१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

शून्यबाट शिखरतिर भक्तपुरको सरस्वती विद्यागृह

देशभरका अधिकांश सरकारी विद्यालयहरू विद्यार्थी अभावमा जुधिरहेका बेला भक्तपुरको एक सामुदायिक विद्यालयले भने लोभलाग्दो प्रगति गर्दै उदाहरणीय बनेको छ।

कुनै समय विद्यार्थी संख्या झण्डै शून्यमा पुगेको भक्तपुर नगरपालिका-९ कमलविनायकस्थित सरस्वती विद्यागृह माध्यमिक विद्यालयले पछिल्लो आठ वर्षमा निरन्तर विद्यार्थी संख्या बढाउँदै अहिले झण्डै पाँच सय पुर्‍याउन सफल भएको हो।

विद्यालयको तथ्याङ्कअनुसार २०७५ सालमा जम्मा १३३ जना विद्यार्थी रहेकोमा त्यसयता निरन्तर वृद्धि हुँदै आएको छ। २०७६ मा १७२, २०७७ मा १७८, २०७८ मा १८६ हुँदै २०७९ मा एकैचोटि झण्डै दोब्बर अर्थात् ३०२ जना विद्यार्थी पुर्‍याउन विद्यालय सफल भयो।

यो क्रम जारी रहँदै २०८० मा ३२८, २०८१ मा ३८७ र चालू शैक्षिक सत्र २०८२ मा यो संख्या ४८७ पुगेको छ।

विद्यालयका प्रधानाध्यापक गनुराज राईका अनुसार चालू शैक्षिक सत्रमा पूर्वप्राथमिक तह (ईसीडी) मा ८५ जना, आधारभूत तह (कक्षा १ देखि ८) मा २९८ जना र माध्यमिक तह (कक्षा ९ र १०) मा १०४ जना विद्यार्थी अध्ययनरत छन्। यसै शैक्षिक सत्रमा मात्रै १८१ जना नयाँ विद्यार्थी भर्ना भएको उनले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व यस सफलताको श्रेय स्थानीय जनताको अपनत्व, व्यवस्थापन समितिको सामूहिक कार्य, उत्कृष्ट हुँदै गएको परीक्षाको नतिजा, पठनपाठनसँगै साप्ताहिक अतिरिक्त क्रियाकलापमा जोड र योजनाबद्ध शैक्षिक क्रियाकलापलाई दिन्छन्।

साथै, वडामा रहेका तीनवटै सरकारी विद्यालयहरू (सरस्वती विद्यागृह मावि, बागीश्वरी मावि र दत्तात्रय आवासीय विद्यालय) बीचको सहकार्य र समन्वयमा गरिने सामूहिक शैक्षिक गतिविधिले पनि सकारात्मक प्रभाव पारेको उनको बुझाइ छ।

२००८ सालमा स्थापित यो विद्यालय २०४० को दशकमा भक्तपुरकै उत्कृष्ट विद्यालयमध्ये एक थियो। तर, समयक्रमसँगै ओरालो लागेको विद्यालयले पछिल्लो एक दशकदेखि भने पुनः गति लिन थालेको हो। पूर्व वडाध्यक्ष विष्णुबहादुर मानन्धर कुनै समय यस विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी रहेको र एसएलसीमा सयौँ विद्यार्थी सहभागी हुने गरेको स्मरण गर्छन्।

यसैबीच, यही विद्यालयबाट २०४० सालमा एसएलसी दिएको ब्याचले शनिबार विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कापी, कलमलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो।

प्रकाशित: १७ जेष्ठ २०८२ २१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App