिजा ल्याएको विद्यालयले जनाएको छ । सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल उक्त विद्यालयका विद्यार्थी लाके शेर्पाले ३.९१ जिपीए ल्याएका छन् । उनको नतिजा जिल्लाकै उत्कृष्ट रहेको विद्यालयले दावी गरेको छ ।  

कञ्चनजंघा आवासीय विद्यालयका रमियुका राईले ३.७८ जिपीए ल्याउँदा भानुजन माविका पर्वत भट्टराईले ३.७७जिपीए ल्याएका छन् । लिटलबुद्ध आवासीय माविका विद्यार्थी स्वीकृति तामाङले ३.७२ जिपीए प्राप्त गरेको सो विद्यालयका प्रिन्सिपल युवराज गिरीले जानकारी दिए ।  

ताप्लेजुङमा यसवर्षको एसइई परीक्षामा नियमिततर्फ १ हजार ४ सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये ६ सय ५० जना (४५.९३ प्रतिशत) र प्राविधिक धारतर्फ १ सय २२ जनाले परीक्षा दिएकोमा ९१ जना(७४.५ प्रतिशत)परीक्षार्थी उर्तीण भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।  

प्रकाशित: १५ असार २०८२ २०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App