काठमाडौं विश्वविद्यालय (केयू) र साउथएसिया इन्स्टिच्युट फर हिस्ट्री एन्ड फिलोसोफी (सिपा) ले संयुक्त रूपमा इतिहास र दर्शनशास्त्रमा दुई वर्षे स्नातकोत्तर (एमए) कार्यक्रम सुरु गरेका छन्।
नेपाल र अन्तर्राष्ट्रिय स्तरका अध्येता तथा प्राज्ञहरूलाई लक्षित गरी ल्याइएको यस कार्यक्रमले ‘मानवतावादी भविष्यका चिन्तक’ उत्पादन गर्ने लक्ष्य राखेको छ। अक्टोबर २०२५ मा सुरु हुने सत्रका लागि आवेदन खुला गरिएको छ।
कार्यक्रम घोषणा समारोहमा बोल्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले मानिस र पृथ्वी दुवैका लागि चुनौतीपूर्ण रहेको वर्तमान समयलाई बुझ्न नयाँ एमए कार्यक्रम केन्द्रित रहेको बताए।
‘यो कार्यक्रम नेपालको उच्च शिक्षामा एक कोशेढुंगा हो,’ उनले भने, ‘हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सिकाइका लागि स्वागत गर्न तत्पर छौं।’
सिपाका शैक्षिक निर्देशक तथा इतिहासकार योगेश राजले मानविकीको मानवकेन्द्रित दृष्टिकोणलाई सच्याउँदै यसका प्रगतिशील आदर्शलाई सुदृढ पार्ने लक्ष्य कार्यक्रमको रहेको जानकारी दिए।
उनका अनुसार, यसले दक्षिण एसियाबारे बहुल धारणाको विकास गर्न र प्राज्ञिक क्षेत्रमा समावेशी अध्ययनलाई बढावा दिन मद्दत गर्नेछ।
सिपाका अनुसार, यो पाठ्यक्रम मानविकीमा अनुसन्धान र शिक्षणका साथै नीति विश्लेषण, कूटनीति, सार्वजनिक सेवा, सञ्चार र सामाजिक अभियान जस्ता क्षेत्रमा करियर बनाउन चाहनेहरूका लागि उपयोगी हुनेछ।
६० क्रेडिटको यो पाठ्यक्रम हिमालय र दक्षिण एसियाको सामाजिक-पर्यावरणीय यथार्थ र आकांक्षाअनुरूप तयार पारिएको छ।
विभिन्न शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीहरूले आवेदन दिन सक्ने यस कार्यक्रममा भर्ना हुन सिपाको ‘अडभान्स्ड लेभल टेस्ट फर ह्युम्यानिटीज इन साउथएसिया’ परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।
नेपाली विद्यार्थीका लागि ६ लाख रुपैयाँ शुल्क तोकिएको छ भने योग्यता, समावेशिता र आवश्यकताका आधारमा पूर्ण तथा आंशिक छात्रवृत्ति पनि उपलब्ध रहेको जनाइएको छ।
अक्टोबर २०२५ सत्रका लागि आवेदन दिने अन्तिम मिति २५ जुलाई २०२५ तोकिएको छ।
प्रकाशित: ९ असार २०८२ १९:४६ सोमबार