१८ चैत्र २०८१ सोमबार
image/svg+xml २३:४ अपराह्न
शिक्षा

स्ववियु चुनाव ‘शान्तिपूर्ण’

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा मतदान गर्न लामबद्ध ६५ वर्षीय विद्यार्थी। तस्बिर: रासस

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का ४१ आंगिक र साढे तीन सय सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। बिहान ८ देखि बेलुका ५ बजेसम्म तोकिएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। निर्वाचन सम्पन्न भएका कलेजका विद्यार्थी मताधिकार प्रयोग गरी स्ववियु नेतृत्व चयन गर्न पाएकोमा खुसी भएका छन्।

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये मंगलबार ४१ वटामा निर्वाचन भयो। विद्यार्थी संगठनहरूबीचको विवादका कारण २१ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेन। आंगिकमध्ये पाटन संयुक्त र पृथ्वीनारायण क्याम्पसमा मतदान सुरु भएपछि विद्यार्थी संगठनहरूबिच विवाद भएपछि मतदान प्रक्रिया स्थगित गर्नुपरेको त्रिविले जनाएको छ।

स्ववियु निर्वाचन हुनुपर्ने माग राखेर नेविसंघले मंगलबार काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसअगाडि गरेको सडक प्रदर्शनमा सुरक्षार्थ तैनाथ प्रहरी। तस्बिर: दिपेश दर्शनधारी/नागरिक

 यसैगरी त्रिविका सम्बन्धन प्राप्त साढे तीन सय कलेजमा मतदान भएको छ। सम्बन्धन प्राप्त ९० कलेजमा सहमतिमा नेतृत्व चयन भएको छ। त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पस एक हजार ५३ छन्। विद्यार्थी संगठनहरूबिचको विवादले काठमाडौं उपत्यकाका १० र उपत्यकाबाहिरका ९ गरी १९ वटा आंगिक क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ।

पाटन संयुक्त क्याम्पसमा सयजति मत खसेपछि फर्जी मतदाताले मतदान गरेको भन्ने विषयमा नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसंघका विद्यार्थीबिच विवाद भएपछि मतदान स्थगित गरिएको हो। एउटै मतदाताले १० पटकसम्म मतदान गरेको पाइएको भन्दै विद्यार्थी संगठनबिच विवाद भएको थियो। कलेज निर्वाचन समितिले कोठाभित्र सर्वपक्षीय छलफल गरे पनि सहमति हुन नसकेको बताइएको छ।

काठमाडौंको ताहचलस्थित महेन्द्ररत्न कलेजकी विद्यार्थी सारहजान खातुनले मतदान गर्न पाउँदा खुसी लागेको बताइन्। उनले पहिलो पटक स्ववियु निर्वाचनमा सहभागिता जनाएकी हुन्। उनले नागरिकसँग भनिन्, ‘सुरुमा केही लफडा पो हुने हो कि भन्ने मनमा डर थियो तर कलेजमा आउँदा निकै उत्साहित पो बनें। शान्तिपूर्ण वातावरणमा मतदान भयो हाम्रो कलेजमा।’

सोही कलेजका अर्का विद्यार्थी दिवाकर भण्डारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराएर विद्यार्थीले विद्यार्थीको पहिचान दिएको सुनाए।

‘हेर्नुस् त हाम्रो कलेजमा चुनावको सरगर्मीबिच पनि विद्यार्थी संगठनहरू आपसमा कति मेल छ। यो त खुसीको कुरा हो,’ उनले भने, ‘योग्य र सक्षम उम्मेदवारलाई मतदान गरी विद्यार्थी हकहित सुरक्षित गर्ने हाम्रो दायित्व हामीले पूरा गरेका छौं।’

नागरिककर्मी महेन्द्ररत्न कलेज पुग्दा कलेजमा विद्यार्थीहरू निकै उत्साहित भएर आफ्ना नेता चयन गर्न भयरहित मतदान गरिरहेका थिए। ‘कुनै प्रकारको होहल्ला र अशान्तिपूर्ण काम भएन। नियमबद्ध रूपमा मतदान गरें,’ सुजाता केसीले भनिन्, ‘कतै केहि धाँधली होला जस्तो मनमा त्रास थियो तर त्यस्तो भएन। निकै व्यवस्थित रूपमा मतदान गरें। खुसी लाग्यो।’

त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन मंगलबार हुने कार्यतालिका भए पनि विद्यार्थी संगठनहरूबिचको विवादका कारण सबै क्याम्पसमा मतदान हुन नसकेको हो। १९ वटा आंगिक क्याम्पसमा विवादका कारण निर्वाचन अश्चित बनेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख एवं स्ववियु निर्वाचन २०८१ केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले बताए।

अधिकारीका अनुसार काठमाडौं उपत्कामा आंगिकतर्फ सानोठिमी क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पस, महेन्द्ररत्न कलेज ताहाचल, ललितकला क्याम्पस, आयुर्वेद कलेज कीर्तिपुर, जनप्रशासन क्याम्पस बल्खु, महाराजगन्ज मेडिकल र नर्सिङ कलेज, पुल्चोक इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज, नेपाल कमर्स क्याम्पसमा शान्त वातावरणमा मतदान सम्पन्न भएको छ।

विद्यार्थी संगठनबीच उत्पन्न विवादका कारण उपत्यकामा आंगिकतर्फका त्रिचन्द्र, रत्नराज्य, शंकरदेव, अमृत साइन्स, नेपाल ल, विश्वभाषा, पद्मकन्या, त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा चुनाव हुन सकेन। आंगिकतर्फ उपत्यका बाहिर बुटवल बहुमुखी क्याम्पस, भैरवा बहुमुखी क्याम्स, पक्लिहवा क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, रामपुर कृषि क्याम्पसस, चितवन इन्जिनरिङ कलेज, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा निर्वाचन हुन सकेन। सम्बद्ध कलेज प्रशासनले निर्वाचन प्रक्रिया सुरु भए पनि सहज वातावरण बन्न नसकेकाले निर्वाचन स्थगित गरिएको जनाएका छन्।

‘पद्मकन्या क्याम्पसमा रोकिएको निर्वाचन ७ गते र केन्द्रीय क्याम्पस कीर्तिपुरमा ८ गते मतदान हुने सहमतिसहित कार्यतालिका प्रकाशित भएको छ,’ अधिकारीले भने, ‘दुई आंगिक कलेजमा निर्विरोध नेतृत्व चयन भएको छ। निर्वाचन भएका कलेजमा शान्त वातावरणमा विद्यार्थीले मतदान गरेका छन्।’

प्रकाशित: ६ चैत्र २०८१ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App