१० चैत्र २०८२ मंगलबार
image/svg+xml
शिक्षा

आंशिक प्राध्यापकको आन्दोलन: महेन्द्र बहुमुखी क्याम्पसको पठन पाठन ठप्प

क्याम्पस प्रमुख लालमणि आचार्यलाई ज्ञापन पत्र बुझाउँदै आंशिक प्राध्यापक। तस्बिर: नागरिक।

आंशिक प्राध्यापकको आन्दोलनका कारण महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको पठन पाठन प्रभावित भएको छ। विभिन्न माग राख्दै आंशिक प्राध्यापक संघले ज्ञापन पत्र बुझाए पनि सुनुवाइ नभएपछि तालाबन्दी गरेर पठन पाठन नै ठप्प पारेका हुन्।

संघको अगुवाइमा क्याम्पसको प्रशासन, लेखा, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख लगायत विभिन्न कक्षमा तालाबन्दी गरिएको छ। आंशिक प्राध्यापकले आइतबारदेखी पठन पाठन नै ठप्प पारेर आन्दोलन अगाडी बढाएपछि क्याम्पस अस्तव्यस्त बनेको छ।  

‘तालाबन्दीसँगै हामीले पठन पाठन नै रोकेर आन्दोलनलाई अगाडी बढाएका छौं,’ संघका अध्यक्ष धनिराम थापाले भने, ‘त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्ने हामी आंशिक प्राध्यापकले विगत १८ वर्षदेखि असमान व्यवहार भोग्दै निरीह भएर बाँच्नु परिरहेको छ।’

त्रिविले आंशिक प्राध्यापकको आन्तरिक व्यवस्थापन गर्न परिपत्र गरे अनुसार देशभरका अन्य २७ वटा क्याम्पसले गरेपनि नेपालगन्जमा नगरिँदा आन्दोलित हुनुपरेको अध्यक्ष थापाले बताए।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा १ सय २० को हाराहारीमा आंशिक प्राध्यापकहरू कार्यरत छन्। नेपालगन्ज लगायत १५ वटा क्याम्पसमा उक्त निर्देशिका जारी भएको ४ वर्षसम्म पनि कार्यान्वयन नहुनुमा क्याम्पस प्रमुख तथा प्राध्यापकका पेशागत हक हितका लागि काम गर्ने प्राध्यापक सङ्गठनहरूका प्रमुख नेतृत्वको चरम उदासीनता नै प्रमुख कारण भएको उनीहरूको आरोप छ।

करार सेवाको नियुक्तिका लागि विगतदेखि नै आन्दोलन तथा सङ्घर्ष गर्दै आएको र त्यसलाई क्याम्पस प्रशासनले हालसम्म कार्यान्वयन गर्नमा रुचि नदेखाएका कारण उक्त निर्देशिका अविलम्ब कार्यान्वयन होस् भन्दै विरोधका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको अध्यक्ष थापाले सुनाए।

यसअघि आंशिक प्राध्यापकहरूले विरोध स्वरुप कालो मास्क लगाएर पठन पाठनसहित रिले धर्ना, परीक्षा सञ्चालनमा असहयोग, भण्डाफोर जस्ता आन्दोलनका कार्यक्रम गरिसकेका छन्।

प्रकाशित: २२ वैशाख २०८२ २१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App