१९ पुस २०८२ शनिबार
image/svg+xml
शिक्षा

नेपाल विश्वविद्यालयको रजिष्ट्रार भएपछि पूर्वाधार विज्ञ आचार्य भन्छन् : जिम्मेवारी सहज छैन

नेपाल विश्वविद्यालयले डा. अर्जुन कार्कीलाई उप-कुलपति र डा. सूर्यराज आचार्यलाई रजिष्ट्रारमा नियुक्त गरेको छ। यसअघि डा. विन्दुनाथ लोहनी कुलपतिमा चयन भइसकेका छन्। 

संरक्षक परिषद्का अध्यक्ष ई. लाल कृष्ण केसीले विज्ञप्ति जारी गर्दै यी नियुक्तिहरू स्वायत्त बोर्ड-अफ-ट्रस्टीमार्फत भएको र नेपाल सरकारको कुनै भूमिका नरहेको स्पष्ट पारेका छन्।

विश्वविद्यालयले २०२६ (वि.सं. २०८३) को शरद सत्रदेखि विज्ञान, मानविकी, सूचना प्रविधिलगायतका विषयमा स्नातक तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। 

विश्वविद्यालयले अन्तरविधात्मक अवधारणामा आधारित उच्च गुणस्तरीय अनुसन्धानमूलक र व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। आफ्नै आंगिक क्याम्पसबाट मात्र प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने र सम्बन्धन नदिने नीति लिएको छ। 

रजिष्ट्रार नियुक्त भएपछि डा. सूर्यराज आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्:

*धन्यवाद*
नेपाल विश्वविद्यालयको रजिस्ट्रारका रूपमा मेरो नयाँ जिम्मेवारीप्रति सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। स्वायत्त बोर्ड-अफ-ट्रस्टी (BOT) मार्फत सञ्चालन हुने, गुणस्तर र अन्य सान्दर्भिक पक्षमा नेपालको उच्च शिक्षामा मानक स्थापित गर्ने लक्ष्यसहितको नेपाल विश्वविद्यालयको यो जिम्मेवारी सहज भने छैन।

तथापि, आफ्नो विवेक र सामर्थ्यले भ्याएसम्म नेविविको लक्ष्य हासिल गर्न समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु। अब उप्रान्त सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा, पदीय दायित्व र मर्यादाको दृष्टिले उपयुक्त नठहर्ने राजनीतिक वा अन्य प्रकृतिका टिप्पणीहरूबाट टाढा रहनेछु। यहाँहरूको निरन्तर सद्भाव, सहयोग, सकारात्मक आलोचना र खबरदारीको अपेक्षा राख्दछु।
स्पष्टिकरण: नेपाल विश्वविद्यालयका पदाधिकारीको नियुक्तिमा नेपाल सरकारको कुनै पनि भूमिका रहँदैन।

विश्वविद्यालयको संरक्षक परिषद्मा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, ई. लाल कृष्ण केसी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशीजस्ता प्रबुद्ध व्यक्तित्वहरू छन्। नेपाल सरकार, निजी क्षेत्र, दातृ निकाय र समुदायको सहयोगमा सञ्चालित यो विश्वविद्यालयले नेपालको उच्च शिक्षामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ वैशाख २०८२ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App