१० माघ २०८१ बिहीबार
image/svg+xml
शिक्षा

दुर्गमका विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालन

विज्ञान प्रयोगशाला । तस्बिर : गाेल्डेन बुढा/नागरिक

सिंजा क्षेत्रका चाैध वटा विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। जुम्लाको सिंजा गाउँपालिकाभित्रका ६ वटा, हिमा गाउँपालिकाे एक र जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सात वटा विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालन छन्।

विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन सहज बनेको सिंजा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले बताए।

उनका अनुसार सिंजा वडा २ मा रहेकाे मावि चुलेलगाउँ र ५ वडामा रहेको कैलाश मावि फुङ्ग्र, ६ वडाको मावि जाेडु, ३ नम्बरको भैरव मावि नराकाेट, मालिका मावि थापा र ३ नम्बर वडाको मावि गाेठिपीगी विद्यालय छन्। हिमाकाे गाउँपालिका -१ मा रहेको कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।

यता कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवनबहादुर राेकाया अनुसार कनकासुन्दरी गाउँपालिकाभित्र पर्ने १ वडाको महादेव मावि काभ्रा, २ वडाको नेपाल राष्ट्रिय मावि बाेतामालिका, वडाको ३ मावि बुडु चाैतारा र काेईलिचरि मावि लुम ५ नम्बर वडाको कनकासुन्दरी मावि लुड्कु यस्तै ८ नम्बर वडाको पाण्डवगुफा मावि काेटघर र मालिका मावि खिच्चनेमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। शिक्षा शाखा प्रमुख जीवनबहादुर राेकायाले विज्ञान प्रयोगशाला स्थापना गर्न प्रतिविद्यालयमा ६ लाख ५० हजार रुपैयाँ छुट्टयाइएको बताए।

यस्तै पाण्डवगुफा माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर भण्डारीले विज्ञान प्रयोगशालाबाट सिकाइ उपलब्धिमा सहयोग मिलेको बताए। उनले भने, ‘पहिले विद्यालयमा विज्ञानको सैद्धान्तिक कक्षमात्र लिइरहेका विद्यार्थीहरू अहिले प्रयोगशालामा व्यावहारिक कक्षासमेत लिइरहेका छन्। यो हरेक विद्यालय र विद्यार्थीका लागि सुखद् कार्य हो।’

विज्ञान विषय लिएर उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसरसमेत भएको उनको भनाइ छ। कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले गाउँ पालिकाभित्र रहेका सातवटै विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भइसकेको बताए। उनले भने, ‘अब कुनै पनि विद्यार्थी विज्ञान विषयको व्यावहारिक कक्षा लिन पाइएन भन्दै गुनासो गर्न पाइने छैन। गुणस्तरीय, सीपमूलक र व्यावहारिक शिक्षा व्यवस्थापन गर्ने, नैतिक प्राविधिक, व्यावहारिक, व्यावसायिक र प्रयोगात्मक शिक्षा सञ्चालन गर्ने, प्रविधिमैत्री शिक्षक र विद्यार्थी उत्पादनमा जोड दिने कार्यमा जोड दिएको बताए।

प्रयोगशाला स्थापनाले शिक्षक, विद्यार्थी र अभिभावकमा हौसला थपिएको छ।  अध्यक्ष आचार्यले थपे, ‘विद्यार्थीले रटन्ते शिक्षामात्र आर्जन गरेर बेरोजगारी जनशक्ति उत्पादन गर्नेभन्दा प्रयोगात्मक कार्य गरेर सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिइएको अवस्था छ।'

कनकासुन्दरी-८ मा पर्ने कोटघर माध्यमिक विद्यालयमा कक्षा ८,९ र १० का २ सय ४ जना विद्यार्थीले प्रयोगशालाबाट सिकाइ उपलब्धि हासिल गरिरहेका छन्। प्रधानाध्यापक भण्डारीले प्रयोगशाला स्थापनाले उच्च शिक्षामा विज्ञान पढ्न चाहने विद्यार्थीका लागि हौसला प्रदान भइरहेको बताए। गाउँपालिकाले हरेक विद्यालयमा अनुगमन गर्दा विज्ञान विषयको प्रयोगशाला नहुँदा समस्या भइरहेको शिक्षक विद्यार्थीले गुनासो गरेका थिए।

'प्रयोगशाला सुरु त भए,' अध्यक्ष आचार्यले भने, ‘अब प्रयोगमा आइरहेका छन् या थन्किएका छन्। पटकपटक अनुगमन हुन्छ।’ यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कनकासुन्दरीले मावि तहका विद्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याउन सक्नुले शिक्षामा सकारात्मक सन्देश फैलाइरहेको बताए। उनले प्रयोगशालामा प्रयोग हुने सामानहरूको सही र सुरक्षित प्रयोग गर्नसमेत आग्रह गरे।

विज्ञान प्रयोगशालाको सामान खरिद गर्न दातृ निकायले साथ दिएको गाउँपालिका अध्यक्ष आचार्यले बताए।

प्रकाशित: २३ पुस २०८१ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App