१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:३४ पूर्वाह्न
शिक्षा

यो वर्ष पाँच लाख २२ हजारले एसइई दिने

आगामी चैत ७ गतेदेखि सुरु हुने २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित र आंशिक गरी ५ लाख २२ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्। यो परीक्षामा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन्। राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा लिन्छ। परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। परीक्षाका लागि प्रश्नपत्र छाप्ने काम सकिएको छ।

प्रश्नपत्र छपाइ सम्पन्न गरी आइतबार जनक शिक्षा सामग्री केन्द्रबाट बाहिरिएका एसइईका नियन्त्रक नन्दलाल पौडेलले परीक्षाका लागि देशभरि दुई हजार ७९ केन्द्र कायम गरिएको बताए। उनले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेश र जिल्ला परीक्षा समन्वय समितिलाई अधिकार प्रत्यायोजन गरिएको जानकारी दिए।

‘संघीयता अनुसार नयाँ शिक्षा ऐन आइनसकेका काण पुरानो ऐनअनुसार यसपटक पनि एसइई सञ्चालनको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डलाई नै छ। यसैकारण बोर्डले प्रश्नपत्र छापेको हो र यो काम सम्पन्न भएको छ,’ नियन्त्रक पौडेलले नागरिकसँग भने, ‘तर जिल्ला परीक्षा समन्वय समिति र प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिलाई परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन र कारबाहीसमेतको अधिकार प्रत्यायोजन गरिएको छ। प्रदेशमा परीक्षा व्यवस्थित गर्न सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ।’ उनका अनुसार प्रदेश समितिले उत्तरपुस्तिका छपाइ, वितरण तथा व्यवस्थापनको काम गर्छ। परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोक्ने काम पनि प्रदेश समितिले गर्ने उनले बताए।

उनले भने, ‘परीक्षा केन्द्रहरूमा आर्थिक व्यवस्थापन पनि प्रदेश समितिमार्फत नै हुन्छ। प्रदेश समितिले बोर्डको काममा सहयोग गर्छ।’ परीक्षामा अमर्यादित कार्य गर्ने जोकोहीलाई कारबाही गर्ने अधिकार पनि प्रदेश र जिल्ला समितिलाई दिइएको नियन्त्रक पौडेलले बताए।

नियन्त्रक पौडेलका अनुसार लिखित परीक्षामा ३५ प्रतिशत र प्रयोगात्मक परीक्षामा ४० प्रतिशत अंक नल्याउने परीक्षार्थी माथिलो कक्षा अध्ययनका लागि योग्य हुने छैनन्। जिल्लागत रूपमा हेर्दा एसइईमा सबैभन्दा बढी विद्यार्थी काठमाडौंमा छन्। काठमाडौं जिल्लामा ३६ वटा परीक्षा केन्द्रबाट ३९ हजार विद्यार्थीले एसइई दिँदै छन्। एसइईका परीक्षार्थी सबैभन्दा कम मनाङमा छन्। मनाङमा एक परीक्षा केन्द्र तोकिएको छ, जहाँबाट ४३ विद्यार्थीले परीक्षा दिँदै छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार विद्यार्थीको शिक्षण सिकाइलाई वास्तविक रूपमा मूल्यांकन गर्नेगरी यसपटक प्रश्नपत्र तयार पारिएको छ। ‘पाठयक्रमले निर्धारण गरेको विशिष्टीकरण तालिकाअनुसार एसइईको प्रश्नपत्र तयार गरिएको छ,’ शर्माले नागरिकसँग भने, ‘प्रश्नपत्र विद्यार्थीको स्तरअनुसारको सिकाइ उपलब्धि मूल्यांकन गर्नेगरी तयार पारिएको छ।’

शर्माका अनुसार गत वर्षसम्म एसइईको उत्तरपुस्तिका केन्द्रमा परीक्षण हुने गरेकोमा यस वर्षदेखि बोर्डको नियमावलीअनुसार केन्द्रको सहकार्यमा प्रदेशले नै उत्तरपुस्तिका परीक्षणको व्यवस्थापन गर्नेछ।

प्रकाशित: २६ फाल्गुन २०८१ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App