ताप्लेजुङका विद्यालयहरूमा सोमबार (आज) अक्षराम्भ कार्यक्रम सुरु भएको छ। यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरूले वसन्त पञ्चमीको दिनबाट बालबालिकाहरूलाई शिक्षाको आरम्भ गराए।
लिटलबुद्ध ईङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज गिरीका अनुसार वसन्त ऋतुको सुरुवातको दिनबाट २० बालबालिकालाई अक्षराम्भ गराएको छ। उनीहरूलाई कक्षा १० सम्मको प्रवेश शुल्क मिनाह र ६ महिनाको मासिक शुल्कमा छुट दिइएको छ।
स्नातकोत्तर तहको पढाई हुने जिल्लाको एकमात्र पाथीभरा बहुमुखी क्याम्पसमा सरस्वती पूजासँगै विद्यार्थी र शिक्षकहरूको आँखा जाँच गरिएको छ। नेपाल नेत्रज्योति संघको सहयोगमा आँखा परीक्षण गरिएको हो।
जिल्लाको फक्ताङलुङ गाउँपालिका लिङखिमस्थित सिँवा माध्यमिक बिद्यालयमा सरस्वती पूजा संगै विद्यालयका संस्थापक प्रधानाध्यापक दामोदार अधिकारीको जीवन समेटिएको पुस्तक ‘सिँवाको मास्टर’ को विमोचन गरिएको छ। संस्थापक प्रधानाध्यापक अधिकारीका छोरा दिनेशको उपस्थितिमा उक्त पुस्तक विमोचन गरिएको प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिए।
फुङलिङको ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले अभिभावक दिवस र सरस्वती पूजा अक्षराम्भसँगै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेर मनायो। जिल्लाका अन्य सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पनि सरस्वती पूजा र अक्षराम्भ कार्यक्रम भव्यताका साथ मनाएका छन्।
सरस्वती पूजालाई ज्ञान, सिद्धि र सद्बुद्धि प्रतीक मानिन्छ। वसन्त पञ्चमीको अवसरमा विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यहरू गर्न साइत हेर्नु नपर्ने मान्यता रहेको छ, यस दिन बालबालिकालाई नाक-कान छेड्न पनि शुभ मानिन्छ।
प्रकाशित: २१ माघ २०८१ १३:१२ सोमबार