२६ असार २०८२ बिहीबार
image/svg+xml
शिक्षा

नेपालको विद्यालय विश्वकै उत्कृष्ट १० मा

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुल।

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै एक प्रतिष्ठित शैक्षिक सम्मान हासिल गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ।

बेलायतस्थित शैक्षिक संस्था ‘टी–फोर एजुकेसन’ द्वारा आयोजित ‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार–२०२४’ मा यस विद्यालय ‘पर्यावरणीय पहल’ विधा अन्तर्गत विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल भएको हो।

सीएनएन हिरो अमेरिकी नागरिक म्यागी डोयनद्वारा सञ्चालित यस विद्यालयले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाए बापत यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो।

‘टी–फोर एजुकेसन’ ले विश्वभरका विद्यालयहरूलाई पाँच विधामा सम्मान गर्ने गर्दछ। जसमा सामुदायिक सहकार्य, वातावरणीय पहल, नवप्रवर्तन, विपत्तिको सामना र स्वस्थ जीवनशैली पर्दछन्।

यी सबै विधामा गरी छानिएका कुल ५० उत्कृष्ट विद्यालयमध्ये कोपिला भ्याली एक हो। वातावरणीय पहल विधामा नेपालको कोपिला भ्यालीसँगै भारत, चिली, कोलम्बिया, फ्रान्स, इथियोपिया, संयुक्त अरब इमिरेट्स (युएई), कोसोभो र पेरुका विद्यालयहरू अन्तिम प्रतिस्पर्धामा छन्।

कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लले यो उपलब्धिलाई नेपालकै लागि गौरवको विषय भएको बताए।

विद्यालयले आफ्नो ‘हरियाली विद्यालय क्याम्पस’ परियोजना मार्फत वातावरणीय शिक्षालाई कक्षाकोठाभन्दा बाहिर लगेर व्यावहारिक बनाएको छ।

यहाँ विद्यार्थीहरूलाई जलवायु साक्षरताको पढाइका साथै पुनरुत्पादक कृषि, माटो संरक्षण, पानी संरक्षण र फोहोर व्यवस्थापन जस्ता विषयमा गहन ज्ञान दिइन्छ।

विद्यालयले विद्यार्थीकै नेतृत्वमा ‘शून्य फोहोर’ नीति अवलम्बन गरेको छ। जसका कारण ल्यान्डफिलमा फाल्नुपर्ने फोहोर ९१ प्रतिशतले घटेको छ भने विद्यालय परिसर पूर्ण रूपमा प्लास्टिकमुक्त छ।

विद्यालयकी दिगोपना कार्यक्रम संयोजक सुनिता भण्डारीका अनुसार, यहाँ अध्ययनरत ४ सय भन्दा बढी विद्यार्थी र शिक्षक-कर्मचारी गरी करिब ५ सय जनालाई कर्णाली प्रदेशकै अर्ग्यानिक खाजा खुवाउने गरिएको छ।

यसका साथै, १५० भन्दा बढी विद्यार्थीहरू साप्ताहिक बगैँचा कार्यक्रममा सहभागी भई दिगो खाद्य उत्पादनबारे सिक्छन् भने अम्लिसोबाट कुचो बनाउने जस्ता वातावरणमैत्री सीपहरू पनि हासिल गर्छन्। ‘समग्रमा भन्दा, हामीले वातावरणीय दीगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाएका छौं,’ भण्डारीले भनिन्।

अब विजेताको छनोट एक विशेषज्ञ निर्णायक समितिले गर्नेछ। साथै, ‘कम्युनिटी च्वाइस अवार्ड’ का लागि अनलाइन भोटिङ पनि खुला गरिएको छ। जसमा विश्वभरबाट जो कोहीले कोपिला भ्यालीलाई मत दिन सक्नेछन्।

पुरस्कारको अन्तिम विजेताको घोषणा आगामी नोभेम्बर १५ र १६ मा युएईको अबुधाबीमा हुने विश्व विद्यालय सेमिनारमा गरिनेछ। यस कार्यक्रममा अन्तिम प्रतिस्पर्धामा पुगेका सबै विद्यालयहरू सहभागी हुन पाउनेछन्।

प्रकाशित: ४ असार २०८२ २०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App